त्यतिवेला जमैका अंग्रेजको उपनिवेश थियो। नाइन माइल जिल्लाको एउटा विकट गाउँमा डेला नाम गरेकी युवती बस्थिन्।
त्यहीँ उनको भेट गोरो छाला, खैरो कपाल भएका नोर्वेल सिन्क्लेयर मार्लीसँग भयो। नोर्वेलले मायालु नजरले हेरेर मिठो बोल्न थालेपछि १७ वर्षे सेडेलाको पनि मन पग्लियो। नोर्वेलले विवाह गर्ने र दुईजनाको बेग्लै संसार बसाउने आश्वासन दिएपछि सेडेलाले नोर्वेल र आफूबीचको ठूलो खाडल बिर्सिइन्।
सेडेलाले आफ्नो पेटमा गर्भ रहेको कुरा खुशी हुँदै नोर्वेललाई सुनाइन्। त्यो समाचार सुनेर नोर्वेल खुशीले नाच्नेछन् र कसिलो अँगालो मार्नेछन् भन्ने सेडेलाको अपेक्षा थियो । नोर्वेलले बनाउने भनेको छुट्टै संसार नयाँ सदस्यले पूर्ण बनाउनेछ।
नोर्वेलका लागि भने त्यो समाचार सुखद थिएन। त्यसपछि नोर्वेल त्यो छुट्टै संसारको नक्सा च्यातेर नाइन माइलबाट कहिल्यै नफर्कने गरी भागे। त्यसपछि सेडेलामाथि वज्रपात भयो, टेकेको जमिन भाँसियो।
बिस्तारै सेडेला गर्भवती रहेको कुरा घरपरिवार, छिमेक सबैतिर हल्ला भयो। एउटा सानो, सुन्दर अनि खुशीको छुट्टै संसारको कल्पना गरिरहेकी सेडेलाले सबैतिर अँध्यारो मात्र देख्न थालिन्।
कैयौँपटक आत्महत्याको बारेमा पनि सोचेकी सेडेलालाई पेटमा अर्को एउटा संसार हुर्किरहेको छ भन्ने कुराले रोकिरह्यो। त्यो संसारलाई अर्को संसार देखाउन पनि सेडेलाले दह्रो भएर सबै कुराको सामना गर्ने निर्णय गरिन्।
त्यसपछि सन् १९४५ फेब्रुअरी ६ मा उनले एउटा बच्चालाई जन्म दिइन्‚ जो कालान्तरमा बब मार्लीको नाममा विश्व प्रसिद्ध भयो र आज पनि छ।
मार्लीको बाल्यकाल
छोरो जन्मिएपछि सेडेलाको संसार पनि उज्यालो हुँदै गयो। गरिब त उनी पहिलेदेखि नै थिइन्। त्योसँगै समाजले पनि उनलाई बहिष्कार गरेको थियो। उनी आफ्नो छोरालाई ती सबै कुराबाट टाढा राख्न चाहन्थिन्।
त्यसैले उनी आफूसँग भएको र जुटाउन सकेको पैसा जम्मा गरेर उनी राजधानी सहर किङस्टन पसिन्। छोराको सुन्दर भविष्यका लागि सहर पसेकी उनलाई त्यहाँ पनि सजिलो थिएन।
उनी आफूसँग भएको पैसाले बाँच्न सकिने ठाउँ खोज्दै किङस्टनको ट्रेन्चटाउन इलाका पुगिन्। सेडेलालाई भेट्नेहरूले उनको छोराको बाबुको बारेमा सोध्थे। उनी अनेक झूट बोल्थिन्। आफ्नो झूट छोपिने गरी उनले छोराको नाम रोबर्ट नेस्टा मार्ली राखिदिइन्।
ट्रेन्चटाउन सस्तो त थियो तर सुरक्षित थिएन। दैनिकजसो लुटपाट, लडाइँ, झगडा हुन्थ्यो। सेडेला आफ्नो छोरो त्यस्तो वातावरणमा हुर्कियोस् भन्ने चाहन्नथिन् तर उनीसँग अरू विकल्प पनि थिएन।
