|

काठमाडौं : नेपालमा अब ३ करोड ३४ लाख ५० हजार १ सय ६० मात्रा कोरोनाविरुद्धको खोप आउन पाइपलाइनमा छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको विवरणअनुसार सिनोफर्म, फाइजर, मोडर्ना, जोन्सन एन्ड जोन्सन, भेरोसेल, एष्ट्राजेनेकालगायत खोप नेपाल आउन लागेको छ।

स्विट्जरल्यान्ड सरकारले दिने एस्ट्राजेनेका १ लाख ४४ हजार मात्रा खोप पनि आउने पाइपलाइनमा छ। कोभ्याक्सअन्तर्गतको १ लाख ८८ हजार १ सय ६० मात्रा मोडर्ना खोप नोभेम्बर/डिसेम्बरभित्र आउने पाइपलाइनमा छ।

एस्ट्राजेनेका खोप २ लाख १ हजार ६ सय मात्रा खोप आज माल्दिभ्सबाट आउने भनिए पनि सो खोप आइतबारमात्र आउने स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाले जनाएको छ।

व्यवस्थापन महाशाखाअन्तर्गतको आपूर्ति शाखा प्रमुख उपेन्द्र ढुंगानाले सबै खोप तालिकाअनुसार नै आउने बताए। ‘सबै खोप तालिकाअनुसार नै आउँछन्, माल्दिभ्सबाट आज एस्ट्राजेनेका आउने तालिका थियो तर अब आइतबार आउने भएको छ,’ उनले भने।

सिनोफर्मको १९ लाख मात्रा खोप नोभेम्बर २ सम्म आउने बताइएको छ। त्यस्तै सरकारले किनेको ६० लाख मात्रा फाइजरको खोप ३/४ महिनाभित्र आउने बताइएको छ।

मन्त्रालयका अनुसार सरकारले कोभ्याक्समार्फत खरिद गरेर ल्याउन खोजेको ४९ लाख १६ हजार ४ सय मात्रा सन् २०२१ भित्रै आउने छ।

त्यस्तै मोडर्नाको ५० लाख मात्रा र सिनोफार्मको ५० लाख मात्रा खोप सन् २०२२ को सुरूमै आउने  छ।

जोन्सन एन्ड जोन्सनको ५० लाख मात्रा र नाम नखुलेको ६१ लाख मात्रा खोप पनि आउने मन्त्रालयको विवरणमा उल्लेख छ।​

म्याद गुज्रिन थालेपछि खोप दिने दाता थपिँदै

पछिल्लो समय विश्वमा विभिन्न कम्पनीले कोरोनाविरुद्धको खोप उत्पादन प्रक्रिया तीव्र भएकाले खोप दिने विभिन्न दातृ निकाय तथा देशले नेपाललाई खोप दिन प्रतिबद्धता जनाउन थालेका छन्।

खोपको म्याद सकिन लागेपछि माल्दिभ्स मात्र होइन घाना र बुर्किना फासो पनि नेपाललाई खोप दिन तयार देखिन्छन्।

धेरै खोप भएका र तत्काल प्रयोग हुने सम्भावना नभएपछि माल्दिभ्ससहितका देशले नेपाललाई खोप दिन लागेका हुन्। भुटानले पनि नेपाललाई यही कारणले खोप दिएको हो।

म्याद गुज्रिन थालेपछि अन्य देशले पनि नेपाललाई खोप दिन चासो देखाएको स्वास्थ्य मन्त्रालयका अधिकारीले बताएका छन्।

‘अब खोपको अभाव हुँदैन, खोप धेरै थुप्रिएर म्याद गुज्रिन थालेपछि खोप दिने दाता थपिन थालेका छन्,’ मन्त्रालयका एक अधिकारीले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.