|
जर्मनीमा नाटक मञ्चन गर्दै कलाकार। तस्वीर : केदार पौडेल

काठमाडौं :  समाजमा हामीले ख्याल नगरेका कतिपय यस्ता स–साना कुरा छन्, जसले हाम्रो जिन्दगीलाई प्रत्यक्ष प्रभावित गरिदिने सामर्थ्य राख्छन्।

मानवीय समाजका आफ्नै राम्रा र नराम्रा दुवै पाटा छन्। यसका अलावा यही समाजमा अनेकौं आवरणमा केही यस्ता अन्धविश्वासले जरा गाडेका छन्, जसले हाम्रा सुख र खुसी हामीबाट खोसेर लिलाम गरिरहेका छन्।

यस्ता अन्धविश्वास कुनै बोक्सीको आवरणमा त कुनै छाउको र कुनै अर्को लागोभागो वा झारफूकका नाममा समाजलाई दुःखमा पिल्स्याउने भुंग्रो बनेका छन्। तिनै रुढीवादी कुपरम्परालाई लोकशैलीमा केदारनाथ पौडेलले नाटकको स्वरूपमा 'घेरो' तयार पारेका छन्।

बालन शैलीमा प्रस्तुत 'घेरो' लोकनाटकका रुपमा आएको छ भन्नु अन्यथा हुँदैन। यस्तो शैलीका खासै धेरै नाटक नेपालमा नभएको उनी सुनाउँछन्।

नाटक 'घेरो'

माइती/ससुरालीबाट फर्केको एउटा दम्पती घर पुगेर दैलो खोल्नासाथ भित्र चामलको एउटा घेरो देख्छ। हो, त्यही घेरोबाट नाटक आरम्भ हुन्छ र यसकै वरिपरि घुम्छ। 

त्यो चामलको घेरोले समाजमा व्याप्त पछौटे रुढि, कुसंस्कार र अन्धविश्वासको प्रतिनिधित्व गरेको छ। 

'हाम्रो समाजमा आज पनि यस्ता पछौटे रुढिवादी परम्परा छन्। अब तिनको अन्त्य हुन जरुरी छ। समाजमा हुने तिनै सामान्य घटनाले पनि कसरी रुढिवाद पछ्याउँछ भन्ने कथावस्तु नै घेरोमा उतारिएको थियो', लेखक पौडेल भन्छन्, 'देख्दा साना लागे पनि रुढिवादी परम्पराका कारण समाजमा हुने घटनाले ठूलो महत्व राख्छन्। कुरीति र अन्धविश्वासमा समाज कसरी अल्झिएको छ भनेर नाटकमा देखाउन खोजिएको हो।’

'घेरो' भूतप्रेतको नाममा धामीझाँक्रीले सर्वसाधारणलाई ठग्ने, झुक्याउने र गाउँलेलाई डरत्रासमा झुलाइरहने समाजको कथा हो। सामाजिक यथार्थ उनिएको नाटकलाई भजनशैलीका गीत र नृत्यमार्फत रोचक बनाइएको छ।

निर्देशक कपिल शर्माले अन्यत्रका (नेपाली समाजभन्दा बाहिरका) कथावस्तु समेटेर लेखिएका नाटक दर्शकले धेरै रुचाउने गरेको बताए।

'यसबाट गर्दा हाम्रा समाजको वास्तविकता जहिले पनि ओझेलमा परिरहेका बेला हामीले हाम्रै समाजिक धरातल, वास्तविकता र परम्परा दर्शकमाझ ल्याउने कोशिस गरेका छौं,' उनले भने।

जर्मनीमा नाटक मञ्चन गर्नुअघि कलाकार

कहाँ कहाँ भए नाटक मञ्चन

सन् २०१८ नोभेम्बर २९-डिसेम्बर १४ पोखराको पोखरा थिएटरबाट मञ्चन सुरु भएको नाटक 'घेरो' विभिन्न अन्तरराष्ट्रिय मञ्चसम्म प्रदर्शन भइसकेको छ। 

पोखरा अन्तरराष्ट्रिय नाटक महोत्सवमा सन् २०१९ को फेब्रुअरी २७-मार्च ६, त्यही वर्ष रारा राष्ट्रिय नाटक महोत्सवमा मार्च ७-१३ प्रदर्शन भएको थियो। 