ट्रेन्चटाउन, रुड बोइज र टफ गङ
ट्रेन्चटाउनमा धेरै ग्याङ फाइट हुन्थ्यो। कहिले अर्को इलाकाका ग्याङसँग कहिले आफ्नै इलाकाका ग्याङसँग। सेडेला त्यस्ता गतिविधिमा मार्ली सामेल नहोऊन् भन्ने चाहन्थिन्। हुर्कँदै जाँदा मार्लीलाई पनि साथीको खाँचो हुन थाल्यो। उनले साथी भेटे, उनका साथीहरूको पनि ‘रुड बोइज’ ग्याङ बन्यो ।
रुड बोइज पनि त्यस्ता लडाइँ, झगडा, लुटपाट सबैमा सक्रिय थियो। कहिलेकाहीँ प्रहरीसँगै भिडन्त हुन्थ्यो। उक्त ग्याङमा मार्लीको नाम थियो, टफ गङ। मार्लीले आफूलाई उक्त ग्याङको सच्चा सदस्य कहिल्यै मानेनन् तर तिनीहरूसँग समय बिताउन उनलाई रमाइलो लाग्थ्यो।
ट्रेन्चटाउनका ती गल्ली, साथी, रुड बोइज र टफ गङसँग मार्लीको छुट्टै लगाव थियो। पछि उनले आफ्नो रेकर्डिङ स्टुडियोको नाम पनि टफ गङ नै राखे।
हुर्किँदै गएपछि त्यस्ता ‘रुड बोइज’ पनि भत्किए।
होम अफ रेग म्युजिक
अहिले होम अफ रेग म्युजिकको रूपमा चिनिने ट्रेन्चटाउन त्यतिवेला अपराध, तल्लो स्तरको र अशान्त इलाकाको रूपमा बदनाम थियो। मार्ली भने त्यहाँ बहादुरी, शक्ति र आफ्नो इलाकाका मान्छेहरूको भावना देख्थे। उनी ट्रेन्चटाउन छोडेर कतै जान चाहन्नथे बरु संसारलाई ट्रेन्चटाउन देखाउन चाहन्थे। आफ्ना छिमेकीहरूको जीवनस्तर सुधार्न चाहन्थे।
मार्लीमा संगीतको वीजारोपण त्यही ठाउँले गरेको थियो। त्यही ठाउँमा उनले संगीतको भाषा बोल्न सिकेका थिए। साथीहरूको घेराभित्र मात्रै गाइरहेका मार्लीलाई गीत रेकर्ड गर्ने भूत चढ्यो। अलिकति साथीले उक्साए‚ अलिकति आफैं उक्सिए।
त्यसपछि सन् १९६२ मा १८ वर्षको उमेरमा मार्लीले पहिलो गीत रेकर्ड गराए, जज नट। सन् १६५५ देखि शासन गरेको अंग्रेज पनि त्यसै वर्ष जमैका छोडेर गयो।
त्यसपछि मार्लीकी आमा सेडेला एडवार्ड बुकरसँग विवाह गरेर अमेरिका बसाइ सरिन्।
जज नटले मार्लीको जीवनमा त्यस्तो ठूलो चमत्कार गरेन तर त्यसपछि केही सकारात्मक घटना देखिन थाले। जस्तो, मार्ली र साथीहरू बन्नी वेलर, पिटर टोस, रिटा एन्डर्सन र एस्टोन ब्यारेट मिलेर ब्याण्ड खोले‚ द वेलिङ वेलर्स।
अंग्रेजले जमैका छोडेपछि मान्छेहरूको रुचि गाउन, बजाउन र नाच्नतिर पनि बढ्न थालेको थियो। त्यतिवेलै सिमर डाउन सार्वजनिक भयो जुन वेलिङ वेलर्सको पहिलो हिट एल्बम मानिन्छ। सिमर डाउनलाई मानिसले यति मन पराए कि त्यसपछि वेलिङ वेलर्स जमैकाको टप ब्याण्डमा गनिन थाल्यो।
