जम्कट्टेल भन्छन् : एमालेलाई देखाउन शक्ति प्रदर्शन

|

हेटौंडा : बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेको शपथग्रहणमा निकै तामझाम देखियो। 

प्रदेश प्रमुखको कार्यालयमा भएको मुख्यमन्त्री तथा मन्त्रीहरुको शपथग्रहण कार्यक्रममा नेता कार्यकर्ताको भीडले आमसभाकै झल्को दिलायो। 

मुख्यमन्त्री पाण्डेलाई बधाई दिन विभिन्न जिल्लाबाट कार्यकर्ताहरूको उपस्थिती रहेको थियो। प्रदेश प्रमुखको कार्यालय आसपासदेखि हेटौंडा बसपार्कसम्म झण्डै एक सय मिटर उनलाई बधाई दिन आउनेको गाडीको लर्को थियो। केही समय बसपार्क छेउमा सवारी जाम नै भएको थियो।

पाण्डेलाई बधाई दिन उनको गृह जिल्ला धादिङबाट मात्रै करिब १० गाडी कार्यकर्ता आएका थिए। यसअघि मुख्यमन्त्री तथा मन्त्रीहरुको शपथग्रहणमा सञ्चारकर्मीलाई समेत रोक लगाउने प्रदेश प्रमुखको कार्यालयमा बिहीबार भने सयौँको संख्यामा खचाखच कार्यकर्ता भरिएका थिए। 

मुख्यमन्त्री पाण्डेलाई बधाई दिनेको लामो लाइन नै थियो। उनलाई बधाई दिन स्टेज चढेका थाहा नगरपालिका–११ का वडाअध्यक्ष तथा नेकपा एकीकृत समाजवादी युवा संघका अध्यक्ष किरण बल स्टेजबाटै तल खसेका थिए।

उता, नेकपा (एकीकृत समाजवादी) जिल्ला कमिटी सदस्य नवीन पराजुली मुख्यमन्त्री पाण्डेलाई बधाई दिन पालो नपाएको भन्दै झोक्किँदै थिए। बधाई दिन लाइनमा बसेका उनले पालो नपाएपछि सञ्चारकर्मीहरुको छेउमा आएर भने ‘पालो पाइएला जस्तो छैन।’ पराजुली पाण्डेलाई बधाई दिनका लागि मात्रै चितवनबाट हेटौंडा आइपुगेका थिए। 

गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जम्कट्टेलले एमालेलाई देखाउनका लागि शपथग्रहणलाई भव्य बनाएको प्रतिक्रिया दिए। उनले भने ‘उनीहरुले कसरी खुसुक्क शपथग्रहण गरेका थिए? त्यसैले देखाउनका लागि यो सबै गरिएको हो। शक्ति प्रदर्शन गर्नु परेन त ?’

जम्कट्टेलले एमालेबाट विभाजित पार्टीबाट पाण्डे मुख्यमन्त्री बनेको हुँदा पनि शक्ति प्रदर्शनका लागि शपथग्रहण समारोहलाई भव्य बनाइएको बताए। त्यसो त, बुधबार सरकार गठनका लागि मुख्यमन्त्री दाबी गर्दै प्रदेश प्रमुखको कार्यालयमा जाँदा नै मुख्यमन्त्री पाण्डेले कार्यक्रम गर्ने स्थानको बारेमा प्रदेश प्रमुखसँग छलफल गरेका थिए।

बहुमत सदस्यहरुको हस्ताक्षर बुझाउँदै उनले शपथग्रहण कार्यक्रम कार्यालयको हलमा नभएर बाहिर चौरमा टेण्ट हालेर गर्नुपर्ने बताएका थिए।

प्रदेश प्रमुख अस्वस्थ रहेकाले उनी माथिल्लो तलाबाट तल ओर्लिन नसकेपछि पाण्डेले प्रदेश प्रमुख कार्यालयका सचिवलाई आफ्नो शपथग्रहणका लागि टेण्टको सजावट कसरी गर्ने भन्ने बारेमा सिकाएका थिए। लगत्तै गठबन्धनमा रहेको नेपाली कांग्रेसको संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले टेण्टवालालाई फोन गरेर बिहीबार बिहानसम्ममा टेण्टको सजावट गर्न निर्देशन दिएका थिए।

पटक पटकको प्रयासपछि मुख्यमन्त्री बन्न सफल भएका पाण्डेले शपथग्रहणमा हतारिएर प्रदेश प्रमुखले उच्चारण गर्नुअघि नै शब्दहरू उच्चारण गरेका थिए। प्रदेश प्रमुख शर्माले पनि शपथग्रहण गराउँदा ‘सरकारको जिम्मेवारी’ भन्नुपर्नेमा ‘दलको जिम्मेवारी’ भनेका थिए। लगत्तै उनले आफूबाट गल्ती भएको भन्दै सही उच्चारण गरेका थिए। 


 
    

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.