|

विराटनगर : नेकपा एमाले विभाजनपछि भदौ १० गते  प्रदेश १ का मुख्यमन्त्री नियुक्त भएका भीमप्रसाद आचार्यले आज (आइतबार) विश्वासको मत लिँदै छन्।

मुख्यमन्त्री आचार्यले शुक्रबार प्रदेशसभामा विश्वासको मत लिनका लागि प्रस्ताव पेश गरेका थिए। आज दिउँसो साढे १२ बजे बस्ने संसद् बैठकमा मुख्यमन्त्रीको विश्वासको मत लिनेसम्बन्धी प्रस्थावमाथि छलफल हुनेछ भने आजै मत विभाजन पनि हुनेछ।

मुख्यमन्त्री पदको शपथग्रहण गर्दागर्दै अल्पमतमा परेका आचार्यले विश्वासको मत पाउने अवस्था नरहेको विपक्षी गठबन्धनका एक नेताले बताए। उनले भने, ‘उहाँले विश्वासको मत पाउन गाह्रो छ, त्यसैले आज उहाँको बिदाइसँगै प्रदेश १ ले चाँडै नयाँ मुख्यमन्त्री पाउनेछ।’ 

विपक्षी गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईलाई  मुख्यमन्त्रीका रूपमा अघि सार्ने तयारी रहेको छ। तर, पनि शनिबार विराटनगर विमानस्थलमा पत्रकारसँगको कुराकानीमा परराष्ट्रमन्त्री डा. नारायाण खड्काले कांग्रेसको नेतृत्वमा प्रदेश १ मा सरकार गठनको सम्भावना रहेको अभिव्यक्ति दिएका थिए।

सोही अभिव्यक्तिको सन्दर्भलाई लिएर नेपाली कांग्रेस प्रदेश १ का  सचेतक सुयर्मा राज राईले केन्द्रबाट आएको निर्णयभित्र नै रहेर काम गरिरहेको बताए। उनले प्रदेश १ मा एकीकृत समाजवादीलाई नै मुख्यमन्त्री दिने भन्ने केन्द्रबाट आएको निर्देशनअनुसार नै संसदीय दलबाट पास भइसकेको बताए।

उनले भने,‘अहिले राष्ट्रिय राजनीतिमा  गठबन्धनको सरकार बनिरहेकाले हामीले केन्द्रबाट आएको निर्णयमा नै रहेर समाजवादी एकीकृतलाई प्रदेश १ को मुख्यमन्त्री दिने संसदीय दलको छलफलबाट पास गरिसकेका छौँ।’

उनले गठबन्धन भित्रको ठूलो दल नेपाली कांग्रेस भएकाले आलोपालोमा भए पनि कांग्रेसको सरकार बन्नुपर्छ भन्ने माग रहेको समेत बताए।

केन्द्रले गरेको निर्णयप्रति प्रदेशमा असन्तुष्ट हो? भन्ने प्रश्नमा उनले भने,‘यसमा हाम्रो असन्तुष्टि होइन, तर  प्रदेशको आफ्नै मौलिकता, राजनीतिक सामजिक हैसियत रहेकाले  प्रदेश १ मा कांगेसको आवश्यकता छ र यसलाई केन्द्रले  निर्णय गर्दा यहाँको विशेषता चाहनाको मूल्यांकन नभएको भन्ने चाहिँ सिंगो नेपाली कांग्रेस संसदीय दलको माग हो’ उनले थपे, ‘र यसको  पुनरवलोकन होस भन्ने हो।’

मुख्यमन्त्री र प्रदेश सरकारको विरुद्धको पाँच दलीय गठबन्धनमा आफू गठबन्धनप्रति प्रतिबद्ध रहेको जनता समाजवादी पार्टीका संसदीय दलका नेता जयराम यादवले बताए। उनले भने,‘मुख्यमन्त्रीको विश्वासको मतको विरुद्धमा हामी मतदान गर्छौं।’ 

पहिलो काम मुख्यमन्त्री आचार्यलाई बिदाइ गर्ने रहेको बताउँदै उनले केन्द्रको निर्णयअनुसार रहेर नै प्रदेश १ का मुख्यमन्त्री एकीकृत समाजवादीलाई  दिने भन्ने विषयमा छलफल चलिरहेको  उनले बताए।

एमाले नेतृत्वको सरकार  अल्पमतमा

९३  प्रदेशसभा सदस्य (हाल ९२ जना) रहेको प्रदेश १ मा दल विभाजन भएसँगै एमाले नेतृत्वको सरकार  अल्पमतमा छ। संसदमा बहुमतका लागि ४७ मत आवश्यक पर्छ। प्रदेशमा सत्तारूढ दल एमालेसँग ४१ जना मात्रै सांसद छन् भने विपक्षी गठबन्धनमा ५० जना सांसद छन्।

गत भदौ १० गते मुख्यमन्त्री नियुक्त भएका आचार्यले विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव असोज २५ गते  संसद् सचिवालयमा दर्ता गराएका थिए। असोज २४ गते सभामुखले सूचना टाँस गर्दै शुक्रबारसम्मका लागि बैठक स्थगित गरेका थिए।

शुक्रबार बसेको बैठकमा मुख्यमन्त्रीले विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गरेपछि  सभामुखले आइतबारसम्मका लागि बैठक स्थगित गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.