|

काठमाडौं : नेपालमा कोभिड-१९ संक्रमण फैलिएपछि स्वास्थ्य, शिक्षा, अर्थतन्त्र लगायतका क्षेत्रमा अत्यधिक क्षति पुग्यो। कतिपय होटल, पसल, पार्टी प्यालेस व्यवसायीको लगानी डुब्यो। शैक्षिक क्षेत्र पनि चलायमान हुन सकेन। पुष्पखेती गर्ने व्यवसायी पनि यसबाट अछुताे रहन सकेनन्।

सूर्यविनायक नगरपालिकास्थित गुण्डुका कामी शेर्पाको पेसा व्यवसाय जे भने पनि पहिलादेखि नै मखमली खेती हो। कोरोना भाइरसले उनको व्यवसाय चौपट बनायो। गत वर्ष कोरोनाकै कारण मखमली बारीमै कुहियो। जसले यो खेती गर्नबाट उनलाई निरास नै बनाइदिएको थियो। यो वर्ष भने व्यापार भएपछि उनमा पुन: खुसी फर्किएको छ। 

यो वेला व्यापारी उनकै घरमा फूल किन्न जाने गरेका छन्। उनी भन्छन्, ‘कोरोना भाइरस संक्रमण देखिन थालेपछि फूल विक्री हुन सकेको थिएन। त्यसैले खेती नगर्ने सोच बनाइसकेको थिएँ तर यो वर्ष सहज रूपले विक्री भएको छ।’ 

उनले एक रोपनी जग्गामा मखमली फूल रोपेका छन्। उनका अनुसार यो वर्ष फूलले मूल्य पनि राम्रो पाएको छ। ‘गत वर्ष एक मालाको २० रुपैयाँ थियो,अहिले पाँच रुपैयाँ बढेर ३० रुपैयाँ पुगेको छ। यो वर्ष सबै विक्री भए ८० देखि ९० हजार रुपैयाँसम्म आम्दानी हुनेछ’‚ उनले बताए।

पछिल्लो समय कोभिड संक्रमणदर घट्दा परिस्थिति सहज भएकाले अझै मखमली फूलको व्यापार बढ्न सक्ने उनले अपेक्षा गरेका छन्। वर्षेनि ६० हजार रुपैयाँ आम्दानी हुने भए पनि कोभिडका कारण करिब ४० हजारसम्म मात्र भएको उनको भनाइ छ।

माला उन्न भ्याइनभ्याई

नेपालीको महान् चाड तिहार नजिकिँदै छ। यो वर्ष राम्रै गरी मखमली फूल खेती पनि सप्रेको छ। मखमली खेती गर्ने गुण्डुवासी यतिखेर फूल टिप्न र माला उन्नमै व्यस्त छन्।

किसान दीपक नगरकोटी भन्छन्, ‘विगतका वर्षभन्दा योपालि राम्रै व्यावसाय भएको छ, तिहार पनि आउँदै छ। त्यसैले माला उन्न भ्याइनभ्याई छ।’ उनले दुई रोपनी क्षेत्रफलमा मखमली खेती गरेका छन्। वर्षेनि डेढ लाख आम्दानी हुने गरेकोमा यो वर्ष सबै मखमली विक्री भएमा दुई लाख रुपैयाँ आम्दानी हुने उनको भनाइ छ। 

‘एउटा मालाको ३० रुपैयाँसम्म लिने गरेका छौँ’‚ उनले भने, ‘माला उन्ने कामदार पनि राखेको छु, दिनमा एक सय मालासम्म उनिन्छ, माला लिन यहीँ पनि आउँछन्, कालीमाटीमा पनि लाने गरेका छौँ।’

उनका अनुसार अघिल्लो वर्ष कोभिड संक्रमणको जोखिम थियो। संक्रमण सर्ने जोखिमले धेरैले भाइटीका पनि लाएनन्। केही संक्रमित आइसोलेशनमै थिए। त्यसैले सोचे जस्तै सर्वसाधारणले माला किनेनन्।

गुण्डुकै पदमबहादुर नगरकोटी पनि यो वर्ष व्यापार बढ्दै जाँदा हर्षित छन्। उनले पनि पहिला जस्तै व्यापार नभए फूल खेती नै नगर्ने सोचमा थिए।

‘कोरोनाले गर्दा भनेजति मखमली बिकेको थिएन, यो वर्ष चाहिँ राम्रै गरी व्यापार भएको छ, दैनिक ५० देखि ६० मालासम्म विक्री हुन्छ। यसैले घरखर्च धानेको छ’‚ उनले भने। पदमबहादुरले भने आधा रोपनीमा मात्रै मखमली खेती गरेका छन्। यो वर्ष कम्तीमा पनि ४० हजार रुपैयाँ आम्दानी हुने उनी बताउँछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.