|

काठमाडौं : नेपाली रंगमञ्च आजको स्थितिमा आइपुग्नुमा सुनील पोखरेलको ठूलो योगदान छ। भारतको राजधानी नयाँ दिल्लीस्थित नेसनल स्कुल अफ ड्रामा (एनएसडी) मा अध्ययन सकेपछि उनी नेपाल फर्के।

उनी नेपालमा नै नाटकको क्रेज बढाउन चाहन्थे। जसका लागि नाटकघर अर्थात भौतिक मञ्च आवश्यक थियो। त्यसैले उनले गुरुकुल सुरु गरे, जुन नाटकघर नेपाली रंगमञ्चको स्तरवृद्धिमा कोसेढुंगो सावित भयो।

सन् १९८४ मा एनएसडीमा रंगमञ्चसम्बन्धी औपचारिक अध्ययनका लागि उनी प्रवेश गरेका थिए। २० वर्षको आलोकाँचो उमेरमै उनी त्यहाँ अध्ययनका लागि पुगेका थिए।

उनमा 'नाटकमा केही गर्ने' अदम्य ऊर्जा थियो, त्यसैले उनी पुगेका थिए एनएसडी। रोमाञ्चक कुरा के भने रंगमञ्चको अध्ययन अध्यापनका लागि कहलिएको एनएसडीमा आफ्नो ब्याचका उनी सबैभन्दा कान्छा विद्यार्थी थिए। उनी आफ्नो ब्याचका कान्छा छात्र मात्र थिएनन्, 'बेस्ट अलराउन्डर' उपाधी विजेता पनि हुन्। 

चार दशकदेखि रंगकर्ममा सक्रिय पोखरेल नाटककै सिलसिलामा देशका लगभग ७२ जिल्ला पुगेका छन्। नाटकको फेरो समातेर अन्तरराष्ट्रिय रंगमञ्चमा पुगेका छन्। घुमन्ते जिन्दगी रुचाउने उनी पछिल्लो समय भने घरमै अध्ययनमा व्यस्त छन्। आँगनका बिरुवा स्याहार्नु र उनीहरूसँग मौन संवाद गर्नु नै दिन कटाउने मेलो बनेको छ। ​

एनएसडी बसाइका क्रममा उनले अनुभूत गरेका वा बिताएका रमाइला क्षण थाहाखबरकर्मी मुक्ति पौडेलले उधिन्ने प्रयास गरेका छन्, सुनीलकै शब्दमा।

एनएसडी प्रवेशका लागि भएको त्यो फाइनल इन्टरभ्यु

मेरो पालो राति २ बजेतिर थियो। अन्तर्वार्ता लिने ४/५ जना हुनुहुन्थ्यो। उहाँहरूमध्ये कसैले सोध्यो, 'के के पढेका छौ। विशेष गरेर विजय तेन्दुलकरको केही पढेका छौ?

अनि मैले विजय तेन्दुलकरको एउटा कमला पढेको छैन भनिदिएँ। किनभने त्यतिबेला नेपालमा त्यो आइपुगेको थिएन। बाँकी सबै पढेको छु भनेँ।

 'मोहन राकेशको?' प्रतिप्रश्न तेर्सियो।

'मोहन राकेशको सबै पढेको छु।'

 'बादल सरकार नि?'

'पढेको छु।'

त्यहाँ सोधेका सबै लेखकका नाटक मैले पढेको थिएँ।

'नेपालमा कसरी पढिस् तैँले यी सबै चीजहरू?,' अर्को व्यक्तिले प्रश्न थपे।

मैले त्यहाँ एउटा लाइब्रेरी छ। त्यहीँ पढेको हो भनिदिएँ।

'यहाँ बस्नेमध्ये कस-कसलाई चिन्छस्', प्रश्नमाथि प्रश्न ओइरिँदै गए।

मैले २/३ जनालाई चिनेँ। पत्रिकामा कसैको आर्टिकल पढेको थिएँ। कसैको किताब पढेको थिएँ। म त्यसैले पास भएको हुँ। 

