|
झापामा आफ्नो निर्वाचन क्षेत्रका बाटोघाटो निरीक्षण गर्दै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली। तस्वीर : पार्थ मण्डल

झापा : नेकपा केपी शर्मा ओली सोमबार दिनभरि नै आफ्नो निर्वाचन क्षेत्रमा व्यस्त रहे।

गृहजिल्ला भ्रमणमा आइतबार आएका एमाले अध्यक्ष ओली झापा निर्वाचन क्षेत्र ५ मा उद्घाटन, शुभकामना आदानप्रदान, सडक तथा पुल निरीक्षणमा व्यस्त भएका हुन्।

पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले गौरादह नगरपालिका–५ स्थित नमुना एकीकृत कृषि सहकारीले निर्माण गरेको वातानुकूलित नमुना घरबास (होमस्टे), कोसेलीघर र ज्येष्ठ नागरिक मिलन केन्द्रको संयुक्त उद्घाटन गरे।

उनको निर्वाचन क्षेत्रमा कृषि पर्यटन प्रवर्द्धनका लागि निर्माण भएको यो पहिलो ‘कृषि होमस्टे’ पनि हो। उद्घाटनमा उनले देश बनाउने काममा आफू लागि परेको दाबी गरे।

‘म सरकारमा रहेको बेला देश विकाससँगै सुशासन ल्याउने, बाटोघाटो, पुल, विद्यालय, अस्पताल बनाउने काम गरें,’ उनले भने, ‘अब हामी हरेकले सामाजिक अभियन्ता भएर अघि बढे मात्र देश बन्छ, देश बनाउनु पर्छ।’

अहिले पनि ओलीले सरकार टिकाउन अध्यादेशमार्फत नागरिकता ऐन संशोधन गरेको हो आरोप आफूलाई लगाउने गरेको उनको भनाइ थियो।

'आमाबाट जन्मेका र बाबुको कुनै पहिचान नखुलेकाले पनि वंशजका आधारमा नागरिकता पाउने व्यवस्था संविधानले गरेको छ,' उनले भने, 'त्यही संविधानलाई टेकेर नेपाली नागरिकका छोराछोरीलाई नागरिकता दिन खोजेका थियौँ।’

कृषि सहकारीले १ करोड २० लाखको लागतमा नमुना होमस्टे बनाएर सञ्चालन गरेको सहकारीका अध्यक्ष वेदनिधि चापागाईँले बताए।

कृषि र पर्यटनलाई लक्ष्य गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आर्थिक सहयोगमा १२ कट्ठा जमिनमा निर्माण भएको होमस्टे आकर्षक र सुन्दर रहेको उनको भनाई छ।

होमस्टेमा ८ वटा सुविधासम्पन्न सुत्ने कोठा र एउटा ८० जना अट्ने तालिम कक्ष छ। २०७० सालमा महारानी झोडा साना किसानले प्रवर्द्धन गरेको सहकारीले नाफा कमाउनेभन्दा पनि सेवा गर्न होमस्टे बनाएको जनाइएको छ।

३ वर्षअघि सरकारले मुलुकभर तोकेका सय पर्यटकीय गन्तव्यमध्ये एउटामा कृषि गन्तव्यका रुपमा सूचीकृत सहकारीलाई होमस्टे निर्माण गर्न मन्त्रालयले सो रकम विनियोजन गरेको उनले बताए।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले गत आवमा ७० लाख रूपैयाँ विनियोजन गरेको बजेटमा सहकारीले होमस्टेसँगै ज्येष्ठ नागरिक मिलन केन्द्र र चौतारीसमेत बनाएको थियो।

अध्यक्ष ओलीले गौरीगञ्ज बजारमा आयोजित शुभकामना आदानप्रदानमा समेत सम्बोधन गरेका थिए। त्यसैगरी उनले आफ्नो निर्वाचन क्षेत्रमा पुल र सडकको पनि निरीक्षण गरेका थिए। उनी साँझ विराटनगर गए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.