|

काठमाडौं :  काठमाडौं महानगरपालिकाले वडा नम्बर २१ यंगालमा  सामुदायिक सहरी स्वास्थ्य क्लिनिक सञ्चालनमा ल्याएको छ। वडा भवन नबनुन्जेल यंगाल क्लबको भवनमा क्लिनिक सञ्चालनमा ल्याइएको हो। 

आइतबार महानगर प्रमुख विद्यासुन्दर शाक्य र वडाध्यक्ष उदय चूडामणि बज्राचार्यले क्लिनिकको उद्घाटन गरेका हुन्। प्रमुख शाक्यले, स्वास्थ्य र शिक्षामा महानगरले लगानी बढाएको बताए।

उनले भने, ‘महानगरले सञ्चालन गरेका क्लिनिकमा सर्वसाधारणको आकर्षण बढाउन सकियो भने ठूला अस्पतालमा सामान्य समस्याका बिरामीको चाप घट्छ।’ 

प्रमुख शाक्यले सामुदायिक सहरी स्वास्थ्य क्लिनिकमा राम्रो सेवा दिएर आकर्षण बढाउँदै लैजानु पर्ने बताए। वडाध्यक्ष बज्राचार्यले जनताका लागि व्यवस्था गरेका सेवा वडाबाटै पाउने वातावरण तयार भएको उल्लेख गरे। 

अहिले महानगरका ३२ वटै वडामा सामुदायिक सहरी स्वास्थ्य क्लिनिक छन्। यस अतिरिक्त वडा नम्बर १२ र १४ मा थप १/१ वटा क्लिनिक छन्।

रामघाट प्राथमिक स्वास्थ्य केन्द्र सरकारले महानगरलाई नीतिगत रुपमा हस्तान्तरण गरिसकेको छ। 

यस्तै टेकुमा एउटा अकुपञ्चर सेवा पनि छ। महानगरले एक वडा एक सामुदायिक सहरी क्लिनिकको नीति बनाएर सबै वडामा क्लिनिक स्थापना गरेको हो।

पछिल्लो क्रममा वडा नम्बर २, ९, ११, २०, २१, २२ र ३० गरी ७ वटामा स्थापना गरिएको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.