|

काभ्रे : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)की नेतृ तथा सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले नेकपा एमाले अध्यक्ष केपी ओलीको चरित्रमा लोकतन्त्र नभएको बताइन्।

शनिबार नेकपा (एकीकृत समाजवादी) धुलिखेल नगर कमिटीद्वारा विजया दशमी तथा शुभ दीपावली २०७८, नेपाल संवत् ११४२ र छठ पर्वको उपलब्धमा आयोजित शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री झाँक्रीले यस्तो बताएकी हुन्।

मन्त्री झाँक्रीले ओलीले पार्टी सिद्धान्त, पद्धति खोज्नेलाई दुश्मन ठान्ने र आफ्नो भक्तिगान गर्नेलाई चाकर बनाएर राखेको आरोपसमेत लगाइन्। ओलीले आफ्नै बहुमतको सरकार हुँदासमेत कुशासन दिने गरेको उनको भनाइ छ। उनले भनिन्, ‘ओलीको जीवनमा लोकतन्त्रको असल अभ्यास कहीँ कतै भेटिदैन।’

मन्त्री झाँक्रीले संविधानको रक्षा गर्दै जनताको भावना र चाहनाअनुसार जिम्मेवारीपूर्वक काम गरेर देखाउने बताइन्। ‘मैले पाएको जिम्मेवारीलाई जनभावनाअनुसार इमान्दारीका साथ निभाउन प्रयास गर्नेछु’, उनले भनिन्, ‘वर्तमान सरकारले देशमा भइरहेको भ्रष्टाचार र कुशासनविरुद्ध काम गर्नेछ।’

मन्त्री झाँक्रीले आफूहरू एमालेबाट फुटेको नभई विद्रोह गरेर नयाँ पार्टीको स्थापना गरेको बताइन्। उनले एमाले पार्टीभित्र रैती बन्ने स्थिति देखा परेपछि स्वतन्त्र मान्छे बन्न समाजवादी पार्टी जन्माएको जिकिर गरिन्।

त्यस्तै मन्त्री झाँक्रीले आफूहरू पार्टी निर्माणको अभियान रहेको तर त्यो त्यति सजिलो भने नरहेको बताइन्। उनले भनिन्, ‘हामी इमानका साथ काम गर्ने पंक्ति बनाउन लागेका छौँ।’

कार्यक्रममा बोल्दै मन्त्री झाँक्रीले केपी ओलीले उद्घाटन तथा शिलान्यास गरेको कुनै पनि योजनाका आधिकारिक कागजात मन्त्रालयमा नभेटिएको र ओलीले सस्तो लोकप्रियताका लागि मात्रै ती काम गरेको पाइएको बताइन्।

प्रदेश सभा सदस्य लक्ष्मण लम्सालले आफूहरू ओली जस्तो गिनिज बुकमा नाम लेखाउन नभई जनताको काम गर्न हिँडेको बताए। कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) बागमती प्रदेशका सचेतक तथा प्रदेशसभा सदस्य वसुन्धरा हुमागाईं लगायत कांग्रेस र माओवादी केन्द्रका जिल्ला नेताहरूसमेत उपस्थित थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.