|

बझाङ : बझाङलाई बाढीपहिरो संकटग्रस्त जिल्ला घोषणा गर्न सर्वदलिय बैठकले सरकारसँग अनुरोध गर्ने निर्णय गरेको छ।

शनिवार बसेको सर्वदलीय बैठकले कुबेलाको बाढीपहिरोले जिल्लामा धनजनको ठूलो क्षति गरेकोले संकटग्रस्त जिल्ला घोषणा गर्न अनुरोध गर्ने निर्णय गरेको हो।

असोज ३१ गते आइतवार आएको अविरल बर्षाका कारण बझाङमा १० जनाको ज्यान गएको छ भने १९ जना अझै बेपत्ता छन्। पहिराले ९० भन्दा बढी घरहरू पूर्णरुपमा क्षति भएका छन् भने एक सय २७ घर जोखिममा छन्।

यस्तै ६ सय ४७ परिवार विस्थापित भएका छन्। ४० प्रतिशत खेतीयोग्य जमिन नदी खोलाले कटान गरेको छ। सर्वदलीय बैठकले बझाङ सदरमुकाम जोड्ने जयपृथ्वी राजमार्ग, पालिकाहरू जोड्ने शाखा सडक खण्डहरू मर्मत गर्न र पुलपुलेसाहरू बगाएकाले स्थानीय तहलाई जनशक्ति र स्रोत साधन परिचालन गरी तत्काल सडक संचालन गर्नको लागि पहल गर्ने निर्णय बैठकले गरेको छ।

यस्तै मृतक परिवारलाई राहात र घरबारविहीनलाई बसोवासको ब्यवस्था गर्न सम्वन्धित निकायलाई अनुरोध गर्ने, बाढीपहिरो पीडितका लागि देश तथा विदेशबाट सहयोग गर्न चाहने ब्यक्ति, संघ, संस्थाहरूको सहजताका लागि जिल्ला प्रशासन कार्यालयमा रहने गरी राहात कोषको स्थापना गर्ने पनि बैठकले गरेको जिल्ला समन्वय समितिका प्रमुख खडक खड्काले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.