भर्ना हुन पनि चाहियो जमानी बस्ने

३ वर्षको स्कलरशिपवापत लगभग १४ हजार ४ सय जति मैले पाउँथै। छात्र फेल भए अथवा बीचैमा पढाइ छाडेर भागेर हिँड्यो भने त्यो रकमको ३ वर्षको ब्याजसहित तिर्नुपर्ने शर्त राखेर एक जना साक्षी बस्नुपर्थ्यो।

मलाई जमानी बस्ने व्यक्तिको आवश्यकता थियो। एक दिन त्यत्तिकै रन्थनिएर रत्नपार्कमा हिँडिरहेको थिएँ। मुकेश मल्ल दाजुसँग भेट भयो। उहाँ शिक्षा मन्त्रालयमा अफिसर हुनुहुन्थ्यो।

अनि उहाँले 'उता नगएर के गरेर हल्लिएर बसिरा'छौ यहाँ?' भनेर सोध्नुभयो। मैले आफ्नो व्यथा सुनाएँ।

त्यसपछि गर्नुपर्ने सबै कुरा उहाँले गरिदिनु भयो। नत्र जान नपाउने अवस्था थियो। बीचमा छुट्टी आउँदा उहाँ जिस्क्याउँदै सोध्नुहुन्त्थ्यो, 'ए तिमी भागेर आ'को त होइन नि…(..हे..हे..हे)

एनएसडीमा ७ दिन ढिलो पुग्दा

म ६/७ दिन जति ढिलो पुगेको थिएँ, एनएसडीमा। म पुग्दा पढाई सुरु भइसकेको थियो। सिक्किमको एक जना लेप्चा दाजु हुनुहुन्थ्यो। उहाँ मेरो रुम पार्टनर हुनुहुन्थ्यो। 

पहिलो दिन सिनियरहरूले बोलाए। सबैले आ-आफ्नो परिचय दिए। एकछिनपछि एक जनाले मतिर औंला तेर्स्याएर उसले आफ्नो नाम सोध्यो। म ट्वाँ परेँ। त्यो भीडमा उसले आफ्नो नाम के भनेको थियो? सम्झिने दुःख कसले गरोस्? मैले बिर्सिएँ। उसले आफ्नो नाम दोहोर्‍यायो।

'मेरो नाम फलानो। अब सम्झिन्छ नि होइन?,' उसले  भन्यो। मैले मुन्टो हल्लाएँ। उसले केहीबेर गफिएपछि फेरि आफ्नो नाम सोध्यो। मैले भुलिसकेको थिएँ।

उसले ३/४ चोटी घोकायो आफ्नो नाम। मैले भुलिरहेँ।  त्यो मेरो र्‍यागिङ रहेछ। पछि लेप्चा दाइले मलाई सुनाए। 

एक मिनेट ढिलो पुगे जरिवाना २० रूपैयाँ

बिहान ६ बजेदेखि क्लास हुन्थ्यो। होस्टेलबाट क्लास जान दश मिनेट लाग्थ्यो। एक मिनेट ढिला पुग्यो भने २० रूपैयाँ (भारु) फाइन तिर्नुपर्थ्यो। 

मसँग पढ्ने एक जना साथी लेक्चरर थियो-कानुनको। त्यहाँ पढ्न आएका प्रायः सबै मास्टर्स गरेर नाटकको अध्ययन गर्न आएका थिए।

क्लासको सबैभन्दा सानो मै थिएँ, जसले गर्दा बच्चाको अभिनय मेरो भागमा पर्थ्यो। उनीहरू सहयोगी थिए, मलाई नयाँ ठाउँमा आएको छु र यो मेरा लागि पराई भूमि हो भन्ने महसुस कहिल्यै भएन।

