|

ओटिटी प्लाटफर्ममा निक्कै रुचाइएका बलिउड अभिनेता नवाजुद्दिन सिद्दिकीले अबदेखि डिजिटल प्लाटफर्ममा काम नगर्ने घोषणा गरेका छन्। डिजिटल प्लाटफर्म ‘धन्दा’ बनेको भन्दै उनले अबदेखि डिजिटल प्लाटफर्मका लागि काम नगर्ने बताएका हुन्।

ओटिटी प्लाटफर्म फोहोर फाल्ने ठाउँ जस्तै बनेको उनको दाबी छ। 'यी प्लाटफर्ममा यस्ता यस्ता शोहरू आइरहेका छन्‚ जुन एकपटक पनि हेर्न लायक छैनन्‚’ उनले भनेका छन्, ‘त्यस्ता शोहरूको सिक्वेल आउँदैछ। खासमा ओटिटी प्लाटफर्म अब एउटा डम्पिङ ग्राउण्ड बनेको छ।'

ओटिटी प्लाटफर्मको पछिल्लो अवस्था देखेर आजित भएको जनाउँदै उनले भनेका छन्, 'जतिबेला मैले नेटफ्लिक्सका लागि सेक्रेड गेम्स गरेको थिएँ‚ त्यतिबेला डिजिटल प्लाटफर्ममा हेर्न लायक धेरै कुरा थिए। नयाँ प्रतिभाहरूलाई मौका दिइँदै थियो। तर अब त्यो फ्रेशनेस छैन। यो अब ठूला प्रोडक्सन हाउस र कलाकारका लागि धन्दा बनेको छ। त्यहीँबाट ओटिटी प्लाटफर्ममा कथित स्टार बनेका छन्।' 

धेरै गर्ने चक्करमा गुणस्तरमा सम्झौता गरिएको गुनासो गर्दैै उनले भनेका छन्, 'बलिउडमा मुख्य फिल्म निर्माताले ओटिटी प्लाटफर्महरूसँग आकर्षक सम्झौता गरेका छन्। धेरैभन्दा धेरै कन्टेन्ट बनाउनका लागि मेकर्सलाई ठूलो रकम दिइएको हुन्छ। धेरैको चक्करमा क्वालिटी खस्कियो।' 

'जब म नै त्यो देख्न सक्दिनँ भने म त्यो गर्न कसरी सक्छु?' ओटिटीबाट स्टार बनेका कलाकारको विषयमा बोल्दै उनले भनेका छन्, 'यो स्टार सिस्टमले ठूलो पर्दालाई खाइदियो। अब हामीसँग भन्नका लागि ओटिटीमा यस्ता स्टार छन्‚ जो जो फिसको रुपमा मोटो रकम लिन्छन् र बलिउड ए लिस्टका स्टारको जस्तो नखरा देखाउँछन्। उनीहरू बिर्सिन्छन् कि मुख्य कुरा भनेको कन्टेन्ट हो।' 

'त्यो जमाना गयो जब स्टारले राज गर्थे। यो लकडाउन र डिजिटल वर्चस्वभन्दा अघि ए लिस्टर आफ्ना फिल्म देशभरिका तीन हजार पर्दामा एकैपटक रिलिज गर्थे। मान्छेहरूसँग त्यतिबेला विकल्प थिएन त्यसैले त्यो हेर्थे। तर अब उनीहरूसँग हेर्नको लागि धेरै थोक छन्।'

नवाजले नेटफ्लिक्ससँग 'सेक्रेड गेम्स', 'सिरियस म्यान', 'रात अकेली हे' लागयतका फिल्म तथा सिरिजमा सहकार्य गरेका छन् भने जिफाइवको 'घुमकेतु'मा पनि देखिएका छन्।

ओटिटी प्लाटफर्मका कारण लाखौँ अन्तर्राष्ट्रिय प्रसंसक कमाएका नवाजले अबदेखि ओटिटी प्लाटफर्मसँग काम नगर्ने घोषणा गरेपछि बलिउडमा एउटा तरङ्ग आएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.