|

काठमाडौं : सिनेमाको पर्दा एवं टेलिभिजनमा देखिने कलाकारलाई धेरैले पछ्याउने गर्छन्। पर्दामा देखेर मन परेको कलाकारलाई एकपटक साँच्चिकै भेट्न पाए भन्ने चाहना धेरैको हुन्छ। जसलाई हामी फ्यान भन्ने गर्छाैं। 

अहिले त अझ कलाकारहरूमै पनि कसका फ्यान कति? कसको सुटिङ सेटमा बढी भीड? सार्वजनिक ठाउँमा जाँदा कसलाई धेरै मान्छेले घेरे? भनेर पनि चासोका साथ हेरिन्छ। 

अन्य क्षेत्रका मानिसलाई पनि पछ्याउनेहरू हुन्छन् तर फिल्म धेरै मानिससम्म पुग्ने भएकाले कलाकारका फ्यान धेरै हुने गर्छन्। पर्दामा देखेको कोही कलाकार मानिसहरू भएको ठाउँमा पुग्यो भने त्यहाँ फोटो खिच्नेहरूको भीड लाग्छ। भीड कत्रो हुन्छ भन्ने चाहिँ त्यो कलाकारको लोकप्रियतामा भरपर्छ। 

शुक्रबार राजधानीस्थित सोल्टी होटलको प्राङ्गणमा केही यस्तो भयो जहाँ देशका चर्चित कलाकार जसका लाखौँको संख्यामा फ्यान छन्, सामान्य देखिए। सबै सेलिब्रेटी मात्र भएको ठाउँमा यस्तो लाग्थ्यो त्यहाँ कोही सेलिब्रेटी छैन पूर्वराजा बाहेक। 

तिहार तथा छठ पर्वको अवसरमा हिमानी ट्रस्टले चियापानको आयोजना गर्‍याे जहाँ खेल, कला, साहित्यलगायतका धेरै क्षेत्रका सेलिब्रेटीहरूको उपस्थिति थियो। नेपाली फिल्म उद्योगबाट पनि नयाँ तथा पुराना कलाकार, निर्देशक, निर्माता, गायक सबै उक्त चियापानमा सामेल थिए केहीबाहेक छोडेर। 

त्यसपछि कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र शाहको प्रवेश भयो। फोटो सेसन सुरु भएपछि पूर्वराजालाई फोटो खिच्न भ्याइ नभ्याइ भयो। कोही विनम्र हुँदै ज्ञानेन्द्रसँग  सरकार एउटा फोटो भन्दै थिए। कोही उनलाई आफ्नो नाम भन्दै परिचय दिँदै थिए। कोही पहिले पनि आफूहरूको भेट भएको कुरा ज्ञानेन्द्रलाई सम्झाउँदै थिए। कोही पहिलोपटक राजालाई भेट्दा दुई चार शब्द बोलिहाल्न पाए भन्ने ध्याउन्नमा थिए। 

कार्यक्रममा उपस्थित सबै सेलिब्रेटी नै थिए। जसले धेरैपटक त्यस्तै भीडमा घेरिएर धेरै जनासँग फोटो खिचाएका छन्। बाहिर उनीहरूका पनि धेरै फ्यान छन्।कार्यक्रममा राज परिवारका अन्य सदस्य साथै विभिन्न क्षेत्रका सेलिब्रेटीहरू एकअर्कासँग पनि फोटो खिचिरहेका थिए। तर, पूर्वराजा सेलिब्रेटीका पनि सेलिब्रेटी देखिएका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.