दुई चम्चा बर्नबिटाले थकित मेरो शरीर

म नेपालमा कहिल्यै पनि शारीरिक व्यायाम नगरेको मान्छे। कलाकारले व्यायाम गर्नुपर्छ भन्ने हेक्का नै थिएन। बिहानको ३ घण्टा व्यायाम क्लास हुन्थ्यो। सुरुमा योगा त्यसपछि साउथ इन्डियन मार्सल आर्ट अनि माइम। 

अगस्ट महिनाको त्यो गर्मीमा ३ घण्टाको एक्सरसाइज। एकैपटक यी सबै गर्दा म त एकदम कमजोर बनिसकेको थिएँ- फुकिढलजस्तै भइसकेको थिएँ।

मेरो माइम टिचरले हड्डी बलियो बनाउन दूधमा बर्नबिटा मिसाएर खाऊ भने। सुझाव अनुसार  भोलिपल्ट बिहान दूधमा बर्नबिटा हालेर खाएँ- बलियो बन्ने कुरा जो थियो।

बिहानको क्लास सकेर नुहाउन होस्टेल जाँदै थिएँ। आधा बाटो गएपछि म हराएँ। दिमागले काम नै नगरेजस्तो, शरीरले कामै गर्न छाडेजस्तो। अचेतनमा नै होस्टेलचाहिँ पुगेँ। चिसो पानीले नुहाएँ। अलिकति रिलिफ भयो। माइम क्लास भइरहेको थियो। शिक्षकले मेरो स्वास्थ्यबारे सोध्नुभयो।

मैले बेलिबिस्तार लगाएँ। मेरो बेलिबस्तार सुनेपछि उहाँ झस्किँदै भन्नुभयो, 'गर्मीमा दुई चम्चा बर्नबिटा खाएपछि बहुलाउँदैन त मान्छे!'

त्यसपछि त्यो दिनको कक्षा छोडेर उहाँले दिल्ली घुमाउनुभो। बेलुका लगेर आफ्नो घरमा खाना खुवाउनुभो। ​बर्नबिटा होइन अब दूधमा बेसार हालेर खाऊ भन्नुभयो। शिक्षकले देखाएको त्यस्तो अपनत्व मेरा लागि सधैं प्रीतिकर र रुचिकर लाथ्यो। सहयोगी नै सहयोगीहरुको भीड देख्दा मलाई लागेको थियो, 'एनएसडी यसै एनएसडी बनेको होइन रहेछ।'

अनि  भारतिय साथीहरूले गाली खाए

एनएसडीको बारेमा मलाई राम्रो जानकारी थियो। त्यहाँ पढेकाहरूको बारेमा पनि थाहा थियो। हिन्दी नाटकहरूको बारेमा पनि व्यापकै नै जानकारी थियो। मोडर्न इन्डियन ड्रामामा मेरो नम्बर सबै विद्यार्थीभन्दा बढी आउँथ्यो।

यो विषय हामीलाई पढाउने शिक्षक महिला हुनुहुन्थ्यो। उहाँ भारतीय साथीहरूलाई मेरो नम्बर देखाउँदै कराउनुहुन्थ्यो, 'सेम अन यु इन्डियन। एउटा नेपालीले मोडर्न इन्डियन ड्रामामा सबैभन्दा बढी अंक ल्याउँछ। अनि तिमिहरू, लाज लाग्दैन?' त्यो विषयमा जहिल्यै मेरो सर्वाधिक अंक आइरह्यो।

नयाँ ठाउँमा आएजस्तो लागेन

नेपालमा हुँदा मैले अलिअलि नाटक गरिसकेको थिएँ, यसबारे पढ्थेँ। यसले मलाई थप आँट दिएको थियो। एनएसडीमा साथीहरू सहयोगी थिए, जुन मैले अगाडि उल्लेख गरिसकेको छु।

 त्यहाँ मणिपुर, कर्नाटकलगायत भारतमा विभिन्न राज्यबाट आएकाहरू हिन्दी बोल्न जान्दैनथे। मेरो हिन्दी भने राम्रो थियो। त्यसले गर्दा मलाई अझै सजिलो भयो। 

