पर्वत : अनुसन्धानको क्रममा प्रहरी हिरासतमा रहेका व्यक्तिहरूको मुद्दा मिलाइदिने भनी पाँच लाख रुपैयाँ ठगी गर्न खोजेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीले दुई युवालाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा गोरखाको शहीद लखन गाउँपालिका–१ स्थायी घर भई पोखरा महानगरपालिका–५ का २९ वर्षीय चन्द्रबहादुर बल र वडा नं. २६ अर्घौचोक बस्ने ३१ वर्षीय जीवन गुरुङ छन्।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक शुवास हमालका अनुसार गत असोज १९ गते पोखरा महानगरपालिका–१९ लामाचौरबाट प्रहरीले जुवा खेलिरहेको अवस्थामा केही व्यक्तिहरूलाई नियन्त्रणमा लिएको थियो।
जुवा खेल्न वा सट्टाबाजी मुद्दामा अनुसन्धानमा रहेका प्रतिवादीहरूलाई बल र गुरुङले आफूहरूको सम्बन्ध प्रहरी, वकिल र अदालतका कर्मचारीसँग रहेकोले पाँच लाख रुपैयाँ दिएमा छुटाइदिने भनेर ठगी गर्न लागेको पाइएको डिएसपी हमालले बताए।
‘आफूहरूले प्रहरी, वकिल र अदालतका कर्मचारीहरूलाई चिनेकोले पाँच लाख रुपैयाँ दिएमा छुटाइदिन सक्ने भन्दै ठग्न लागेका रहेछन्,’ उनले भने, ‘जुवाको केसमा परेकाहरूको अनुसन्धान त चलिरहेकै छ, उनीहरूको विषयमा पनि थप अनुसन्धान भइरहेको छ।’
पक्राउ परेका दुवै जनालाई ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभसम्बन्धी कसुरमा कास्की जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।