|

स्पेनिस ला लिगाका चिर प्रतिद्वन्द्वी बार्सिलोना र रियल म्याड्रिडबीच सिजनको पहिलो भिडन्त भइरहेको छ। साँझ सवा ८ बजे बार्सिलोनाको घरेलु मैदान नोउ-क्याम्पमा खेल सुरु भएको हो। 

खेलको ३५औं मिनेटमा डाभिड अलाबाले गरेको गोलको सहायतामा रियल अहिले १-० गोलबाट अगाडि छ।

रियाल विरुद्ध बार्सा

बार्सिलोना र रियलबीच अहिलेसम्म २ सय ४६ खेल भइसकेका छन्। दुवै टीमबीच कडा भिडन्त हुने गरेको छ।

अहिलेसम्म रियलले ९८ खेलमा जित निकाल्दा बार्सिलोनाले ९६ खेलमा जित हासिल गरेको छ। ५२ खेल भने बराबरीमा टुंगिएका छन्।

गत संस्करणका दुवै भिडन्तमा रियल विजयी भएको थियो। यो पटक बार्सिलोना बदला लिन चाहन्छ।

नोउ-क्यापमा भएको पहिलो खेलमा ३-१ तथा अल्फ्रेडो डि-स्टेफानोमा भएको अर्को खेलमा २-१ ले गत सिजन रियलले बार्सिलोनालाई पराजित गरेको थियो।

विश्व क्लब फुटबलका सर्वाधिक सफल यी दुई क्लब सधैं आफूलाई अब्बल प्रमाणित गर्ने ध्याउन्नमा हुन्छन्।

जारी सिजनमा लिगको अंक तालिकामा रियल ५ जित,  २ बराबर र १ हारसहित १७ अंकका साथमा तेस्रो स्थानमा रहँदा १५ अंक जोडेर बार्सिलोना आठौं स्थानमा रहेको छ।

शीर्षमा रहेको रियल सोसिडाडको ९ खेलबाट २० अंक रहेको छ।

यस्तो छ एल-क्लासिकोको तथ्यांक

एल-क्लासिको भिडन्तमा रियलले ४ सय १० गोल गरेको छ भने बार्सिलोनाले ४ सय १ गोल गरेको छ।

रियल र बार्सिलोनाबीच अहिले भइरहेको खेल २ सय ४७औं आधिकारिक एल क्लासिको भिडन्त हो।

एल-क्लासिको भिडन्तमा यो पटक विश्वका उत्कृष्ट खेलाडी लियोनेल मेसी हुने छैनन्। कुनै समय विश्वप्रसिद्ध दुई स्टार मेसी र रोनाल्डोको भिडन्तका रुपमा रहने एल-क्लासिको अहिले भने यी दुवै खेलाडी छैनन्।

एल-क्लासिकोमा सबैभन्दा बढी खेल खेलेका बार्सिलोनाका पूर्वस्टार मेसी पहिलो पटक एल-क्लासिकोमा हुने छैनन्।

त्यस्तै रियलका अनुभवी र लामो समय प्रतिस्पर्धा गरेका डिफेन्डर रामोस पनि टीममा हुने छैनन्।

मेसी र रामोसले सर्वाधिक ४५ पटक एकअर्का विरुद्ध खेलेका छन्। गत सिजन दुवै खेलाडीलाई क्लबले अनुबन्ध नगरेपछि अहिले दुवै खेलाडी फ्रेन्च क्लब पिएसजीबाट व्यावसायिक फुटबल खेलिरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.