|

काठमाडौं : अफगानिस्तानले यूएईमा जारी आईसीसी टी–२० विश्वकपमा शानदार सुरुवात गरेको छ। 

सुपर १२ अन्तर्गत आफ्नो पहिलो खेलमा स्कटल्याण्डविरुद्ध अफगानिस्तान १ सय ३० रनले विजयी भएको हो। शारजाहमा अफगानिस्तानले दिएको १ सय ९१ रनको लक्ष्य पछ्याएको स्कटल्याण्डले १०।२ ओभरमा सबै विकेट गुमाउँदै ६० रन मात्र बनाउन सक्यो।

उसका लागि जर्ज मुन्सेले २५, क्रिस ग्रीभ्सले १२ र कप्तान काइल कोएट्जरले १० रन बनाए। बाँकी ब्याट्सम्यानले दोहोरो अंकमा समेत रन बनाउन सकेनन्।

अफगानिस्तानका लागि मुजीब उर रहमान र राशिद खानले घातक बलिङ गरे। रहमानले ४ ओभरमा मात्र २० रन खर्चिएर ५ विकेट लिए।

यससँगै उनी टी–२० विश्वकपमा अफगानिस्तानका लागि एकै खेलमा पाँच विकेट लिने पहिलो खेलाडी बनेका छन्। यो उनको टी–२० विश्वकप डेब्यू म्याचसमेत हो। यस्तै,राशिदले २.२ ओभरमा ९ रन दिएर ४ विकेट लिँदा नवीन उल हकको नाममा एक विकेट रह्यो।

यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ४ विकेट गुमाएरन १ सय ९० रन बनाएको थियो।

उसका लागि नजिबुल्लाह जद्रान र रहमानउल्लाह गुर्बाजले शानदार ब्याटिङ गरे। जद्रानले ३३ बलमा ५ चौका र ३ छक्काको मद्दतमा ५९ रन बनाउँदा गुर्बाजले ३७ बलमा ४ छक्का र १ चौकासहित ४६ रनको योगदान दिए।

यस्तै, मोहम्मद शहजादले २२, हजरतुल्लाह जाजाईले ४४ र कप्तान मोहम्मद नाबीले नटआउट ११ रन जोडे।

बलिङमा सफायान सरिफले २ तथा जोश डेभी र मार्क वाटले १–१ विकेट लिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.