प्रदेश १ मा करिब ५० हजार हेक्टर पाकेको धानबालीमा क्षति

|
प्रदेश १ मा लगातारको वर्षाले क्षति गरेको धान। तस्वीर : सुजता लिम्बू

विराटनगर : ‘वर्षभरि खाने धान सबै पानीले सखाप बनायो,’ मोरङ कटहरी–४ का महाविर सिंहले खेततिर आँखा डुलाउँदै सुनाए।

केही दिन अगाडि लगातार आएको बेमौसमी वर्षाका कारण उनको खेत डुबानमा पर्‍यो। काटेर खेतमा राखेको धान भिजेर उम्रन थाल्यो।

काट्न बाँकी धान बालुवामा नै मिसिएको सिंहले सुनाए। उनले १६ कठ्ठामा धान लगाएका थिए। उनको धान खेती परिवारको भोक मेटाउने आधार थियो भने तरकारी खेती आयस्रोतको बाटो, त्यो पनि बाढीले बगाएको उनले गुनासो पोखे।

‘सबै सखाप भयो, के गर्ने के नगर्ने अलमलमा छु,' उनले भने, ‘खेतीबाट आएको धानले वर्षभरिलाई पुग्थ्यो, तरकारी खेतीले घर चल्थ्यो त्यो पनि बाढीले लग्यो।’

जमेको पानी सुकेर घाम लागेपछि खेत पुगेका जहदा गाउँपालिका–४ का राम सिंहलाई बाढीले अन्नबाली बगाएपछि कसरी परिवारको गुजारा चलाउने भन्ने चिन्ता छ।

खेतमा काटेर राखिएको धान बाढीले बगाउँदा र बचेको धान डुबानमा पर्दा धेरै नोक्सान भएको उनले सुनाए।

उनले एक बिगाहामा धान र साढे २ बिगाहामा तरकारी खेती गरेका थिए। एक बिगाहाको धान र साढे दुई बिगाहाको तरकारी लोहन्द्रा खोलाको बाढीले सखाप पारिदिएको उनले सुनाए।

उनले भने, ‘बाढीले सबै सखाप बनायो, अब वर्षभरि के खाने ? चिन्तामा छौँ।’

पाकेर भित्र्याउन लागेको धान र एक महिनाअघि मात्र लगाएको तरकारी लोहन्द्रा खोलाको बाढीले भित्र्याउन नमिल्ने गरी नष्ट भएको कृषक कोपिन्द्र सिंहले बताए।

गत वर्षको तुलनामा यस वर्ष धेरै धान उत्पादन हुने उनको अपेक्षा थियो। लगातार आएको बाढीले सालभरि खाने अन्न नै सखाप बनाएको गुनासो उनले पोखे।

उनले भने, ‘एकै रातमा आएको बाढीले पाकेको धान र भर्खर लगाएको तरकारी स्वाहा हुँदा मन पोल्ने रहेछ।’ हालसम्म सरकारी निकायको कुनै पनि टोली क्षतिको विवरण संकलन गर्न नआएको उनीहरूको गुनासो थियो।

धान र तरकारीबाट आउने मुनाफासहित जोड्दा २० लाखभन्दा बढी बेमौसमी वर्षाका कारण आएको बाढीले क्षति भएको कृषकहरु बताउँछन्।

प्रदेशमा करिब ५० हजार हेक्टरको धान क्षति

१४ जिल्ला रहेको प्रदेश १ मा ३ लाख ४० हजार ८ सय हेक्टरमध्ये ३ लाख ३६ हजार हेक्टरमा धान रोपाइ भएको थियो।

त्यसमध्ये प्रारम्भिक रुपमा ५० हजार हेक्टर अर्थात करिब १५ प्रतिशत धान पानी र हावाहुरीले क्षति गरेको प्रदेश १ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता राजेन्द्र उप्रेतीले जानकारी दिए।

१ हजार ५ सय हेक्टरको पाकेको धान हावाहुरीले पानीमा लडाउँदा काम नलाग्ने गरि पूर्ण क्षति भएको उनले बताए। प्रदेश १ मा किसानले रन्जित, सानो मन्सुलीलगायत धान लगाएका छन्।

‘अहिलेको यो प्रारम्भिक तथ्यांक हो,’ उनले भने, ‘क्षतिको विवरण अझै बढ्न सक्छ।' उनले तथ्यांक आउने क्रममा रहेको बताए।

कहाँ कति क्षति भयो ?