होस्टेल र कलेजमा नेपाली बोलिराखिन्थ्यो। ती लेप्चा दाइले क्लासमा पनि नेपालीमा मुख छाड्थे। 

मुख छाडेको हो भन्ने कुरा एकदिन शिक्षिकाले थाहा पाइन्। हो कि होइन भनेर मलाई सोधेकी पनि थिइन्, मैले होइन भनेँ, ढाँटी दिएँ।

आफूजस्तै साथी र आफ्नो भाषा बोल्न पाउँदा नयाँ ठाउँमा आएजस्तो नलाग्ने रहेछ। अर्को रमाइलो कुरा के छ भने '८७ ब्याच' भनेर ह्वाट्सएपमा अहिले हाम्रो एउटा ग्रुप छ। अहिले पनि कहिलेकाहीँ ग्रुपमा कुराकानी भइरहन्छ। 

लाइट देखेर अनायासै निस्कियो 'वाह'

अहिले होइन, तत्कालीन समयमा नाटकका लागि भारत र भारतीय कलाकार हामीभन्दा धेरै अगाडि थिए। किनभने हामीसँग पर्याप्त लाइट भएको हल भनेको एकेडेमी मात्र थियो। 

एकेडेमीबाहिर नाटक गर्नुपरे पाँच सय वाटको बल्ब राखेर, बाहिर रातो नीलो पन्नी (प्लास्टिक कागज) राखेर नाटक गर्थ्यौँ। हामी सबै नाटक बक्ससेटमा गर्थ्यौँ। घरको भित्ता बनायो तीन वटा अनि जुनसुकै नाटकको सेट तयार।

उताको लाइट र सेट डिजाइन देखेर त वाह भन्न मन लाग्ने के! 

सानो भूमिका ठूलो सिकाइ

हामी प्रथम वर्षमा हुँदा तेस्रो वर्षको एउटा नाटक हुँदै थियो। बिएम शाह भन्ने प्रोफेसर हुनुहुन्थ्यो, मलाई खुब माया गर्ने- उहाँ नै निर्देशन गर्दै हुनुहुन्थ्यो।

त्यसमा कलाकार पुगेका रहेनछन्। पहिलो वर्षका म र अशोक लोखण्डे भन्ने साथीलाई ल तँ र तँ चाहिँ भरेदेखि रिहर्सलमा आइज भन्नु भो।

त्यो साथी अहिले हिन्दी सिरियलहरूमा व्यस्त छ। म उसलाई सिरियलमा देख्दा पुराना दिन सम्झन्छु।

त्यो नाटकमा मेरो भूमिका त सानो थियो तर त्यसले मलाई धेरै कुरा सिकायो। नामी निर्देशक, अडियन्सका रुपमा सिनियर दाजुदिदीहरू। त्यो नाटकमा रिहर्सल सुरु भएपछि ओहो यसरी पो हुँदो रहेछ काम भन्ने लाग्यो।

त्यो नाटक युद्धका बारेमा थियो।  मेरो रोल एउटा सिपाहीको थियो, जो अलि फुच्चे हुन्छ। अनि म पनि फुच्चे। त्यसैले पनि छानिएँजस्तो लाग्छ। 

त्यसरी नाटक खेल्न पाएकोमा दंग परेको थिएँ। डर पनि लागेको थियो। त्यो नाटकपछि सिनियर दाइदिदीहरूसँग राम्रो चिनजान पनि भयो। पछि मेरा विद्यार्थी त्यहाँ जाँदा त्यो फोटो देखेर ओहो सरको फोटो भन्दै  थिए। 

ब्याचले गरेको नाटक

हामीलाई पहिलो नाटक गराउनेचाहिँ एनएसडीकै डाइरेक्टर हुनुहुन्थ्यो, मोहन महर्षी। उहाँले 'इडिपस' भन्ने ग्रिक नाटक गराउनु भएको थियो।

