|

सिन्धुपाल्चोक : ४० हजार रुपैयाँ लुट्न एक जनाको हत्या गरी शव मृतककै घर आँगनमा पुर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

मेलम्ची नगरपालिका–१० सिम्लेफाँटका नेत्रप्रसाद दाहालको हत्या गरी फरार रहेका काभ्रे खानीखोला–८ का कृष्ण मगर र सिन्धुपाल्चोक लिसंखुपाखर–७ का छिरिङ तामाङलाई प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतका अनुसार असोज १९ गते साँझदेखि हराएका दाहालको भोलिपल्ट घरकै आँगनमा बालुवामा पुरिएको अवस्थामा शव फेला परेको थियो।

घरको आँगनमा दुवै खुट्टाको औँला देखिने गरी खाल्डो खनेर बालुवाले पुरेको अवस्थामा ६३ वर्षीय दाहालको शव फेला परेको थियो। प्रहरीले काठमाडौंबाट विशेषज्ञसहित कुकुरको टोली झिकाएर अनुसन्धान गरेको थियो।

छिमेकीहरूले तीन दिन अघिदेखि मृतकको घरमा दुई जना अपरिचित पुरुष आउने जाने गरेको भन्ने सूचनाको आधारमा थप अनुसन्धान गर्दा उनीहरू पक्राउ परेको बस्नेतले बताए।

मृतक दाहालले प्रयोग गर्ने मोवाइल मृतकको साथमा नरहेको तर मोवाइल चालु नै रहेकोले मोवाइलको लोकेसनका आधारमा काभ्रेका मगर पक्राउ परेका थिए। मगरलाई सोही दिन साँझ ७ बजे नै मेलम्चीस्थित हेलम्बु बसपार्कबाट पक्राउ गरिएको थियो। मगर पक्राउ परेपछि उनकै बयानको आधारमा सिन्धुपाल्चोकका तामाङलाई काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ नारायणटारबाट असोज २८ गते पक्राउ गरिएको हो। 

४० हजार लुट्न हत्या

मृतक दाहाल र आरोपीहरूबीच दाहालको घर बनाउन ठेक्का लिने सहमति भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ। दाहालको घर भत्काएर नयाँ बनाउनु पर्ने भएकोले मृतकसँग ठेक्कामा लिने दिने र असोज २० गतेबाट काम सुरु गर्ने सहमति भएको थियो।

काम सुरु गर्न ४० हजार रुपैयाँ पेश्की दिनेसमेत मौखिक सहमति भएको खुल्न आएको प्रहरीको दाबी छ। सहमति भएपछि आरोपीहरूले दाहालसँग नगदै भएको ठानी सो रकम लुट्नको लागि हत्या गरेको हुनसक्ने प्रहरीले बताएको छ।

आरोपीहरूले असोज १९ गते राति नै दाहालको हत्या गरेको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ। मगरले कोदालोले दाहालको टाउकोमा प्रहार गरेको र मृत्यु भएपछि दुवैजना मिलेर मृतककै घरका आँगनमा खाल्डो खनेर पुरेको प्रहरीले जनाएको छ। उनीहरूलाई कर्तव्य ज्यान मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.