|

म्याग्दी : अन्नपूर्ण गाउँपालिका-३ दाना क्षेत्रको अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने रुप्से झरनामा रमाउन आउने आन्तरिक पर्यटकका कारण झरनाको रौनक बढ्दै गएको छ।

बेनी–जोमसोम–कोरला सडकखण्ड (कालीगण्डकी करिडोर) अन्तर्गत पर्ने रुप्से झरनामा विभिन्न जिल्लाका आन्तरिक पर्यटकहरूको घुइँचो लाग्ने गरेको छ। मुस्ताङ भ्रमणमा आउने प्रायः पर्यटकहरूले रुप्से झरनामा समय बिताउने गरेका छन्।

गत वर्ष आएको बाढी र पहिरोले रुप्से झरना नजिकका पर्यटकीय पूर्वाधार बगाएको थियो। ती पुनः पूर्वाधार निर्माण गरिएका छन्। कोरोना संक्रमणको जोखिम कम हुँदै गएपछि रुप्सेमा रमाउन आएका पर्यटकहरूको कारण रुप्से झरना पुनः पुरानै लयमा फर्किएको हो।

विश्वको सबैभन्दा गहिरो अन्धगल्छी र मनमोहक रुप्से झरना एकै स्थानमा अवस्थित छन्। रुप्से झरना र अन्धगल्छीको पर्यटकीय सम्भावना भए पनि स्थानीयवासीले उचित लाभ लिन भने सकेका छैनन्। पर्यटकहरूलाई निःशुल्क अवलोकन गर्न दिइँदा लाभ लिन नसकेको स्थानीयवासीले बताएका छन्।

रुप्से झरना र अन्धगल्छीसम्म पुग्न व्यवस्थित पदमार्ग र अवलोकनका लागि भ्यू टावरका साथै अवलोकनकर्ताका लागि उचित बास र शौचालयको समेत व्यवस्था हुनुपर्ने पर्यटकहरूको माग रहेको छ।

अन्नपूर्ण गाउँपालिका प्रमुख डमबहादुर पुनले आधारभूत आवश्यकताको पूर्वाधार विकासमा गाउँपालिकाले अब प्राथमिकताका साथ बजेट विनियोजन गर्ने बताए। झरनामा कान्छा भूमेदेवताको बासस्थान रहेको विश्वासले हरेक वर्षको जेठमा स्थानीयवासीले बोको बलि चढाउने गर्छन्। झरनालाई धार्मिक दृष्टिकोणले समेत पर्यटकीय गन्तव्य बनाउन सकिने सम्भावना देखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.