|

काठमाडौं : अबको केही दिनमा कोरोना संक्रमितको संख्या बढ्न सक्ने चिकित्सकहरूले अनुमान गरेका छन्। दशैंका वेला गरिएको भिडभाड र जनस्वास्थ्यको मापदण्ड पालनामा गरिएको हेलचेक्राइँले गर्दा संक्रमितको संख्या बढ्न सक्ने चिकित्सकको भनाइ छ।

तथ्यांकमा हेर्ने हो भने पनि दशैंका वेला ५ सयको हाराहारीमा रहेको संख्या दशैंपछि बढेको देखिन्छ।

असोज २९ गते २७२ जना, असोज २८ गते ४५५ जना, असोज २७ गते ३६५ जना र असोज २६ गते ७९२ जना संक्रमित भेटिएकोमा दशैंपछि कात्तिक १ गते ५९१ जना , कात्तिक  २ गते १०९६ जना, कात्तिक ३ गते ६६२ जना, कात्तिक ४ गते ५४५ जना र कात्तिक पाँच गते ७०८ जना संक्रमित थपिएका छन्। यसरी केही दिनको तथ्यांक हेर्ने हो भने पनि दशैंपछि संक्रमितको संख्या केही बढेको देखिन्छ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार दशैंका वेला किनमेल तथा मानिसहरू एक ठाउँबाट अर्को ठाउँ जाँदा जनस्वास्थ्यको मापदण्ड पालना नगर्दा संक्रमण बढेजस्तो देखिएको बताउँछन्।

‘दशैंमा भएको भिडभाड र त्यो समयमा गरिएको जनस्वास्थ्य पालनाको हेलचेक्राइँले पनि अबको केही दिनसम्म संक्रमितको संख्या बढ्न सक्छ’‚ उनले भने।  

अझै संक्रमितको संख्या एक दुई हप्तासम्म अलि बढ्न सक्ने समेत उनको भनाइ छ। ‘दशैंको चहलपहलले अझै एकदुई हप्तासम्म संक्रमण बढ्न सक्छ। त्यसपछिको अवस्था भने अहिले भन्न सकिँदैन’‚ उनले भने।

अहिले धेरै संक्रमित घरमा नै रहेको हुदा संक्रमितको संख्या बढे पनि अस्पतालमा आउने संख्याभने  कम रहेको उनले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.