एमाले स्थानीय तह अधिवेशन

|

धनकुटा : एमाले धनकुटाका ७ वटै स्थानीय तहमा अधिवेशन सुरु हुन लागेको छ।

पार्टी अध्यक्ष ओलीले उद्घाटन गरेपछि औपचारिक रूपमा सुरु हुने भए पनि कार्यक्रम सबै स्थानीय तहमा कार्यक्रम सुरु भएको एमाले धनकुटा प्रचार विभाग प्रमुख भेषराज कट्टेलले जानकारी दिए।

उनले गत आइतबार धनकुटाका ६० वटै वडामा सर्वसम्मत नेतृत्व चयन भएको र स्थानीय तहको नेतृत्व पनि सर्वसम्मत चयन हुने दावी गरे।

दशौँ राष्ट्रिय महाधिवेशनको तयारीमा नेकपा एमालेले मंगलबार देशभरका सबै स्थानीय तहको अधिवेशन गर्दै छ। स्थानीय तहको अधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार दिउँसो एक बजे माइतीघरस्थित पार्टी केन्द्रीय कार्यालयबाट भर्चुअल माध्यमबाट उद्घाटन गर्ने भएका छन्।

एमालेको विधानअनुसार गाउँपालिका तथा नगरपालिकामा बढीमा ७५ सदस्य, उपमहानगरपालिकामा ८५ सदस्य र महानगरपालिकामा १ सय १ सदस्यीय पार्टी कमिटी गठन हुनेछ।

सो कमिटीमा अध्यक्ष, उपाध्यक्ष, सचिव तथा उपसचिव १–१ जना निर्वाचित हुनेछन्। कमिटीमा ३३ प्रतिशत महिला हुनुपर्ने व्यवस्था रहेको छ।

एमालेले आगामी मंसिर १० देखि १२ सम्म चितवनमा दसौं राष्ट्रिय महाधिवेशनको तयारी गरेको छ। चितवनको स्थानीय कमिटीले भने नारायणी नदीको किनारामा महाधिवेशनको उद्घाटन र पर्यटकीय क्षेत्र सौराहामा बन्द सत्र गर्ने प्रस्ताव केन्द्रमा पठाएको बताइएको छ।

स्थानीय तहको अधिवेशन भने कात्तिक मसान्तसम्ममा सम्पन्न गर्ने तयारी गरिएको बताइएको छ।

तेह्रथुमका सबै स्थानीय तहमा स्थगित

एमाले तेह्रथुमका ६ वटै स्थानीय तहमा मंगलबार अधिवेशन नहुने भएको छ। बाढीपहिरोले सडक अवरुद्ध हुँदा जिल्लाका सबै वडामा अधिवेशन सम्पन्न नभएकाले तेह्रथुममा स्थानीय तहको अधिवेशन नहुने भएको जिल्ला सचिव शिव ढुङ्गानाले जानकारी दिए।

उनले जिल्लामा कुनै विवाद नरहेको र अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन हुने जानकारी दिए। जिल्लाको ४३ मध्ये २० वटा वडामा मात्रै वडा अधिवेशन सम्पन्न भएको र बाँकी वडामा अधिवेशन सम्पन्न भएपछि मात्रै स्थानीय तहको अधिवेशन हुने जिल्ला कमिटी सदस्य तथा कार्यालय सदस्य प्रेमराज फोम्बोले जानकारी दिए।

जिल्लाका ६ वटा स्थानीय तहमध्ये म्याङलुङ नगरपालिकामा ८, छथर गाउँपालिकामा १, लालीगुराँस नगरपालिकामा १, फेदाप गाउँपालिकामा २, मेन्छ्यायेम गाउँपालिकामा ६ र आठराई गाउँपालिकामा २  वटा वडामा अधिवेशन सम्पन्न छ। यही १३ गते सबै वडाको अधिवेशन सम्पन्न गर्ने तयारी भएको जनाइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.