|

काठमाडौं : कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ।

प्रधानन्यायाधीश जबराले राजीनामा नदिए देशभर आन्दोलन चर्काउने चेतावनी पनि केन्द्रीय समितिको बैठकपछि एशोसिएसनले दिएको छ।

विवादमा परेका जबराले राजीनामा दिइ मार्ग प्रशस्त नगरे देशभर आन्दोलन चर्काउने चेतावनी दिएको हो।

सल्लाहकार समितिको बैठकको सुझाव समेतका आधारमा बारको आज बसेको बैठकले जबरालाई पदत्याग गर्न आह्वान गर्ने निर्णय गरेको छ।

बैठकपछि एसोसिएसनका महासचिव अधिवक्ता लीलामणि पौडेलद्वारा जारी विज्ञप्तिमा जबराले राजीनामा नदिए देशभरका बार इकाईमार्फत आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी दिइएको छ।

विज्ञप्तिमा उल्लेख छ, ‘प्रधानन्यायाधीश निरन्तर रूपमा एकपछि अर्को विवादमा तानिनु भएको र त्यस्तो विवादले समग्र न्यायपालिकाको प्रतिष्ठा र गरिमामा गम्भीर आँच आई स्वतन्त्र न्यायपालिकाप्रति नै गम्भीर प्रश्न उठेकाले अब उप्रान्त उहाँबाट संवैधानिक दायित्व पूरा हुन नसक्ने र यस विषम र विकराल परिस्थितिलाई समाधान गरी सबैको विश्वास जितेर समस्या समाधान गर्न असफल र असक्षम भइसक्नु भएकाले वर्तमान गतिरोधको अन्त्य गरी सहज निकास दिन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले अविलम्ब राजीनामा दिई मार्ग प्रशस्त गर्नु नै उपयुक्त हुन्छ।’

बारले न्यायपालिकाको नेतृत्वमा रहेको व्यक्तिलाई कार्यपालिकामा भाग दिन र न्यायाधीशहरूलाई मानपदवी दिई न्यायपालिकाको स्वतन्त्रता र निष्पक्षतामा प्रभाव पार्न खोज्ने सरकार र राजनीतिक दलहरूको कार्यप्रति घोर आपत्ति जनाएको छ।

एशोसिएसन केन्द्रीय समितिको बैठक बसेर नेपाल बार एशोसिएसनको सल्लाहकार समितिका पदाधिकारीसँग छलफल गरेको थियो।

सल्लाहकार समितिका पदाधिकारीले पनि प्रधानन्यायाधीश जबरासँग राजीनामा माग्नु पर्ने, राजीनामा नदिए आन्दोलनमा जानुपर्ने सल्लाह दिएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.