|
सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री लालबाबु राउत। तस्वीरः अजय साह

जनकपुरधाम : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले अन्तरराष्ट्रियस्तरमा निर्यात गर्ने खालका उद्योग स्थापना गर्न आग्रह गरेका छन्।

धनुषाको ढल्केबरमा जानकी अटोमोबाइल्स एसोसिएशन अफ नेपालको प्रथम वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले यस्तो आग्रह गरेका हुन्।

उनले प्रदेश २ भूबनोट, विद्युतीय सुविधा र बजारसम्म ढुवानी गर्न सजिलो हुनाले उद्योगका लागि उर्वर भूमि भएको पनि दाबी गरे।

राउतले प्रदेश सरकारले उद्योगीलाई सहयोग हुने गरी ऐन कानुन निर्माण गर्नेदेखि आवश्यक वातावरण तयार गर्न प्रतिबद्ध रहेको बताए। उनले प्रदेश सरकारले उद्योग ऐन ल्याइसकेकाले उद्योग सञ्चालन गर्न आग्रह गरे।

उनले अटोमोबाइल क्षेत्रको विकासका लागि प्रदेश सरकारले योगदान पुर्‍याउने पनि प्रतिबद्धता व्यक्त गरे। उनले भने, ‘तपाईंहरू उद्योग सञ्चालनको तयारी थाल्नु होस्, वातावरण निर्माण गर्ने जिम्मा हाम्रो। थप कानुन चाहिए सुझाव दिनुहोस्, हामी ल्याउँछौँ।‘

समृद्धि एवं रोजगारीको क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेको अटोमोबाइल क्षेत्रप्रति केन्द्रीय सरकारको धारणा सकारात्मक नहुनु दुःखद रहेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले प्रदेश सरकारका तर्फबाट हुन सक्ने सम्पूर्ण वातावरण बनाउन तयार रहेको प्रतिबद्धता व्यक्त गरे।

मोबाइल क्षेत्रको भविष्य उज्ज्वल रहेको र मुलुकको आर्थिक समृद्धिमा यो क्षेत्रले  खेलेको भूमिका महत्वपूर्ण रहेको उनको भनाइ छ।

उनले उच्च मनोबलका साथ लगानी गर्ने वातावरण बनाउन नसक्नु दुर्भाग्य रहेको चर्चा गरे। उनले भने, ‘नियम तथा कानुन बनाउँदा उद्योगी व्यवसायीसँग सल्लाह सुझाव लिई प्रदेश २ भित्र लगानीमैत्री वातावरण बनाएर निजी क्षेत्रलाई आकर्षित गर्ने गर्छौं।’

नाडा अटोमोबाइल्स एशोसिएशन नेपालका अध्यक्ष कृष्णप्रसाद दुलालले नेपालमा केही मोटरसाइकल एसेम्बलिङ उद्योगले उत्पादन गरिरहेको जानकारी दिए। सरकारले ल्याएका नीतिले निरन्तरता पाएमा नेपालमा अटोमोबाइल उद्योग फस्टाउँदै जाने विश्वास उनले व्यक्त गरे।

नेपालमा खपत हुने लुब्रिकेण्ट्स (मोबिल)को आधा उत्पादन स्वदेशमै भइरहेको जानकारी दिँदै अध्यक्ष दुलालले सरकारले यसलाई थप प्रोत्साहन गर्ने हो भने उत्पादन बढाएर विदेश निर्यात गर्न सकिने धारणा राखे। विद्युतीय सवारीसाधनको मुख्य औजार र ब्याट्री यहीँ उत्पादन गर्न सकिने व्यवस्थाका लागि सरकारले नीतिगत व्यवस्था गर्नुपर्ने  दुलालले माग गरे।

मिथिला नगरपालिकाका मेयर हरिनारायण महतोले पछिल्लो समय यातायात क्षेत्रको विकास तीव्र गतिमा भइरहेको बताउँदै यातायात क्षेत्रको विकाससँगै सडक पूर्वाधारको पनि विकास आवश्यक रहेको बताए।

प्रदेश २ मा अटोमोबाइल क्षेत्रको सम्भावना राम्रो रहेको जानकी अटोमोबाइल एसोसिएशन अफ नेपालका अध्यक्ष तेजनारायण साहले बताए।​

जानकी अटोमोबाइल्स एसोसिएशन अफ नेपालमा पुनः साह

जानकी अटोमोबाइल्स एसोसिएशन अफ नेपालको अध्यक्षमा पुनः तेजनारायण साह (सन्तोष) निर्वाचित भएका छन्। यसैगरी उपाध्यक्षमा केदार अग्रवाल, महासचिवमा किशोर भट्टराई, कोषाध्यक्षमा सञ्जितराज श्रेष्ठ र सचिवमा सुनिलकुमार सिंह चयन भएका छन्। सदस्यमा बजरंग यादव, सुरेन्द्र शाह, प्रदीप शाह र चन्द्रशेखर अग्रवाल रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.