|

हेटौंडा : राजेन्द्रप्रसाद पाण्डे​ बिहीबार बागमती प्रदेशको तेस्रो मुख्यमन्त्री बनेका छन्।

प्रदेश प्रमुख यादव चन्द्र शर्माले संविधानको धारा १६८ को २ बमोजिम पाण्डेलाई प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले बुधबार पदबाट राजीनामा दिएकी थिइन्।

केन्द्रीय राजनीतिमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका पाण्डेले बागमती प्रदेशको मुख्यमन्त्रीबन्नकै लागि प्रदेशसभा निर्वाचन लडेका थिए। संघीयतामा गएर पहिलोपटक प्रदेश सरकार बन्ने भएपछि नेकपा एमाले उपाध्यक्ष तथा प्रदेशकी निवर्तमान मुख्यमन्त्री शाक्यले पाण्डेलाई मुख्यमन्त्री बन्नुपर्छ भन्दै प्रदेशसभा निर्वाचनमा ल्याएको उनी बताउँछन्।

​शाक्यको आग्रहमा प्रदेशसभा सदस्य बनेका पाण्डेले तेस्रो प्रयासमा बागमती प्रदेशको तेस्रो मुख्यमन्त्रीको रूपमा शपथ लिएका छन्। यसअघि प्रदेश  सरकार गठन हुँदा पाण्डे मुख्यमन्त्री हुने भनेपछि शाक्यले नै मुख्यमन्त्रीमा चासो देखाएपछि पाण्डे पछि हटेका थिए।

दलभित्रको मतदानमा शाक्य डोरमणि पौडेलसँग पराजित भइन् र पौडेल मुख्यमन्त्री बनेका थिए। एमालेको विवाद चर्किँदै जाँदा बागमती प्रदेशमा विभाजनअघि माधव नेपाल पक्षलाई नेतृत्व गर्न दिने छलफल हुन थालेपछि त्यतिबेला पनि पाण्डेले मुख्यमन्त्री बन्ने अग्रसरता देखाएका थिए।

पौडेलका कट्टरविरोधी रहेका पाण्डे दोस्रोपटक पनि शाक्यकै कारण मुख्यमन्त्री बन्न पाएनन्। पार्टी विभाजनको केही समयअघि विवाद मिलाउन अध्यक्ष ओलीलाई भेट्न जाँदा अष्टलक्ष्मीले आफू मुख्यमन्त्री नबन्ने बताएपछि पाण्डेले इच्छा देखाएका थिए।

निवर्तमान मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यका साथ मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे। फाइल तस्वीर

पार्टी विभाजनकै दिन अष्टलक्ष्मी मुख्यमन्त्री बनेपछि पाण्डे र शाक्यको यात्रा छुट्टिएको थियो। लामो समय एमालेबाट राजनीति गरेका पाण्डे हाल नेकपा एकीकृत समाजवादीका तर्फबाट मुख्यमन्त्री बनेका हुन्।​

जन्म र परिवार

पिता नेत्रराज पाण्डे र माता मनमाया पाण्डेका पहिलो सन्तानको रूपमा २०१३ साल जेठ २९ गते धादिङ जिल्लाको तत्कालीन गजुरी पञ्चायत–९ को छेपाङमा पाण्डेको जन्म भएको  थियो। उनीपछि ५ भाइ र ४ बहिनीको जन्म भएको थियो। ग्रामीण विकास विषयमा स्नातकोत्तर गरेका पाण्डेले २०३५ सालमा सीता पाण्डेसँग प्रेम विवाह गरेका थिए। उनीहरूका ३ छोरा छन्।

गजुरी स्कुलमा ७ वर्ष अध्यापन गरेका पाण्डे गीत गाएर अरूलाई प्रभावित पार्थे। उनी जनवादी गीत गाएर विद्यार्थी र आमनागरिकलाई आफूतिर आकर्षित गर्थे। २०३४ सालभर भूमिगत रहेका र ०४२ सालदेखि हालसम्म पूर्णकालीन राजनीति गरिरहेका उनको विगतदेखि वर्तमान यस्तो छ :- ​

राजनीतिक आन्दोलन

पाण्डेका बुवा २०१९ सालमा गजुरी पञ्चायतका पहिला प्रधानपञ्च थिए। राजनीतिक परिवारमा जन्मिएका पाण्डेले ९ वर्षको उमेरबाट राजनीतिक यात्रा सुरु गरेका थिए।

उनले २०२३ सालमा अनेरास्ववियुको जन्म हुँदा स्कुले जीवनबाट राजनीतिमा प्रवेश गरेका थिए। धादिङको पृथ्वी राजमार्ग खन्दा चिनियाँको व्यवहारले उनी चिनियाँ कम्युनिष्टप्रति प्रभावित भएका थिए। कक्षा ९ मा पढ्दा नै उनी स्कुल युनियनको कोषाध्यक्ष बनेका थिए। पाण्डे कक्षा ११ मा पढ्दा भारतमा सिक्किम विलयविरुद्धको आन्दोलन उनको पहिलो थियो।

