|
कभर्ड हल उद्घाटनपछि सामूहिक तस्वी खिचाउँदै सुवास नेम्बाङलगायत । तस्बिर : अमर माविको फेसबुक

इलाम  : इलाम नगरपालिका–५ बरबोटेमा रहेको अमर माध्यमिक विद्यालयको जग्गामा बहुद्‍देश्‍यीय कभर्डहल निर्माण सम्पन्न नभई उद्‍घाटन गरिएको छ।

विद्यालयको स्वामित्वमा रहने गरी २०७० सालबाट निर्माण थालिएको कभर्डहलको करिब ७० प्रतिशत काम नसकिँदै बुधबार संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङले उद्‍घाटन गरेका हुन्।

करिब १ करोड २८ लाखमा निर्माण भएको बहुउद्देश्यीय कबर्डहलको सुरुवाती काम उपभोक्ता समितिमार्फत गरिएको थियो। तर गत आर्थिक वर्षमा नगरपालिकाले टेन्डरमार्फत विभिन्न संरचनाहरु बनाएको थियो।

ब्‍याडमिन्टन, टेबल टेनिस, बास्केटबल, भलिबललगायत इन्डोर खेल संचालनका लागि करिब २ हजार ९ सय ८६ वर्ग मिटरमा निर्माण भएको कभर्डहल राजनीतिक स्वार्थपूर्तिका लागि स्थानीय सरकारले प्रयोग गरेको उपभोक्ता समितिको आरोप छ।

स्वार्थपूर्ति गरेको आरोप

उपभोक्ता समितिका अध्यक्ष काजीबहादुर श्रेष्ठ संरचना निर्माण सम्पन्न नभई स्थानीय सरकारले स्वार्थपूर्तिका लागि उपयोग गरेको आरोप लगाए।

‘निर्माण सम्पन्न भएपछि उद्‍घाटन गर्दै खेल आयोजना गर्ने लक्ष्य थियो। नगरपालिका र वडा कार्यालयले आफ्नो स्वार्थपूर्तिको लागि हामीलाई बाइपास गरेर करिब ३० प्रतिशत काम बाँकी रहँदै उद्‍घाटन गरे,’ श्रेष्ठले भने ‘ टिनको बेरा लगाउने, पिलर र ट्रसको काम मात्र भएको छ। पार्किङ व्यवस्थापन, रंग रोगन, विद्युत विस्तार, खेलकुदको कोर्ट निर्माणका केही कामहरु अझै बाँकी नै छ। अझै सम्पन्न हुन करिब ५० लाख रुपैया बजेट आवश्यक पर्छ। त्यसका लागि विभिन्न निकायहरुबाट बजेटको आश्वासन पाएका थियौँ।’

इलामको पहिलो इलेक्ट्रिकल इन्जिनियर पुष्पनाथ शर्मा र अपर सान्जेन हाइड्रोपावर सर्भेका क्रममा सुख्खा पहिरोमा परि मृत्यु भएका इन्जिनियर चेरब घिमिरेको स्मृतिमा इलामलाई खेलकुदको हबको रुपमा विकास गर्न चेरव स्मृति फाउन्डेसनले अमर माविलाई दिएको ५ लाख रुपैयाँबाट कभर्डहलको काम सुरु गरिएको बताइएको छ।

कभर्ड हलको एकसय १७ फिट लम्बाई, ५७ फिट चौडाइ र ३५ फिट उचाइ रहेको जनाइएको छ। 

फाउन्डेसनले टेबलटेनिस बोर्ड निर्माणको लागि दिएको बजेटलाई कभर्डहल निर्माणका लागि सुरुवातमा लगानी गरेर काम अघि बढेको श्रेष्ठले बताए।

त्यसपछि तत्कालीन जिल्ला विकास समिति, बरबोटे गाउँ विकास समिति, तत्कालीन इलाम क्षेत्र ३ का सांसद केशव थापाको सांसद विकास कोष र सहरी विकास कार्यालयको बजेटबाट बहुउद्‍देश्‍य कभर्डहलको काम भएको थियो।