वेलिङ वेलर्सले नाम त कमायो तर गाएरै पुग्ने गरी दाम कमाउन सकेन। ब्याण्डका सदस्यलाई पैसा कमाउन अरू काम पनि गर्नुपर्ने भयो। सन् १९६६ मा प्रेमिका रिटासँग विवाह गरेर मार्ली पनि आफ्नी आमासँग बसेर उतै काम गर्ने गरी अमेरिका गए।
रास्ताफारी आन्दोलन
अमेरिकाको राज्य व्यवस्था र त्यहाँ मान्छेले मान्छेलाई गर्ने व्यवहार देखेर मार्ली आत्तिए। आठ महिना मात्र बसेर मार्ली जमैका फर्किए र रिटासँगै बस्न थाले।
त्यसै वर्ष इथियोपियाका राजा हेल सेलासी जमैका गएका थिए। जसलाई रास्ताफारीहरू भगवान्को रूप मान्थे, जसले जमैकामा रास्ताफारी आन्दोलन सुरु गरेका थिए।
मार्ली फर्किंदा जमैकामा रास्ताफारी आन्दोलनले नयाँ रूप लिएको थियो। ड्रेडलक कपाल र गाँजाको ट्रेण्ड चर्काे भएकाे थियो। जसलाई रास्ताफारीमा पवित्र कर्मकाे रूपमा लिइन्छ।
मार्ली फर्किंदा रिटाले पनि कपाल ड्रेडलक गरेकी थिइन्। त्यसपछि मार्लीले पनि आफ्नो कपाल ड्रेडलक गरे। उनको अहिले देखिने स्वरूप त्यतिवेलै बनेको हो।
त्यसपछि उनले पहिलेका साथी जम्मा गरेर पुरानो ब्याण्डलाई फेरि बिउँताए। एउटा कम्पनीसँग गीत रेकर्ड गर्नका लागि सम्झौता भयो। सोल रेबेल्स, सोल रिभोलुसन, बेस्ट अफ द वेलर्स, क्याच अ फायर लगायतका एल्बम त्यसैताका सार्वजनिक भएका एल्बम हुन्।
१९७३ तिर त्यतिवेलाका चर्चित अमेरिकी गायक एरिक क्ल्याप्टनले वेलिङ वेलर्सको आइ सट द सेरिफको कभर गाएपछि मार्ली र वेलिङ वेलर्सको चर्चा बाहिर पनि हुन थाल्यो। देशबाहिर पनि मार्ली र वेलिङ वेलर्सका गीत खोजेर सुनिन थाल्यो।
१९७४ मा ब्याण्डका दुईजना सदस्य टस र बन्नीले ब्याण्ड छोडे। त्यसले गर्दा मान्छेहरूले मार्लीलाई वेलिङ वेलर्सको अनुहारको रूपमा चिन्न थाले।
शान्तिका लागि राजनीति
उनले आफ्ना गीतबाट शान्ति, एकता, अधिकार, आत्मविश्वास र प्रेमको सन्देश फैलाइरहेका थिए। उनका गीत धेरैले मन पराएपछि उनी आफूले भन्न खोजेको कुरा अझै धेरै जनासम्म पुर्याउन राजनीतिमा प्रवेश गरे। जमैका स्वतन्त्र र शान्त देशको रूपमा स्थापित भएको सपना देख्न थाले।
१९७६ सम्म विश्वले जमैका र मार्लीलाई पर्यायवाची देख्न थालिसकेको थियो। बेन्ड डाउन लो, ट्रेन्चटाउन रक, स्माइल जमैका लगायतका एल्बमबाट मार्लीले नामसँगै दाम पनि राम्रो कमाए। उनी पैसा या घर जग्गालाई सम्पत्ति भने मान्दैनथे। उनी आफ्नो जीवनलाई धेरै माया गर्थे। सबैभन्दा ठूलो सम्पत्ति नै जीवन हो भन्थे।
मार्ली एउटा राजनीतिक शक्तिको रूपमा चिनिन थालेका थिए। उनका हरेक अभिव्यक्तिले मान्छेहरूमा एउटा तरंग ल्याउने गर्थ्यो।