त्यो नाटक २५, २६ सय वर्ष अगाडिको हो। हाम्रो क्लासको पहिलो नाटकचाहिँ त्यही हो।

त्योबाहेक एउटा नाटक स्कुलको सिनियर दाइको निर्देशनमा गर्‍यौं। कर्नाटकबाट एकजना डाइरेक्टर बोलाएर उहाँको निर्देशनमा गर्‍यौं। तीन वर्षमा त्यही ४/५ वटा नाटक गर्‍यौं होला।

फरक फरक डाइरेक्टरसँग कसरी काम गर्ने भन्ने चाहिँ सिकाइकै एउटा प्रक्रिया थियो। बाँकी लाइट डिजाइन, कस्ट्युम डिजाइनदेखि एसिस्टेन्ट निर्देशन भने सबै विद्यार्थीले नै गर्थे।  

निर्देशन पढ्न नदिएपछि...

म  नेपालमा हुँदा एक्टिङ गर्थेँ, निर्देशन पनि गर्थेँ। बद्रि अधिकारी दाइ र म मिलेर गर्थ्यौँ।

एनएसडी जाने बेलामा प्रचण्ड मल्लले भन्नुभएको थियो, 'सुनिल तपाईं एक्टिङ सही गर्नुहुन्छ, निर्देशनमा स्पेसलाइज गर्नुस्।'

त्यो कुरा मैले सम्झिराखेको थिएँ। अनि सुरूदेखि नै मलाई निर्देशनमा स्पेसलाइज गर्छु भन्ने थियो।

कर्नाटकको एकजना केटी साथी थिई, उसले र मैले दुवै जनाले एक्टिङ पनि राम्रो गर्ने। त्यही भएर हामी दुई जनालाई निर्देशन पढ्न दिइएन।

त्यसपछि हामी दुवै जना एक्टिङको क्लासमै गएनौँ। ५ दिनसम्म पनि नगएपछि फ्याकल्टीको मिटिङ बस्यो अनि हामीलाई बोलाइयो। किन क्लासमा जाँदैनौ तिमीहरू भनेर सोधियो। 

एक्टिङ नै मात्र पढ्नुपर्ने हो भने हामी छाडेर फर्कन्छौँ, हामीलाई हाम्रो क्षेत्रमा निर्देशक चाहिएको छ भनेपछि बल्ल हामीलाई पनि पढ्न दिइएको थियो। पहिले निर्देशन पढ्ने बढीमा ५ जनासम्म हुन्थे रे! हाम्रो ब्याचमा ८ जना थियौं- निर्देशन पढ्ने। 

भेट्न खोजेका मानिसहरूसँग भेट

मोहन राकेश बितिसक्नु भएको थियो। विजय तेन्दुलकरलाई चाहिँ भेट्न पाएँ। उहाँ मलाई मनपर्ने लेखक पनि हुनुहुन्छ। मैले प्रमाणपत्र पनि उहाँकै हातबाट पाएँ।

राति डिनरका बेला मैले उहाँसँग कुरा गरेँ। म ब्याचको 'बेस्ट अलराउन्डर' त्यसमा पनि नेपालबाट भनेपछि उहाँ पनि कुरा गर्न इन्ट्रेस्टेड हुनुहुँदो रहेछ।

एनएसडी जानुभन्दा पहिले मैले काठमाडौंमा उहाँको 'गिधाडे' भन्ने एउटा नाटक गरेको थिएँ। भेटमा मैले  उहाँलाई यो कुरा पनि सुनाएँ।

'कोसँग अनुमति लिइस्?' उहाँले सोध्नुभो।

तपाईंको ठेगाना पत्ता लगाउन सकिनँ भनेर जवाफ दिएँ। मेरो जवाफ सुनेपछि उहाँले भन्नुभयो, 'ल मेरो नाटकहरू तँ नेपालमा गर मैले अनुमति दिएँ।'  त्यो बेला कुनै कागजमा  लेखेर लिनुपर्ने रहेछ, बुद्धि नै पुगेन।

