|

हेटौंडा : बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेशमा रहेका मन्त्रालय फुटाएर भागबण्डा मिलाउने भएका छन्।

बिहीबार मुख्यमन्त्री बनेका पाण्डेले हाल प्रदेशमा रहेका ८ वटा मन्त्रालय फुटाई १३ वटासम्म बनाएर गठबन्धनमा भाग पुर्‍याउने तयारी गरेका हुन्।

बुधबार एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि गठबन्धनले पाण्डेको नेतृत्वमा सरकार गठन गरेको थियो। तत्कालका लागि नेकपा एकीकृत समाजवादीबाट मुख्यमन्त्रीसहित २, कांग्रेस र माओवादीबाट १/१ जना मन्त्री बनेका छन्।

पाण्डेले मुख्यमन्त्री भएपछि पहिलोपटक तिहारअघि संसद् बोलाउने र तिहारपछि विश्वासको मत लिएर मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेको स्रोतले बताएको छ।

स्रोतका अनुसार गठबन्धनमा सहभागी दलहरूमा हाल प्रदेशमा रहेका ८ वटा मन्त्रालयले मात्रै भागबण्डा नपुग्ने भएपछि मन्त्रालय विभाजन गरेर भागबण्डा लगाउने तयारी गरिएको हो।

साढे ३ वर्षसम्म डोरमणि पौडेलले ७ मन्त्री र १ राज्यमन्त्रीबाट प्रदेश सरकार चलाउँदै आएकोमा मुख्यमन्त्री शाक्यले ८ मन्त्री र ४ राज्यमन्त्री गरी १२ सदस्यीय मन्त्रिपरिषद् बनाएकी थिइन्। शाक्यले ठूलो संख्यामा मन्त्रिपरिषद् विस्तार गरेको भन्दै विरोध भएको थियो।

मुख्यमन्त्री पाण्डेले गठबन्धनमा रहेका ४ दललाई भाग पुर्‍याउन ८ वटा मन्त्रालयलाई फुटाएर १३ वटा बनाउने तयारी गरेका छन् भने राज्यमन्त्री छुट्टै हुनेछन्। स्रोतले दिएको जानकारीअनुसार हालसम्म गठबन्धनमा छलफल भएअनुसार सामाजिक विकास मन्त्रालयलाई फुटाएर थप २ वटा मन्त्रालय बनाइनेछ।

यसअघि मुख्यमन्त्री शाक्यले सामाजिक विकास मन्त्रालय फुटाएर स्वास्थ्य मन्त्रालय बनाएकी थिइन्। त्यसलाई पुनः विभाजन गरेर थप दुईवटा मन्त्रालय गठन गरिने भएको हो। जसमा खेलकुद विकास मन्त्रालय र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय बनाउने तयारी गरिएको छ।

त्यसैगरी भौतिक पूर्वाधार विकास मन्त्रालयलाई फुटाएर ऊर्जा तथा खानेपानी मन्त्रालय बनाउने छलफल भइरहेको स्रोतको दाबी छ। स्रोतका अनुसार भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयलाई पनि विभाजन गरेर कृषि मन्त्रालय छुट्टै बनाउने र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयलाई विभाजन गरेर वन तथा वातावरण मन्त्रालय बनाउने मुख्यमन्त्री पाण्डेको तयारी छ।

गठबन्धनमा सहभागी दलका एक सांसदका अनुसार १३ जनासम्म फूल मन्त्री नै बन्नेछन् भने बाँकी राज्यमन्त्री कति बन्ने भन्ने टुंगो लागिसकेको छैन। थाहाखबरसँग कुरा गर्दै उनले भने, ‘अहिलेसम्म कुन कुन मन्त्रालय फुटाएर कति मन्त्री बनाउने भन्ने निर्णय त भइसकेको छैन तर १२-१३ जनासम्म फूल मन्त्री बनाउने र बाँकी राज्यमन्त्रीको भागबण्डा लगाउने तयारी छ।’

उनका अनुसार नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले ५/५ वटा मन्त्री पाउने सम्भावना छ भने समाजवादीले मुख्यमन्त्रीसहित ३ जना मन्त्री पाउने गरी छलफल भइरहेको छ। जसअनुसार कांग्रेस र माओवादीबाट थप ४/४ जना र समाजवादीबाट १ जना मन्त्री बन्ने भएका छन्।    

 

 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.