पछि इलाम नगरपालिका र सुवासचन्द्र नेम्बाङको सांसद विकास पूर्वाधार कोष र प्रदेशबाट समेत बजेट कभर्डहलमा लगानी भएको जनाइएको छ।

पूर्वाधार निर्माणका लागि अझै केही वर्ष लाग्ने भएकाले पूर्ण सम्पन्न नभई संरचनालाई प्रयोगमा ल्याएको इलाम नगरपालिका–५ का वडाध्यक्ष ठाकुर नारायण श्रेष्ठ बताउँछन्।

‘२०७० सालबाट निर्माण थालिएको हो। अहिले करिब ७० देखि ८० प्रतिशतको हाराहारीमा काम सम्पन्न भएको छ। बजेट अभावका कारण डिपिआरअनुसारको १०० प्रतिशत काम सक्न कहिले हो कहिले, तत्काल प्रयोगका लागि उद्‍घाटन गरिएको हो, ’श्रेष्ठले भने, ‘अझै प्यारापिट र भिआइपी बस्ने ठाउँ बनाउन बाँकी नै छ। तत्काल व्याडमिन्टन लगायत अन्य केही इन्डोर खेल गराउन सकिने संरचना भएकाले उद्‍घाटन गरिएको हो। बजेट व्यवस्थापन भएपछि थप बाँकी संरचना बनाउँछौँ।’

विद्यालयको जग्गामा संरचना बनेकाले अमर कल्याण माविको माहतमा  संचालनका लागि हस्तान्तरण गरिएको श्रेष्ठले बताए। उनले उपभोक्ता समितिलाई बाइपास गरेर उद्‍घाटन नगरिएको बताउँछन्।

‘उपभोक्ता समितिले आफ्नो काम सम्पन्न गरेपछि स्वतः विघटन हुन्छ। साना साना काम उपभोक्ता समितिमार्फत गरिएको हो। फलामका कामहरु उपभोक्ता समितिमार्फत नहुने भएकाले नगरपालिकाले टेन्डर आह्वान गरेर बनाएको हो। उद्‍घाटन मिति तोक्नका लागि तयारी छलफलमा उहाँहरूलाई समेत निम्तो गरेका थियौँ।’

सम्पन्न नभई उद्‍घाटन गर्नु गलत

सुरुवाती बजेट सहयोग गरेको चेरब फाउन्डेसनका अध्यक्ष पुण्य घिमिरे स्थानीय सरकारले फाउन्डेसनको सहयोगको अबमुल्यन गरेको आरोप लगाउँछन्।

उनले इलामलाई खेलकुदको हवको रुपमा विकास गर्न सुरु गरिएको संरचनाको काम सम्पन्न नभई उद्‍घाटन गर्नु गलत भएको बताए।

घिमिरेले काम सम्पन्न नभई सम्बन्धित निकायलाई जानकारी  नगराई उद्‍घाटन गर्नु सन्तोषजनक नभएको समेत बताए।

‘उद्‍घाटनको पूर्व- तयारी रहेछ सुरुवातमा बजेट व्यवस्थापनमा सहयोग गर्ने फाउन्डसेनलाई अन्तिम समयमा अनौपचारिक मात्र जानकारी प्राप्त भयो' 'घिमिरेले भने ‘अझै धेरै संरचना बनाउन आवश्यक रहेको बेला नगरपालिकाबाट ट्रष्ट मात्र लगाएको अवस्थामा उद्‍घाटन भएछ।’

यसअघि केपी शर्मा ओलीले पनि आफू प्रधानमन्त्री रहेको समयमा निर्माणकार्य सम्पन्न नभएका विभिन्‍न आयोजनाहरू सस्तो लोकप्रियताका लागि उद्घाटन गरेका थिए। उनले उद्घाटन गरेका कतिपय आयोजनाका काम अहिलेसम्म पनि पूरा भएका छैनन्।

त्यस्तै, काठमाडौंको धरहराको काम सम्पन्न भएको भनी ओलीले उद्घाटन गरेको भए पनि हालसम्म पनि सर्वसाधारणले अवलोकनका लागि टिकट पाउन सकेका छैनन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.