|

काठमाडौं :  लामो समयदेखि बन्द रहेका नेपालका फिल्म हलमा दशैँको अवसर पारेर असोज २१ देखि फिल्म प्रदर्शन हुन थाले।

दुई विदेशी र एउटा नेपाली फिल्म हलमा हुँदा पनि दशैँमा पहिलेको जस्तो चहलपहल भने हुन सकेन। 

शुक्रबारदेखि भने फिल्म हलमा चहलपहल केही बढेको छ। हलिउड फिल्म 'भेनमः लेट देयर बि कार्नेज' र 'ड्युन' प्रदर्शनमा आएसँगै हल खुलेको तीन सातापछि चहलपहल बढेको हो। 

यतिबेला हलमा तीन वटा फिल्म छन्। ती सबै हलिउड फिल्म हुन्। 'भेनम' र 'ड्युन' बाहेक 'नो टाइम टु डाई' यतिबेला हलमा छ।

दशैँ फूलपातीको दिन प्रदर्शनमा आएको नेपाली फिल्म 'डाँडाको बरपीपल' भने हलबाट उत्रिसकेको छ। 

हल खुले पनि कुल सिट क्षमताको ५० प्रतिशत दर्शकलाई मात्र प्रवेश गराउने नियम भने यथावत नै छ।

हलहरूले सबैभन्दा बढी शो एन्डी सर्किसको निर्देशनमा बनेको 'भेनमः लेट देयर बि कार्नेज' लाई दिएका छन्। मार्बल कमिक्समा आधारित फिल्म भेनम सिरिजको दोस्रो फिल्म हो। 

गत सेप्टेम्बर १४ मा लन्डनबाट प्रदर्शन सुरु गरेको फिल्मले अक्टोबर १ देखि अमेरिकामा प्रदर्शन थालेको थियो।

कोरोनाले सिर्जना गरेको असहज वातावरणका बाबजुद राम्रो व्यावसायिक सफलता हात पार्ने फिल्म मध्येमा 'भेनम' पनि गनिन्छ।

लगभग ११ करोड अमेरिकी डलरमा बनेको फिल्मले साढे ३० करोड अमेरिकी डलरभन्दा बढी व्यापार गरिसकेको छ भने धेरै देशमा अझै पनि सबैभन्दा धेरै शोसहित यो फिल्म प्रदर्शन भइरहेको छ। 

फिल्ममा टम हार्डी, माइकल विलियम, नाओमी ह्यारिस, रेड स्कटलगायत कलाकारको मुख्य भूमिका छ। 

सन् २०१८ मा प्रदर्शनमा आएको 'भेनम'ले आफ्नो लगानीको झण्डै ८ गुणा बढी कमाइ गरेको थियो र निर्देशन रुवेन फ्लेचरले गरेका थिए।

'ड्युन'

त्यस्तै 'भेनम'पछि सबैभन्दा धेरै शो 'ड्युन' ले पाएको छ। फ्र्यान्क हर्बर्टको साइन्स फिक्सन 'ड्युन'मा आधारित फिल्म गत सेप्टेम्बर ३ मा भेनिस फिल्म फेस्टिवलमा प्रिमियर भएको हो।

फिल्म अक्टोबर २२ देखि अमेरिकामा प्रदर्शन सुरु भएको हो।

डेनिस विलेनुवको निर्देशनमा बनेको यो फिल्मलाई पनि दर्शकले मन पराएका छन्।

१५ करोड अमेरिकी डलरको लगानीमा निर्मित फिल्मले प्रदर्शनमा आएको दुई सातामै झण्डै साढे २२ करोड अमेरिकी डलर कमाइ गरिसकेको छ। 

फिल्ममा टिमोदि कालामेट केन्द्रीय भूमिकामा देखिएका छन् भने रेवेका फर्गुसन, अस्कर आइज्याक, जोश ब्रोलिन, डेब बाटिस्टा, जेसन ममोआलगायत कलाकारको मुख्य भूमिका रहेको छ। 

'भेनम' र 'ड्युन' सँगै 'नो टाइम टु डाई' पनि यतिबेला हलमा छ।

केरी जोजी फुकुनागाको निर्देशनमा बनेको फिल्म शुक्रबारदेखि तेस्राे सातामा प्रवेश गरेकाे छ।

तुलनात्मक रुपमा 'नो टाइम टु डाई'ले थोरै शो पाएको छ भने यसमा दर्शकको चाप पनि घट्दो छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.