|

पर्वत : गत असार १ गते मादी नदीमा आएको बाढीका कारण घर गुमाएका कास्कीको मादी गाउँपालिका–१ सोंदा र आसपासका पीडितहरूलाई गण्डकी प्रदेश सरकारले राहत वितरण गरेको छ।

प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, बिनाविभागीय मन्त्री डोवाटे विश्वकर्मा, माओवादी केन्द्रका प्रमुख सचेतक गायत्री गुरुङ, पूर्व मन्त्री यज्ञबहादुर थापा, गण्डकी प्रदेशका प्रमुख सचिव डा. दामोदर रेग्मी, कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीलगायतको टोलीले पीडितलाई गाउँमै पुगेर राहत रकम हस्तान्तरण गरेको हो।

बाढीका कारण पूर्ण क्षति भोगेका ११ परिवारलाई जनही एक लाख रुपैयाँका दरले मुख्यमन्त्री पोखरेलले राहत हस्तान्तरण गरेका हुन्। बाढीपहिरोले घर पूर्ण क्षति पुगेकाहरूलाई मनाङको हकमा दुई लाख र अरू जिल्लामा एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय प्रदेश सरकारले गरेको थियो।

सोही निर्णयअनुसार सोंदाका भौमाया जैशी, चित्रकुमार गुरुङसेनी, टेकबहादुर गुरुङ, पुष्पा गुरुङ, हर्कबहादुर गुरुङ, लक्ष्मी गुरुङ, चित्रबहादुर गुरुङ, बोधराज बराल, हुमप्रसाद गुरुङ, केशबहादुर गुरुङ र दूधराज गुरुङलाई राहत प्रदान गरिएको हो।

मुख्यमन्त्री पोखरेलले प्रदेश सरकार नागरिकको सुख दुखमा सधैँ साथमा रहेको बताए। ‘तीन तहका सरकारका आ–आफ्नै दायित्व र अधिकार क्षेत्र छन्, प्रदेश सरकारले आफ्नो क्षेत्रभित्र रहेर क्षमताले धानेसम्म दायित्व निर्वाह गर्न तत्पर छ,’ उनले भने, ‘यहाँका जनताको दुःख हाम्रै दुःख हुन्। जहाँ नागरिकलाई सास्ती हुन्छ त्यहाँ सरकार पनि निदाउँदैन, गण्डकी प्रदेश सरकार नागरिकको सहजताको लागि सकेसम्मको प्रयासमा छ।’

बाढीपहिरोले मादीमा धेरै क्षति भएको आफूले देखिसकेको भन्दै उनले बाढीलगत्तै बाटोघाटो खुलाउनका लागि केही रकम प्रदान गरेको र अब पनि थप रकमका लागि पहल गर्ने प्रतिबद्धता जनाए।

विकास र सहयोगका काममा कसैले पनि राजनीति गर्न नहुने उनले बताए। गण्डकी प्रदेशका प्रमुख सचिव डा. दामोदर रेग्मीले प्रक्रिया पूरा गर्ने क्रममा राहत वितरण गर्न केही ढिलाइ भएको बताए।

बाढी पहिरोले घर पूर्ण क्षति हुनेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पनि रकम उपलब्ध गराउने भएकाले यसका लागि जनप्रतिनिधिले पहल गरिदिन आग्रह गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.