तामाखानी १ सय ७ वर्षअघि विसं १९७१ सम्म सञ्चालनमा रहेको

|
म्याग्दीको रघुगंगा गाउँपालिका-६ ठाडाखानी गाउँको सिरानमा रहेको तामाखानी। तस्वीर : ध्रुवसागर शर्मा

म्याग्दी : म्याग्दीको रघुगंगा गाउँपालिका वडा नं ६ ठाडाखानी गाउँको सिरानमा रहेको तामाखानी उत्खनन् नहुँदा सय वर्षदेखि अलपत्र छ।

ठाडाखानीको सिरानमा पर्ने रुमले भीरमा रहेको विशाल तामाखानी १ सय ७ वर्षअघि विसं १९७१ सम्म सञ्चालनमा रहेको र त्यसपछि तत्कालीन सरकारले प्रतिबन्ध लगाएकाले बन्द भएको थियो।  

उक्त खानी अहिलेसम्म सञ्चालनमा ल्याउने प्रयास कसैले नगर्दा अलपत्र रहेको हो।

तत्कालीन समयमा तामा उत्खनन् गरेबापत सरकारलाई भेजा (कर) तिर्न नसक्दा खानी राणाहरूको मौखिक आदेशमा बन्द गरिएको स्थानीय बूढापाकाहरू बताउँछन्।

तर, देशमा राजनीतिक परिवर्तन भएर स्थानीय सरकारसमेत स्थापना भइसकेपछि पनि उक्त तामाखानी उत्खनन्‌का लागि कुनै पहल नभएको ठाडाखानीका युवा गिरी छन्त्यालले बताए।

'राजनीतिक परिवर्तनपछि गाउँमा जनप्रतिनिधि आएकाले  गाउँघरका बासिन्दाले आफ्ना गाउँका स्रोतसाधन र सम्पदा उपयोग गरी आम्दानी गर्नसक्ने आश राखेका थिए, तर ४ वर्ष बित्यो केही भएन,' उनले भने।

तामाखानी वर्षौंदेखि अलपत्र रहँदा पनि स्थानीय सरकारले कुनै पहल नगरेको उनले गुनासो गरे।

उनले भने, 'हामीले स्थानीय सरकारबाट धेरै आशा गरेका थियौं, तामाखानी संचालन, मालिकाको धुरीसम्म मोटरबाटोको पहुँच, केन्द्रीय प्रसारण लाइनको बिजुलीलगायत धेरै सुविधा पाइएला भन्ने लागेको थियो।'

छन्त्यालले ४ वर्ष बितिसक्दा पनि मालिकाको धुरीसम्म मोटरबाटो खन्न वडा कार्यालयबाट १० लाख रूपैयाँ विनियोजन गर्नुबाहेक अरु कुनै कामको पहल भएन।'

ठाडाखानीमा छन्त्याल र विकहरूको मात्र बसोबास रहेको छ।

यहाँ रहेका ७५ परिवार छन्त्याल र १० परिवार विकका पुर्खा १ सय ६ वर्ष पहिला रुमले भीरको तामा खनेर बिक्री गर्ने वा अन्नसँग विनिमय गरी जीवनयापन गर्ने गर्थे।

तर तत्कालीन सरकारले अत्यधिक भेजा (कर) लिन थालेपछि खानी बन्द गरेर अन्य वैकल्पिक पेसा र वैदेशिक रोजगारीमा लाग्नु परेको रघुगंगा गाउँपालिका-६ का वडासदस्य समेत रहेका टेकजीत छन्त्यालले बताए।

रुमले भीरमा ५ ओटा सुरुङ छन्। सुरुङको प्रवेशद्वारबाट २ मिटरभित्र पस्नासाथ तामाका धाउ देख्न सकिने स्थानीयले बताए।

यहाँको तामाखानी सञ्चालन गर्ने हो भने वार्षिक करोडौं रकम राजस्व आम्दानी हुनुका साथै स्थानीयले दीर्घकालीन रोजगारी पाउने बलियो सम्भावना रहेको स्थानीय वृद्धवृद्धाको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.