यसैगरी जर्मनीमा आयोजित सन् २०१९ जुलाई ४-७ मा XIII इन्टरनेशनल फकलोर फेस्टिवलमा, भारतीय सहर कलकत्तामा भएको इन्टरनेशनल थिएटर फेस्टिवलमा सन् २०२१ सेप्टेम्बर ७-२१ र दक्षिण कोरियामा सन् २०२१ अक्टोबर १४-१७ मा भएको एसिया प्लेराइट फेस्टिवलमा समेत सहभागिता जनाइसकेको छ।

इजिप्टमा आगामी फ्रेबुअरी २३ देखि २८ मा हुने द इन्टरनेशनल थिएटर फेस्टिभल फर साउदर्न युथमा पनि 'घेरो' मञ्चन हुँदैछ।

युथ क्रिएशनबाट इन्द्रेणी थिएटरसम्म यात्रा

पहिले युथ क्रिएशन थिएटरको ब्यानरमा प्रदर्शित 'घेरो' पछिल्लो समय इन्द्रेणी थिएटरमार्फत देश विदेशका थिएटरमा पुगिरहेको छ। किन त?

'युथ क्रिएशन थिएटर संस्थाका रुपमा दर्ता छ। इन्द्रेणी थिएटर भने कम्पनीका रुपमा दर्ता छ। कलाकारले सधैँ खल्तीबाट खर्च गरेरमात्र नाटक गर्न सक्दैनन्। हामी कम्पनीमा जोडिनुको मुख्य कारण टिकट बिक्री गरेर नाटक देखाउनुपर्ने र सरकारलाई कर तिर्नुपर्ने भएकाले हो। सबै कलाकारलाई व्यावसायिक रुपमा अगाडि बढाउन र नाटक कर्म थप व्यवस्थित बनाउन कम्पनी बनाएका हौं', इन्द्रेणीको अध्यक्षसमेत रहेका लेखक पौडेल भने।

उनले नाटकको टिकट सो गर्नका लागि कम्पनी दर्ता गर्नुपरेको बताए। उनले भने, 'हामी जिल्ला प्रशासनमा पनि गएका थियौं। त्यहाँ टिकट बिक्री गरेर नाटक मञ्चन गर्ने भए कम्पनी स्थापना गर्नुपर्छ भन्नुभयो। कलाकारलाई पारिश्रमिक दिन, व्यवस्थापन गर्न सहज हुने भएकाले हामीले इन्द्रेणी खोलेका हौं।'

पछिल्लो समय घेरोका कलाकारलाई इन्द्रेणीले नै व्यवस्थापन गरिरहेको छ।

सर्वनाममा नाटक मञ्चन गर्ने तयारी गर्दै 

'हाम्रो उपलब्धि सामूहिक मिहिनेतको प्रतिफल हो'

नाटक नेपाली, अंग्रेजी,  कोरियाली र अरेबियाली भाषामा अनुवाद भइसकेको छ। कोरियामा यो नाटकको पुस्तक प्रकाशन भइसकेको पौडेल सुनाउँछन्।

यो उपलब्धि कुनै एक व्यक्तिको मात्र नभएर  सामूहिक प्रयासको प्रतिफल रहेको पौडेलको बुझाई छ।

'घेरोको अन्तरराष्ट्रिय सफलतामा रंगकर्मी सरोज अर्यालको मिहिनेत भुल्न सकिँदैन। उहाँले नाटक लेखन तथा वर्कसपमा हामीलाई पूरा साथ दिनुभएको थियो,' पौडेलले भने, 'उहाँले नाटक लेखनदेखि अभिनयसम्म हामीलाई सल्लाह र सुझाव दिनुभएको छ।'

नाटकका कलाकारको सक्दो मिहिनेत नै घेरोको उपलब्धि रहेको पौडेलले सुनाए।

नाटकमा लक्ष्मण डुम्रे र सर्मिला बस्नेत दम्पतीको भूमिकामा छन्। ममता मञ्जुलले फुरुमै को चरित्र निर्वाह गरेकी छन्।

नाटकका लेखकसमेत रहेका पौडेलले झाँक्रीलगायत दोहोरो भूमिकामा छन्। नाटकमा सञ्जय न्यौपाने, संरचना पौडेल (अञ्जना), प्रसुन अधिकारी लगायतको अभिनय छ भने मधुसूदन पौडेल, ताराखर पौडेल र विनोद पौडेल भजनमार्फत देखिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.