पाण्डेले २०३२ सालको विद्यार्थी आन्दोलनमा सरस्वती क्याम्पसबाट आन्दोलनको नेतृत्व गरेका थिए। त्यसैगरी उनी २०३२ सालको विद्यार्थी आन्दोलनमा गिरफ्तार भई केन्द्रीय कारागारमा ४२ दिन हिरासत समेत बसे।

उनले २०३६ सालमा बहुदलीय व्यवस्था प्राप्तिका लागि भएको आन्दोलनमा सहभागी, २०३६, २०३८ र २०४२ सालमा सम्पन्न शिक्षक आन्दोलनको नेतृत्व, २०६० देखि ०६२/०६३ सम्म प्रतिगमनविरोधी आन्दोलनमा आन्दोलन परिचालन कमिटीको सचिव भई नेतृत्व गरिसकेका छन्। 

राजनीतिक भूमिका

२०३३ साल श्रावणमा केन्द्रीय कारागारमा जेल कमिटीका सदस्य तथा कोकेको सदस्यता प्राप्त गरेका उनले २०३४ साल श्रावणमा प्रथम भ्याली अर्गनाइजिङ कमिटीको सदस्य बन्ने मौका पाएका थिए। २०३६ कात्तिकमा भएको प्रथम जिल्ला पार्टी सक्रिय दल धादिङको सचिव हुँदै २०४२ सालको पौषपछि २०४७ पौषसम्म नेकपा (माले) जिल्ला कमिटी धादिङको सदस्य बनेका उनी २०४७ साल पौषदेखि २०५२ सम्म नेकपा (एमाले) जिल्ला कमिटी धादिङको पुनः पार्टी सचिव बनेका थिए।

२०५५ मंसिर ५ देखि २०६५ सालसम्म नेकपा (एमाले) को केन्द्रीय कमिटी सदस्य बनेका पाण्डे २०६५ सालदेखि २०७४ सालसम्म नेकपा (एमाले) को पोलिटब्युरो सदस्य बनेका थिए। २०७४ सालदेखि २०७८ भाद्र ९ गतेसम्म नेकपा र नेकपा (एमाले) को केन्द्रीय सदस्य बनेका उनी २०७८ साल भाद्र ९ गतेदेखि नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को प्रथम उपाध्यक्ष बनेका छन्।

जेलजीवन

२०३१ सालमा सिक्किम भारतमा गाभिएपछि त्यसविरुद्ध  सडकमा प्रदर्शन गर्दा पाण्डे पक्राउ परेका थिए। उनले त्यो वेला १७ दिन कारागारमा बिताएका थिए। त्यस्तैगरी २०३२ सालमा झापा आन्दोलनका क्रममा पक्राउ परेका थिए। त्यति वेला उनी ४२  दिन जेल बसेका थिए।

त्यसैगरी पाण्डेले २०३३ सालमा एक वर्ष‚ २०३७ सालमा शिक्षक आन्दोलनका क्रममा २८ दिन, २०३८ सालमा ३६ दिन, २०४२ सालमा ९ महिना, २०४४ सालमा जनपक्षीय जिल्ला सभापतिको हैसियतमा भण्डाफोर नीति लिई फागुन ७ गते भाषण गर्दा तीन वर्ष र ३ हजार जरिवानाको राजकाज मुद्दामा १७ महिनासम्म जेलजीवन  बिताएका थिए।

७ पटक निर्वाचित

हालसम्म ९ वटा निर्वाचनमा भाग लिएका पाण्डे २ पटक पराजित र ७ पटक विजयी बनेका छन्। २०४३ सालमा राष्ट्रिय पञ्चायतको जनपक्षीय उम्मेदवार बनेका पाण्डे २०४४ सा वैशाखमा जनपक्षीय जिल्ला पञ्चायत सभापतिमा निर्वाचित बनेका थिए। त्यसपछि २०४८, २०५१ र २०५६ सालको प्रतिनिधिसभा निर्वाचनमा धादिङ क्षेत्र नं. ३ बाट प्रतिनिधिसभामा लगातार ३ पटक पाण्डे निर्वाचित भएका थिए।

उनले २०५१ देखि २०५३ सालसम्म दलको सचेतक र २०५३ देखि २०५५ सालसम्म प्रमुख सचेतकको भूमिका खेलेका थिए। उनी २०६३ जेठ ८ देखि २०६३ चैत १८ गतेसम्म स्थानीय विकासमन्त्री बनेका थिए। पाण्डे २०६४ सालमा पहिलो संविधानसभा सदस्यमा पराजित भएका थिए। २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा धादिङ क्षेत्र नं. ३ बाट निर्वाचित उनी २०७४ सालको प्रदेशसभा निर्वाचनमा धादिङ क्षेत्र नं. १(१) बाट निर्वाचित भएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.