गिरिश कर्नाडचाहिँ एक दिन एउटा सानो व्याख्यानका लागि हाम्रो क्लासमा आउनुभएको थियो। उहाँसँग पनि भेट भयो। उहाँ पनि मलाई एकदमै पर्ने मान्छे हुनुहुन्थ्यो।  

केही नलुकाउने साथी
उसो त एनएसडीमा सबै साथी एउटै परिवारका सदस्यजस्ता थियौँ। तीमध्ये पनि एकदमै मिल्ने हामी चार जना थियौँ। एउटा इरफान नै हो। इरफानकी पत्नी, सुतपा र अर्को कर्नाटकको एउटा साथी। 

दोस्रो वर्षदेखि हामी एकदमै मिल्ने साथी भएका थियौं। हामी हाम्रा कुरा केही पनि लुकाउँदैनथ्यौँ। मित्रताको 'बन्डिङ' सायद इन्ट्रेस्टहरू, भोगाइहरू मिलेर हुनसक्छ।

तपाईंलाई कोही कोही मान्छे पहिलो भेटमै मनपर्छ। कोही कोही मान्छे मनै पर्दैन। भलै उसले तपाईंको केही बिगारेको हुँदैन।

कोही कोही मान्छे देख्यो भने दिनभरि लोदरै लाग्छ। त्यस्तो हुन्छ, हुँदो रहेछ। यो सबै 'बन्डिङ' नमिलेर होला भनेजस्तो लाग्छ। हामी चार जनामा बाँकी रहेका अहिले पनि नजिक छौं। अफसोच हामीसँग इरफान छैन। 

एनएसडीको अन्तिम दिन

एनएसडीमा परिवारजस्तो बनेर बसेका हामी तर हाम्रो अध्ययन टुंगिँदै थियो। छुट्टिने दिन आउँदै थिए। मनमा कलेज छोड्नुपर्ने, साथीहरू छोड्नुपर्ने कुराले हामी निराश थियौं।

हामीलाई अब आफ्नै दुनियाँमा फर्केर संघर्ष गर्नुपर्छ भन्ने एक किसिमको डर पनि थियो। सबैसामु एउटा प्रश्न तेर्सिएको थियो, 'अब आफ्नो ठाउँमा गएर के गर्ने?' हामीलाई यो पनि थाहा थियो कि पढिसकेपछि हामीले हाम्रो काम फेरि 'शून्य' बाट सुरू गर्नुपर्छ।

'नेपाल फर्कौं कि भारतमै बसौँ' को दोधार

मलाई एनएसडी छाड्दाको दिन के के भयो खासै धेरै सम्झना छैन। यतिचाहिँ याद छ, पहिलो वर्षका विद्यार्थीले हामीलाई बिदाई गरेका थिए भने म बिना टिकट ट्रेनमा चढेको थिएँ। र, टिटीलाई बाटोमा बढी पैसा दिएको थिएँ।

पढाइ सकिएपछि केही समय भारतीय साथीसँग मिलेर नाटकसम्बन्धी कहीँ काम गरौँ कि जस्तो लागेको थियो। उसो त हामीले साउथ जाने टिकट पनि काटिसककोको थियौं।

अन्तिम क्षणमा आएर मैले मेरो निर्णय परिवर्तन गरेँ। कारण एक मात्र थियो, त्यो थियो शैलेश आचार्य दाइको चिट्ठी। दाइले चिट्ठीमा लेख्नुभएको सार यस्तो थियो, 'नेपाल फर्क। जे हुन्छ देखा जाएगा।' नेपालमा मेरो आफ्नै साथीहरू समूह थियो।

मलाई नेपाल फर्किनुपर्छ भन्ने लाग्यो। यहाँ आएर नाटकमा केही न केही गर्नुपर्छ जस्तो लाग्यो। अनि सन् १९८७ को अन्त्यतिर नेपाल फर्किएँ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.