|

बर्दिया : बर्दियाका बाढीपीडितले ४ दिनदेखि चाउचाउ र चिउराकै भरमा गुजारेको बताएका छन्।

घरमा भएको सबै अन्नपात बाढीले बगाएपछि टहराको वास भएका बाढीपीडितले खाद्यान्नका नाममा चाउचाउ र चिउरा बाहेक केही नपाएको बताएका छन्

स्थानीयका घर पूरै हिलोले भरिएका छन्। पानी घटे भए पनि स्थानीयलाई अहिले घरभित्रको हिलो पन्छाउन भ्याइनभ्याइ छ। स्थानीय तहले भने बाढीपीडितलाई राहत बाँडिरहेको बताएका छन्।

उनीहरूलाई  शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा आफ्नो ठाउँमा राहत लिएर आउँछन् भन्ने अपेक्षा थियो। बाढीपीडित नन्दकला पोखरेलले भनिन्, ‘खान नपाएको यतिका दिन भइसक्यो तर प्रधानमन्त्रीले काठमाडौँ पुगेर योजना बनाउने भन्दै फर्किनुभयो, हामी कहिलेसम्म भोकै बस्ने।’

यस्तै पीडा छ‚ देउमा कामीको पनि। शुक्रबार पालिकामा प्रधानमन्त्री पुग्दा उनको परिवारलाई भने घरको हिलो पन्छाउन भ्याइनभ्याइ थियो। उनले पनि बाढीले सबै सत्यनाश पारेको बताइन्। ‘४ दिनदेखि चाउचाउ र चिउराकै भरमा बसिरहेका छौँ, हामी कहिलेसम्म यसरी बस्ने?’‚ उनको प्रश्न छ।

बाढीपीडित क्षेत्रको निरीक्षणका लागि शुक्रबार बर्दिया पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले भने काठमाडौँ पुगेर योजना बनाउने बताए। उनले बर्दियाका बाढीप्रभावित क्षेत्रको निरीक्षणका क्रममा बाढी प्रभावितलाई सरकारले सकेको सहयोग गर्नेमा आश्वस्त बनाउन खोजे।

बाढीपीडित आक्रोश पोख्छन्‚ ‘घरबारविहीन भएर बसेको ४ दिन भइसक्यो। घरमा खाने अन्न १ दाना छैन। सरकार भन्छ- काठमाडौँ पुगेर योजना बनाउँछौँ, हामी कहिलेसम्म चाउचाउकै भरमा बस्ने ?’

पश्चिम नेपालकै सबैभन्दा बढी धान खेती हुने बर्दियामा अहिले बेमौसमी वर्षाका कारण आएको बाढीले ठूलो क्षति पुर्‍याएको छ। बर्दियामा झण्डै ३५ हजार हेक्टरमा लगाएको धान बाढीले सखाप पारेको छ। कर्णाली नदीको बाढी गाउँ पस्दा बर्दियाका झण्डै ७ हजारभन्दा बढी स्थानीय प्रभावित भएका छन्।

सरकारले तत्काल आफूहरूका लागि खाद्यान्न र वासको जोहो गर्ला भन्ने आशामा बसेका बाढीप्रभावितहरू प्रधानमन्त्रीले आश्वासन मात्रै दिएपछि निराश बनेका छन्।

बर्दियाका स्थानीय बासिन्दाले हरेक वर्ष वर्षाको समयमा आफूहरूले बाढीको त्रास भोग्दै आएको जानकारी दिँदै कर्णाली नदीमा बलियो तटबन्धको माग समेत गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.