विज्ञ भन्छन्, यसको दिगाे समस्या समाधान भएन भने अकालमा धेरैको ज्यान जान्छ

|

काठमाडौं : गत सोमबार नयाँ बानेश्वर चोकअगाडिको मूल सडककाे बीचमा ठूलो भ्वाङ पर्‍याे। त्यहाँ खटिएका एक ट्राफिक प्रहरीका अनुसार पहिला सडक भासिएको थिएन। माइतीघर मण्डलातर्फ स्कुटर जाँदै गर्दा सडक भासियो।

‘पहिला सडक केही भएको थिएन, स्कुटर गुडिरहेका वेला सडक प्वाल परेर स्कुटरको अगाडिको पार्ट भाँचियो, धन्न चालकलाई केही भएन’‚ ती प्रहरीले भने। 

उनका अनुसार एक मिटर गोलाइ र करिब पन्ध्र फिट जतिको खाल्डो देखिएको थियो। पछि एस्काभेटर ल्याएर खनेपछि झन्डै पाँच मिटर लम्बाइ, त्यति नै चौडाइ र करिब पन्ध्र फिट गहिरो खाल्डो बनेको छ।

अहिले खाल्डो पुर्ने काम भइरहेको र खाल्डो पुर्न अझै एक साता लाग्ने उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलनकुमार शाक्यले बताएका छन्। मंगालको भित्ता भत्किएको र पानी धेरै आएकाले भित्री भाग बगाएको हुँदा खाल्डो भएको उनको भनाइ छ।

यसैगरी गोकर्ण–आरुबारी–चामुण्डा सडक बीचमा पनि भासिएर सडक खाल्डाे परेकाे छ। ती खाल्डामा एउटा बाँस गाडिएको छ। करिब एक साता बितिसक्दा पनि सम्बन्धित निकायले थप मर्मत केही गरेको छैन। 

                                                                                        भासिएको नयाँ बानेश्वरको मूल सडक

धोबीखोला करिडोरको रातोपुल छेउकै बीच सडक यसैगरी भासिएको छ। जसकारण दुर्घटना हुने जोखिम छ। दुई साता बितिसक्दा पनि बनाइएको छैन।

यी सडकमा मात्र नभई काठमाडौं उपत्यकाभित्रका अधिकांश सडकको मुख्य चोक चोकमा वेलाबखत सडक भासिने गरेको छ।

असोज महिनामा चावहिल–आरुबारी सडक खण्डको बौद्ध तीनचुली चोकमा पानी पर्दा सडकमा ठूलाे खाल्डाे परेको थियो। जसकारण झन्डै एक सातासम्म त्यस ठाउँमा सवारी आवतजावतमा समस्या भयो। 

सडक भासिएकोबारे यसो भन्छन् विज्ञ 

सडक विभागका पूर्व महानिर्देशक रवीन्द्रनाथ श्रेष्ठ सडकभित्र हालिएको ढल पुरानो हुँदै जाँदा सडक भासिने समस्या आउने गरेको बताउँछन्। उनले भने, ‘सडकमा हालिएका ढल धेरै पुराना भइसके। त्यसैले पानी पर्दा ढलकाे पानी पाइपबाहिर लिक भएर निस्किन्छ, पानी नपरेका वेला माटो झर्छ र सडक भासिन्छ। नयाँ बानेश्वरमा पनि त्यही भएको हो।’

उनका अनुसार यी समस्या नेपालमा मात्र नभई विकसित देशहरूमा पनि यस्तै समस्या आउने गर्छ। ‘यसलाई पूर्णरूपमा व्यवस्थित गर्न सकिँदैन, वेलावेला यस्तो समस्या भइरहन्छ’‚ उनले भने। 

                                                                                भासिदै गएको धोबीखोला करिडोरको ढल

पूर्वाधारविद् सूर्यराज आचार्य सडक भित्रभित्रै पानी चुहिँदा सडक भासिने समस्या हुने बताउँछन्। उनले भने, ‘सडकभित्र ढल हालिएको हुन्छ,त्यहाँको पानी चुहिन्छ, ग्राउण्ड वाटरको पानी पनि सडकभित्रै सोसिन्छ, पानीको निकास नहुँदा माटो भासिने समस्या आउँछ।’

उनका अनुसार वर्षाको समयमा पानी सडक भित्र सोसिन्छ। त्यो पानीले भित्रभित्रै कुलो बनाएको हुन्छ र सुक्खाको समयमा माटो आफैं झर्दै जान्छ। त्यसपछि सडक भासिन्छ।

‘यस्ता समस्या नेपालमा मात्र नभई अरू देशमा पनि देखा पर्छ’‚ आचार्यले भने। पहिला नै खाल्डा भएका सडक भने अहिलेसम्म पनि नपुर्नु सरकारको लापरबाही रहेको उनले बताए।

‘अहिले पनि हिँड्दै गर्दा ढल ह्वाङ्गै देखिन्छ, यसले धेरै जोखिम निम्त्याउँछ, तत्काल सरकारले मर्मत गर्न जरुरी छ’‚ उनले भने। महानिर्देशक अर्जुनजंग थापा ढलका कारण अधिकांश सडक भासिने गरेको सुनाउँछन्।

                                                                        भासिएको गोकर्ण -जोरपाटी -अरबबैंक सडक

कसरी गर्ने दिगो व्यवस्थापन?

