|
टास–२ सर्भेबारे जानकारी दिन गरिएको अभिमुखीकरण। तस्वीर : प्रकाश पार्की

डडेल्धुरा : हात्तीपाइले रोग निवारणका लागि सुदूरपश्चिम प्रदेशका डडेल्धुरा र डोटीमा प्रसारण मूल्याकंन सर्वेक्षण (टास–२) गरिने भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडा, मकवानपुरले आउँदो मंसिरमा टास–२ सर्वेक्षण गर्न लागेका हो।

यसअघि डडेल्धुरा र डोटीमा प्रि–टास र टास–१ सफल भइसकेको छ। डडेल्धुरा सदरमुकाममा बुधबार आयोजित ‘राष्ट्रिय हात्तीपाइले रोग निवारणसम्बन्धी टास–२ सर्भेको जिल्लास्तरीय अभिमुखीकरण गोष्ठीमा सो जानकारी गराइएको हो।

टास–२ सर्वेक्षण सकिएको दुई वर्षपछि फेरि टास–३ भनेर अध्ययन हुनेछ।

यस्ता छन् सर्वेक्षण गर्नुपर्ने कारण

तीनै सर्वेक्षणमा सफल भएपछि मात्रै यहाँ हात्तीपाइले निवारण भएको मानिने कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रका जुनियर इन्टोमोलोजिष्ट दिपक शाहले जानकारी दिए।

उनका अनुसार छनोट भएका डडेल्धुरा र डोटीका ४७ विद्यालयमा टास–२ सर्वेक्षण गरिनेछ। जसमा डडेल्धुराका १९ र डोटीका २८ विद्यालय छन्।

विद्यालयका कक्षा १ र २ का बालबालिकामा यो सर्वेक्षण गरिने छ। 

कक्षा १ र २ का छात्रछात्राहरू हात्तीपाइलेको औषधिसेवन गरेका महिलाका सन्तान भएकाले उनीहरूमा यो सर्वेक्षण गरिने इन्टोमोलोजिष्ट शाहले बताए।

‘कक्षा १ र २ का छात्रछात्राहरू अधिकतम ६ र ७ वर्षका भएकोले यो नयाँ संक्रमण जाँच्ने उपयुक्त उमेर समूह हो। त्यसैले उनीहरूमा यो सर्वेक्षण गर्न लागेका हौं,’ उनले भने। सुदूरपश्चिममा सन् २०१३ बाट हात्तीपाइले रोग निवारण अभियान सुरु भएको थियो।

सर्वेक्षण गरिएको भौगौलिक क्षेत्रमा नयाँ संक्रमण छ कि छैन यकिन गर्न, हात्तीपाइले रोग निवारण, औषधिसेवन अभियानको प्रभावकारिता मापन गर्ने र विगतमा गरिएका सर्भेका नतिजासँग तुलना गर्न पनि टास–२ सर्वेक्षण गर्न लागिएको उनले बताए।

‘औषधिसेवनपश्चात गरिने अन्य सर्वेक्षणका लागि आधारस्तम्भ तथा निवारणका लागि सहयोगी हुने अपेक्षा गरेका छौं,’ उनले भने, 'विगतमा गरिएका सर्वेक्षणको प्रगतिसँग तुलना गर्नुका साथै रोग फर्केको छ छैन मापन गर्न पनि यो सर्वेक्षण गर्न लागेका हौं।’

उनका अनुसार छनोटमा परेका विद्यालयका ६ र ७ वर्षका बालबालिकामा हात्तीपाइले भए/नभएको यकिन गर्न पनि टास–२ सर्वेक्षण गरिँदैछ।

डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले सर्वेक्षणमा सबैलाई आ–आफ्नो काम जिम्मेवारीपूर्वक गर्न आग्रह गरेका छन्।

यसरी गरिनेछ टास–२ सर्वेक्षण

छनोट भएका डडेल्धुरा र डोटीका प्रत्येक स्थानीय तहका विद्यालयमा अध्ययनरत १ हजार ५ सय ५६ विद्यार्थीको नमुना परीक्षण गरिनेछ।

विद्यार्थीको रगतको नमुना संकलन गरिनेछ। नमूना जाँचमा पोजेटिभ विद्यार्थीको संख्या १८ वा त्यसभन्दा थोरै भए टास सफल मानिने र माथिल्लो तहको टास गर्न वा रोग निवारणका अन्य गतिविधि सञ्चालन गरिने बताइएको छ।

रगतको नमुना जाँचमा पोजेटिभ विद्यार्थीको संख्या १८ भन्दा बढी भए टास असफल मानिने र यसपछि के गर्ने भनेर विज्ञहरूको सुझाव लिइने जुनियर इन्टोमोलोजिष्ट शाहले बताए। 

छनोटमा परेका स्कुलका कक्षा १ र २ मा अध्ययनरत विद्यार्थीका रगतको नमुना विद्यालयमा नै जाँच्ने र परिणाम १० मिनेटमा आउने उनले बताए।

नमुना पोजिटिभ देखिएका विद्यार्थीलाई तत्काल उपचारका लागि स्वास्थ्य कार्यालयमा तथ्याङ्क उपलब्ध गराई उपचारको व्यवस्था मिलाउने पनि उनले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.