जमैका औपनिवेशिक शासनबाट त स्वतन्त्र भएको थियो तर त्यहाँका जनताले स्वतन्त्रताको स्वाद चाख्न पाएका थिएनन्। अशान्ति र अपराधका स्वरूप फेरिएका थिए, मेटिएको थिएन।
मार्लीको नाम कति महत्त्वपूर्ण छ भन्ने त्यहाँका राजनीतिक दलका नेताले थाहा पाएका थिए। त्यसैले उनलाई आफ्नो दलमा ल्याउन हरसम्भव प्रयास गरिरहेका थिए तर मार्ली आफू तटस्थ रहने निश्चित गरिसकेका थिए।
कुनै समय किङस्टनको सबैभन्दा असुरक्षित इलाकामध्येमा गनिने उनको क्षेत्र शान्त थियो। त्यो ठाउँ त्यस्तो बन्न सक्छ भन्ने कसैले पनि सोचेको थिएन।
हत्या प्रयास
१९७६ डिसेम्बर ३ को साँझ एउटा गाडी मार्लीको घरअगाडि आएर रोकियो। अचानक मार्लीको घरलाई लक्षित गरेर गाडीभित्रबाट गोली चल्न थाल्यो। गाडीबाट छ सातजना बन्दुकधारी घरभित्र छिरे र अन्धाधुन्द गोली चलाउन थाले‚ जहाँ मार्ली, उनकी पत्नी रिटा र मार्लीका म्यानेजर डन टेलर थिए। उक्त घटनामा तीनैजना घाइते भए।
त्यो दिन चलेको गोलीले मार्लीको ज्यान त गएन तर भित्रैबाट हल्लायो। आफूले प्रशंसकसँगै खतरनाक दुश्मनहरू पनि कमाएको उनले त्यही दिन थाहा पाए। त्यो घटनाका पछि कुनै राजनीतिक कारण छ भन्नेमा उनी पक्का थिए। त्यसपछि सक्रिय रूपमा रानीतिमा नहिँड्ने पनि उनले निधो गरे।
लण्डनमा एक महिना जेल
उक्त घटनापछि उनी लण्डन उडे। उनको एक्सिडस एल्बम पनि उतैबाट सार्वजनिक भयो। जसमा उनले जमैकाप्रति आफ्नो प्रेम, अमेरिकाको कष्टपूर्ण बसाइ, धार्मिक विश्वासका विषयमा आफ्नो धारणा राखेका छन्। एक्सिडस मार्लीको करिअरको सबैभन्दा हिट एल्बममध्येमा एक गनिन्छ।
मार्लीका लागि लण्डन बसाइ पनि त्यति सहज भने भएन। लण्डन गएको एक वर्ष नबित्दै गाँजा राखेको आरोपमा उनलाई प्रहरीले समात्यो। झण्डै एक महिना जेलमा राखेर उनलाई प्रहरीले छोड्यो। त्यसपछि पनि उनले गाँजा खान भने छोडेनन्।
वन लभ पिस कन्सर्ट १९७८
सन् १९७८ अप्रिल २२ मा राजधानी किङस्टनमा वन लभ पिस कन्सर्ट भयो जसका लागि मार्ली लण्डनबाट फेरि जमैका फर्किए। जमैकामा राजनीतिक अस्थिरता र ध्रुवीकरण उस्तै थियो। कन्सर्टमार्फत मार्लीले शान्ति र एकताको सन्देश फैलाउन चाहन्थे।
उक्त कन्सर्टमा मार्लीले डेमोक्र्याटिक सोसियलिस्ट पार्टिका नेता माइकल मेनली र कन्जर्भेसन जमैका लेभर पार्टीका नेता एडवार्ड सेगालाई मञ्चमा बोलाए। जो त्यतिवेलाका ठूला राजनीतिक प्रतिद्वन्द्वी थिए। ३२ हजारभन्दा बढी दर्शक रहेको उक्त कन्सर्टमा मार्लीले ती दुई नेताको हात मिलाइदिए। जुन जमैकाली राजनीतिमा ऐतिहासिक घटना पनि मानिन्छ।
