प्रदेश सांसदहरूद्वारा विरोध

|

धनगढी : सुदूरपश्चिम प्रदेशमा नेकपा (एकीकृत समाजवादी)ले सरकारको बजेट खर्चेर पार्टी कार्यालय स्थापना गर्ने तयारी थालेको छ।

सरकारी खर्चमा पार्टी कार्यालय स्थापना गर्ने तयारी थालेपछि प्रदेश सांसदहरुले विरोध गर्न थालेका छन्। प्रदेश सरकारले नेकपा एमाले पार्टीलाई फुटाएर नयाँ पार्टी सञ्चालन गर्न बजेट विनियोजन गरेपछि सांसदहरुले विरोध गरेका हुन्।

प्रदेशका नौ वटै जिल्लामा नयाँ पार्टीका कार्यालयहरु स्थापना गर्न प्रदेश सरकारले राज्य कोषको अवैध दोहन गर्दै बजेट विनियोजन गरेको खुलासा भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारीले गरेका थिए।

एमाले फुटेपछि अलग्गिएको एकीकृत समाजवादी पार्टीको कार्यालयहरु सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लामा स्थापना गर्न प्रदेश सरकारले विनियोजन गरेको ५०/५० लाख बजेट खर्च गर्ने तयारी भएको छ।

जिल्ला जिल्लामा पार्टीका कार्यालय स्थापना गर्न विनियोजन गरिएको उक्त बजेट खर्च गर्ने तयारी भइरहेको नेकपा एकीकृत समाजवादी पार्टी सुदूरपश्चिम संसदीय दलका नेतासमेत रहेका सोडारीले बताए।

‘पार्टी फुटाउन भीम रावललगायत १० नेताले बजेट छुट्याउन लगाएका थिए। ती नेताहरु धोका दिएर एमालेमै छन्। अब त्यो रकम समाजवादी पार्टीले नौ वटै जिल्लामा पार्टी कार्यालय खोल्न खर्च गर्नेछ’ उनले भने।

नेकपा एमाले फुटाएर नयाँ पार्टी स्थापना गर्न सुदूरपश्चिम प्रदेश सरकारले बजेट विनियोजन गरेको विषयमा भने प्रदेश सरकारका सांसद नै अनभिज्ञ छन्।

समाजवादीका नेता सोडारीले नै पार्टी कार्यालय स्थापना गर्न बजेट विनियोजन भएको विषय बाहिर ल्याएपछि विधि विधान विपरीत गएर पार्टी कार्यालय स्थापना गर्न बजेट विनियोजन भएको विषय सुन्दा निकै चकित बनेको नेपाली कांग्रेसबाट सुदूरपश्चिम प्रदेश सभा सांसद भरतबहादुर खड्काले बताए।

‘प्रदेश सरकारको रकम खर्चेर कसैले मनमौजी गर्न सक्दैन। कुनै पनि हालतमा मन्त्री सोडारीले भनेअनुसार बजेट विनियोजन गरेर पार्टी कार्यालय स्थापनामा प्रयोग गरिन्छ भने नेपाली कांग्रेसले त्यसको खुलेर विरोध गर्छ’ उनले भने।

नेता सोडारीले भौतिक पूर्वाधार विकास मन्त्रालयले बजेट छुट्याएको खुलासा गरेपछि सुदूरपश्चिमको राजनीतिले यतिबेला नयाँ मोड लिएको छ। पार्टी फुटाउन राज्यको पैसा चोर्नु राजनीतिक अपराध भएको नेकपा एमालेका नेता एवं प्रदेश सांसद पठानसिंह बोहराले बताए।

उनी भन्छन्, ‘विधि, विधान र संविधान विपरितको काम भएकाले नेकपा एमालेले यसको खुलेर विरोध मात्र गर्दैन कुनै पनि हालतमा त्यो रकम पार्टी कार्यालय खोल्न प्रयोग गर्न दिँदैन।’ राज्य कोषको अवैध दोहन हुने गरी सक्रिय नेताहरुले नै बजेट विनियोजन गर्न लगाएको मन्त्री सोडारीले बताइसकेपछि प्रदेशका सांसदहरुले उक्त कदमको खुलेर विरोध जनाइरहेका छन्।

सरकारविरुद्ध एमालेको भण्डाफोर अभियान

यस्तै सुदूरपश्चिममा प्रदेश सरकारले विधि र प्रक्रिया मिचेर गरेका कामहरुको विवरण नेकपा एमालेले केही दिनभित्रै छलफल गरेर सार्वजनिक गर्ने जनाएको छ।

प्रदेश सरकार राजनीतिक अपराधमा केन्द्रित भएको भन्दै ऐन, कानुन र संविधान विपरित गएर गरेका कार्यहरुको सूची नै बनाएर सार्वजनिक गर्ने तयारीमा रहेको नेकपा एमालेका नेता एवं पूर्व भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहराले थाहाखबरलाई बताए।

आर्थिक वर्ष २०७७/७८ को अन्तिममा आएर नेता, कार्यकर्ता र आफू निकटका व्यक्तिलाई रकम पोस्ने काम भएकाले नेकपा एमालेले सुरुदेखि नै त्यसको विरोध गर्दै आएको प्रदेश सांसद समेत रहेका नेता बोहराले बताए।

‘बाढीपहिरोका कारण प्रदेशभित्र ठूलो धनजनको क्षति भइरहेको अवस्थामा प्रदेश सरकार भने राजनीतिक अपराधमा लिप्त देखिन्छ’ उनले भने, ‘राज्यकोषको बजेट पार्टी कार्यालय स्थापना गर्न र झण्डा बनाउन खर्चने प्रवृत्तिको कुनैपनि हालतमा समर्थन गर्न सकिदैँन। यसको खुलेर विरोध गर्छौँ।’

प्रदेश सरकारको सञ्चित कोषमा रहेको बजेटसमेत मिलीजुली बाँड्ने काम भएकाले तथ्यसहित केही दिनभित्रै सार्वजनिक गर्ने तयारी भइरहेको नेकपा एमालेले जनाएको छ। प्रदेशको सम्पत्तिलाई निजी सम्पत्तिको रुपमा बाँडेर खाने प्रवृत्तिको अन्त्य गरेरै छोड्ने सांसद बोहराको दाबी छ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.