पूर्वाधारविद् आचार्यका अनुसार सडक भासिने समस्याकाे दिगो समाधान पनि छ। उनी भन्छन्, ‘ढल राख्नुभन्दा पहिला नै सडकभित्र चुहिएको पानी निकास दिने व्यवस्था गर्नुपर्छ, ढल र खानेपानीको पाइप राख्दा राम्रोसँग जोड्नुपर्छ, गुणस्तरीय पाइप हाल्नुपर्छ। यसो गरेमा सडक भासिने सम्भावना कम हुन्छ।’

उनका अनुसार सडक भित्रभित्रै पानीले कुलो बनाउँदा नै सडक भासिने गरेको हो। यदि चुहिएको पानीलाई पाइपमार्फत नै निकास दिएमा जमिन पनि समतलमै रहन्छ। विभागका महानिर्देशक श्रेष्ठले पनि पहिला हालिएका ढल पुनः मर्मत गरिएमात्र सुधार आउने र बारम्बार घटना नदोहोरिने बताउँछन्। 

६ वर्षमा खाल्डोमा परी ३० सवारीसाधन दुर्घटना

उपत्यकाका सडकमा बनेका खाल्डामा परी ६ वर्षमा ३० वटा सवारीसाधन दुर्घटना भएका छन्‚ मानवीय क्षति भने भएको छैन। ११ जना साधारण घाइते भएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार आव २०७३/७४ मा चारवटा सवारीसाधन खाल्डामा परेका थिए। जसबाट १ जना साधारण घाइते भएका थिए।

आव २०७४/७५ मा तीन, २०७५/७६ मा पाँचवटा सवारीसाधन खाल्डामा परेका थिए। त्यसवेला दुईजना साधारण घाइते भएका थिए। २०७६/७७ मा कुनै घटना घटेको छैन भने बढी २०७७/७८ मा सवारीसाधन खाल्डामा परेर दुर्घटना भएको छ।

यो अवधिमा १३ सवारीसाधन खाल्डामा पर्दा ६ जना साधारण घाइते भएका थिए। चालु वर्ष २०७८/७९ मा पाँचवटा सवारीसाधन दुर्घटना भएका छन्। जसबाट दुईजना साधारण घाइते भएको प्रहरीले जनाएको छ।  

‘१० दिनभित्र उपत्यकाभित्रका सबै खाल्डा टालिन्छ’

उपत्यकाका धेरै सडकका ढल ह्वाङ्गै राखिएका छन्। कलंकीचोक छेउमै करिब ९ महिनादेखि ढलको मंगाल छोपिएको छैन। जसकारण यतिखेर जोखिम मोलेर सर्वसाधारण ओहोरदोहोर गरिरहेका छन्।

यस्ता खाल्डा सम्बन्धित निकायले  व्यवस्थापन नगर्दा अकालमै धेरै नागरिकले ज्यान गुमाइसकेका छन्। गत असोज ४ गते कपनको मिलनचोकमा पानी परेका वेला १० वर्षीय उज्ज्वल विश्वकर्मा ढलमा खसेर बेपत्ता भएका थिए। उनको शव असोज १० गते ललितपुरको बागमती किनारमा भेटिएको थियो।

                                                                        ९ महिनादेखि ह्वाङ्गै राखिएको कलंकी चाेक नजिकैकाे सडक

अझै पनि समयमा खाल्डा व्यवस्थापन नगरिए धेरैको ज्यान जाने निश्चित छ। विभागका महानिर्देशक थापा भने अबको १० दिनभित्र उपत्यकाभित्रका सबै सडकका खाल्डा पुरिसक्ने दाबी गर्छन्।

उनी भन्छन्, ‘नयाँ बानेश्वरको सडक बनेको ३० वर्ष जति भयो, पानी परेको र भित्र ढल लिकेज भएर भासिएको हो, बन्दै छ। अरू ठाउँमा पनि यसैगरी मर्मत गर्दै जानेछौँ। अबको १० दिनभित्र उपत्यकाभित्रका सबै खाल्डा पुरिसक्छाैँ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.