प्राणघातक क्यान्सर
जतिवेला मार्ली आफ्नो करिअरको उत्कर्षमा थिए, हरेक गीत सुपरहिट हुँदै थिए, त्यति नै वेला उनी शारीरिक रूपमा कमजोर हुँदै थिए। खुट्टाको बूढीऔँलामा भएको सानो घाउले क्यान्सरको रूप लिइसकेको थियो।
उनले आफू क्यान्सरको सिकार भएको लण्डनमा हुँदा नै थाहा पाइसकेका थिए। डाक्टरहरूले घाउ भएको औँला काटेमा क्यान्सरलाई रोक्न पनि सकिने बताएका थिए तर रास्ताफारीमा एकदमै आवश्यक नभएसम्म कसैको मासु काट्नु पाप हो भनेको भएर मार्लीले मानेनन्। उनलाई बाँच्नु त्यति आवश्यक लागेन। उनी शरीर वा आत्माको मृत्युमा विश्वास गर्दैनथे।
१९८० सम्म उनको स्वास्थ्य निकै खराब भइसकेको थियो। यहाँसम्म कि उनलाई सामान्य हिँडडुल गर्न पनि गाह्रो हुन थालेको थियो। जर्मनीमा उपचार गराइरहेका मार्लीको ६ महिनासम्म पनि स्वास्थ्यमा कुनै सुधार नआएपछि उनी जमैका फर्कन चाहेका थिए।
सन् १९८१ मे ११ मा जमैकाका लागि विमानमा चढेपछि मार्लीको स्वास्थ्य झन् बिग्रन थाल्यो। अमेरिकाको मियामीमा विमान अवतरण गरेर अस्पताल लगियो। मियामीको सेडर्स अफ लेवनन हस्पिटलमा उनले अन्तिम सास फेरे।
मर्नुअघि आफ्नो छेउमा वसेका १३ वर्षका छोरा जिग्गीलाई उनले भनेका थिए- पैसाले जीवन किन्न सकिँदैन।
भौतिक रूपमा केवल ३६ वर्षको उमेरमा मृत्युवरण गरेका मार्ली विश्व संगीत आकाशमा आज पनि एउटा उज्ज्वल नक्षत्रको रूपमा रहेका छन्।
उनका हरेक गीत आज पनि खोजी खाजी सुनिन्छ। झोला, टीसर्ट, गाडी, पर्खाल जताततै आज पनि मार्लीको चित्र देख्न सकिन्छ। उनकै सम्झनामा करोडौँ मानिसले कपाल ड्रेडलक गर्ने गर्छन्।
मार्ली थोरै बाँचे तर जति बाँचे उनी आफ्नै सिद्धान्तमा बाँचे। उनलाई कसैले कसैको जीवनमा हस्तक्षेप गरेको मन पर्दैनथ्यो। उनी भन्थे, मेरो जिन्दगी जस्तोसुकै होस्, त्यसलाई मूल्यांकन गर्ने तिमी को हौ? मलाई थाहा छ‚ म सर्वगुण सम्पन्न छैन। त्यसका लागि बाँच्दिनँ पनि। कोहीमाथि औँला तेर्साउनु अगाडि यो हेर कि तिम्रो हात कत्तिको चोखो छ।
२ सयभन्दा बढी गीत गाएका मार्लीको अन्तिम गीत रेडम्प्सन सङ हो। जुन गीत उनले क्यान्सरसँग लड्दै गर्दा लेखेका थिए।
उक्त गीतमा मार्लीले भनेका छन्—
खाडलबाट निकाले झैँ गरेर मलाई
समुद्री डाँकुले लुट्यो
जब शक्ति आयो मेरो हातमा
हाम्रो जित भयो
उसको पसिना छुट्यो
तिमी गाउँदैनौ मसँगै यो गीत?
स्वतन्त्रताको गीत
मसँग यही त छ अब
स्वतन्त्रताको गीत
मोचन गीत ।
एजेन्सीकाे सहयाेगमा
तपाईंको ईमेल गोप्य राखिनेछ ।