|

काठमाडौं : पशुपतिनाथ मन्दिरमा ०७६ सालको महाशिवरात्रिका बेला थाइल्याण्ड,अष्ट्रेलिया, भारत लगायतबाट ल्याएर सजाइएका  फूल चोरी भए। सजाइएका फूल स्थानीय तथा दर्शनार्थीले नै चुँडेका थिए। पशुपति क्षेत्र विकास कोषका अनुसार सजावटमा झण्डै दुई करोड रुपैयाँ खर्च भएको थियो।

त्यस्तै, ०७६ असोजमा चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल आउने भएपछि तीनकुने खाली जग्गाको डिलमा सजावटका लागि राखिएको दुबो असोज २९ गते रातारात चोरी भयो।

दुबो चोरी भएपछि सुरक्षाका लागि प्रहरी पनि खटाइएको थियो। काठमाडौं महानगरपालिकाका अनुसार करिब ६५ लाख खर्चिएर दुबो र फूलका बोट लगाइएको थियो। 

अहिले आएर फेरि त्यहाँ राखिएका हात्तीका आकृति उखालेर फालिएका छन्। सर्वसाधारणले नै फुटाएका आकृति सडक पेटीमा छरपष्ट छन् तर,मर्मत र संरक्षण गर्न कुनै पनि निकायले चासो दिएका छैनन्।

किन हुन्छ सार्वजनिक सम्पत्तिमा तोडफोड?

समाजशास्त्री दिनेश प्रसाईं सभ्य समाज निर्माण नहुँदा सार्वजनिक सम्पत्तिमाथि क्षति पुग्ने गरेको बताउँछन्। ‘सार्वजनिक सम्पत्ति संरक्षण सरकारले मात्रै गर्ने होइन’‚ उनले भने,‘संरक्षणमा उत्तिकै नागरिकको पनि जिम्मेवारी छ तर कहिले फूल चोर्ने,कहिले दुबो चोर्ने‚ यो राम्रो काम होइन,समाज संक्रमण अवस्थामै छ। त्यसैले यस्तो गतिविधि भइरहेको छ।’ 

उनका अनुसार पुरानो समाजमा वेला पोखरी,पुलपुलेसा, मठमन्दिर सबै वस्तु संरक्षण गरी राख्ने मूल्य मान्यता थियो। ती सबै मूल्य मान्यता वर्तमान समाजले बिर्सिँदै गयो।

‘अझै पनि गाउँघरमा यस्ता गतिविधि खासै छैनन् तर सहरिया समाजमा तोडफोड गर्ने, चोर्ने प्रवृत्ति छ। सुविधासम्पन्न सहरमा ज्ञानको विकास हुनुपर्ने हो तर भएन’‚ प्रसाईंले भने। आधुनिक समाजमा चेतनाको विकास भए मात्र त्यस्ता वस्तुको संरक्षण हुने उनको भनाइ छ। 

संरक्षणको जिम्मा स्थानीयलाई नै दिनुपर्छ

निर्माण गरिएका जे जति सार्वजनिक सम्पत्ति संरक्षण सरकारले नै गर्नुपर्ने हो तर महानगरपालिकाले संरक्षणमा चासो देखाएको पाइँदैन। तीनकुनेमा बुद्धपार्क बनाउने योजना बनाइए पनि हालसम्म बनाउने कुनै सुरसार छैन। जसले गर्दा झारपात पलाएर कुरूप बनेको छ तीनकुने।

तीनकुनेमा भेटिएका रामेछापका निरज अधिकारीले स्थानीयलाई संरक्षणको जिम्मा दिए सार्वजनिक सम्पत्ति जोगिन सक्ने बताउँछन्।

‘सरकारले बनाए पनि संरक्षण गर्न जान्दैन’‚ ढलेको हात्तीको आकृति देखाउँदै उनले भने,‘संरक्षण गरेको भए यसरी बिजोग अवस्थामा देखिँदैनथ्यो। त्यसै खर्च मात्रै भयो, स्थानीय, क्लब जस्तालाई संरक्षणको जिम्मा दिए बच्‍ने थियो, नागरिकमा पनि चेतना हुनुपर्छ।’

यो विषयमा बुझ्छु : प्रवक्ता डंगोल

महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले यो विषयमा आफूले वास्तविक कुरा बुझ्‍ने बताए। उनले भने, ‘ सार्वजनिक सम्पत्ति त्यसरी जथाभावी भत्काउन पाइँदैन, सार्वजनिक सम्पत्ति नष्ट गर्नु गैरकानुनी काम हो। यो विषयमा बुझ्छु।’ पार्कमा तोडफोड गर्ने तथा  भत्काउने प्रयास गर्ने व्यक्ति पहिचान गरी कानुनअनुसार कारबाही गरिने पनि उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.