अन्नको भण्डारको रूपमा रहेको झापा, मोरङ र सुनसरीमा सबैभन्दा बढी पाकेको धानमा हावाहुरी र वर्षाले क्षति गरेको छ।

कृषि तथा सहकारी मन्त्रालयको तथ्यांकअनुसार मोरङमा यो वर्ष ८३ हजार ३ सय हेक्टरमा धान रोपिएको थियो। त्यसमध्ये १२ प्रतिशत अर्थात ९ हजार ८ सय ९६ हेक्टरको धानमा क्षति पुगेको छ।

सुनसरीमा ५३ हजार हेक्टरमध्ये ९ हजार ७ सय हेक्टर र झापामा ८७ हजार ५ सय हेक्टरमध्ये १३ हजार १ सय २५ हेक्टरको धान हावाहुरी र बाढीले क्षति पुर्‍याएको छ।

प्रदेश १ का अन्य जिल्ला ताप्लेजुङमा ८ हजार ७ सय ३७, संखुवासभामा १३ हजार ८ सय ५१, सोलुखम्बूमा १ हजार ५ सय २५, पाँचथरमा ९ हजार २ सय, इलाममा १४ हजार ८ सय १५, भोजपुरमा १८ हजार, तेह्रथुममा १० हजार १ सय ७५, धनकुटामा ७ हजार ९ सय ५०, उदयपुरमा १३ हजार ३ सय, ओखलढुंगामा ४ हजार ४ सय र खोटाङमा १२ हजार ८ सय ९३ हेक्टरमा बर्खे धान लगाइएको छ।

यस्तो छ विज्ञको भनाइ 

केही दिनयताको बेमौसमी वर्षाले कृषिमा निम्त्याएको समस्याले खाद्यान्नमा मात्रै नभएर आर्थिक क्षेत्रमा पनि असर पर्ने राष्ट्रिय धान बाली अनुसन्धानका संयोजक वरिष्ठ वैज्ञानिक भानुभक्त पोखरेल बताउँछन्।

उनका अनुसार २ वर्षअघि २८ अर्बको धान र धानको कनिकालगायत भित्रिएको थियो भने गत साल ४८ अर्ब अर्थात २० अर्ब बढीको धान र कनिका भित्रिएको थियो।

‘यो वर्ष प्रारम्भिक अनुमान लगाउँदा ८ देखि ९ अर्बको खाद्यान्न भित्रिएको छ। तर यसपालि  करिब ६० अर्बको हाराहारीमा खाद्यान्न भित्रिने लक्षण देखिएको छ,’ उनले भने, ‘यसले खाद्यान्नमा मात्रै नभएर आर्थिक क्षेत्रमा पनि असर परेको छ।’

उनले खेतमा ढलेको धान काट्ने बेला नभएको र त्यसलाई ४/५ बोटलाई एकै ठाउँ बाँधेर सीधा बनाएर राख्न सकिने सुझाव दिएका छन्।

खेतमा पानी जमेको छ भने कटाउने र काटिसकेको धान छ भने आलीमा राख्ने उनको सुझाव छ। ‘उम्रिसकेको धानलाई खाद्यान्नमा प्रयोग गर्न नसकिए पनि धेरै सडेको छैन भने पशुपक्षीको दानामा प्रयोग गर्न सकिन्छ,’ उनले भने, ‘पराल सडेको छैन भने त्यसलाई सुकाएर कागज उद्योगमा कागज बनाउन प्रयोगमा आउँछ।’

कृषि अनुसन्धान परिषद र मन्त्रालयबाट स्थानीय प्रदेश मन्त्रालय मातहतको कृषिमा कार्यरत कार्मचारीलाई  स्थलगत निरीक्षणका लागि पठाउने तयारीसमेत रहेको उनले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.