|

हेटौंडा : केही दिनअघिको बेमौसमी वर्षाले बागमती प्रदेशमा ५ सय ३० हेक्टरको ५ करोड रूपैयाँभन्दा बढिको धानबालीमा क्षति पुगेको छ।

बागमती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले संकलन गरेको विवरणअनुसार प्रदेशको उपत्यका बाहेकका १० जिल्लामा ५ करोड ८१ लाख २७ हजार ३ सय ३ रूपैयाँ बराबरको धानबालीमा क्षति पुगेको हो।

मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारीका अनुसार प्रदेशको १० जिल्लाको ५ सय ३० हेक्टरमा लगाइएको अनुमानित २ हजार ६८ मेट्रिकटन धानमा बेमौसमी वर्षाले गर्दा क्षति पुगेको छ।

अधिकारीले वर्षाबाट सबैभन्दा धेरै चितवनको २ सय ९६ दशमलव ९ हेक्टरमा लगाइएको अनुमानित १ हजार १ सय ५७ दशमलव ९१ मेट्रिकटन धानमा क्षति पुगेको छ।

चितवनमा करिब ३ करोड २५ लाख ३७ हजार २ सय ७१ रूपैयाँ बराबरको धान वर्षाले नष्ट भएको अधिकारीले बताए।

त्यसैगरी, मकवानपुरको ८० हेक्टरमा लगाइएको ८७ लाख ६७ हजार २ सय रूपैयाँ बराबरको ३ सय १२ मेट्रिकटन धानमा क्षति पुगेको छ।

धादिङको ७४ दशमलव ८ हेक्टरको ८१ लाख ९७ हजार ३ सय ३२ रूपैयाँ बराबरको २ सय ९१ दशमलव ७२ मेट्रिकटन धानमा क्षति पुगेको छ।

अधिकारीका अनुसार सिन्धुलीको ३३ दशमलव ३ हेक्टरको ३६ लाख ४९ हजार ३ सय ४७ रूपैयाँको १ सय २९ मेट्रिकटन, नुवाकोटको २९ दशमलव ६५ हेक्टरको ३२ लाख ४९ हजार ३ सय ४३ रूपैयाँ बराबरको १ सय १५ दशमलव ६५३ मेट्रिकटन धानमा क्षति पुगेको छ।

उनले काभ्रे र सिन्धुपाल्चोकमा ३ हेक्टरको अनुमानित ३ लाख २८ हजार ७ सय ७० रूपैयाँ बराबरको ११ दशमलव ७ मेट्रिकटन धानमा क्षति पुगेको बताए।

त्यस्तै रामेछापमा ५ दशमलव ०५७ हेक्टरको १९ दशमलव ७२२३ मेट्रिकटन धानमा क्षति पुग्दा ५ लाख ५४ हजार १ सय ९६ रूपैयाँ र दोलखाको ३ दशमलव ७ हेक्टरको १४ दशमलव ४३ मेट्रिकटन धानमा क्षति पुग्दा ४ लाख ५ हजार ४ सय ८३ रूपैयाँको नोक्सान भएको छ।

उनका अनुसार प्रदेशको उत्पादकत्व ३ दशमलव ९ रहेको र औसत मूल्य प्रतिकेजी २८ दशमलव १० रहेको बताए। 

अधिकारीले प्रदेशको काठमाडौं, भक्तपुर र ललितपुरमा भने बेमौसमी वर्षाले क्षति नपुर्‍याएको बताए।

उनले तत्काल प्रदेशमा वर्षाले पुर्‍याएको क्षतिको विवरण संकलन गरिएको भए पनि क्षति पुगेको किसानलाई के कस्तो राहत दिने भन्ने विषयमा हालसम्म निर्णय भने नभएको बताए।

उनले मन्त्रालयका सचिव शरणकुमार पाण्डेको अध्यक्षतामा ‘र्‍यापिड रेस्पोन्स टिम’ गठन गरी तत्काल बालीमा पुगेको क्षतिको विवरण संकलन गरेको भएपनि वर्षाले गर्दा क्षति बेहोरेका किसानलाई दिने क्षतिपूर्तिबारे निर्णय भइनसकेको बताए।

अधिकारीले कृषकलाई क्षतिपूर्ति दिनेबारे मन्त्रालयमा छलफल भइरहेको र छिट्टै यस विषयमा निर्णय हुने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.