लेबनानसँग ४ गोलले पराजित,  १४ गोल खाँदा एउटै गोल गर्न पनि असफल

|

काठमाडौं : नेपाल एएफसी यू–२३ एसियन कप छनोटका ३ वटै खेलमा ठूलो अन्तरले पराजित भएको छ।

नेपाल ताजिकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा सम्पन्न अन्तिम खेलमा लेबनानसँग ४–० गोलले पराजित भयो।

नेपाल पहिलो खेलमा इरानसँग ४–० र दोस्रो खेलमा ताजिकिस्तानसँग ६–० गोल अन्तरले पराजित भएको थियो।

अघिल्ला २ खेलमा पराजित भएर अर्को चरणमा पुग्ने संभावना गुमाइसकेको नेपालले तेस्रो खेलमा लेबनानको चुनौती पन्छाउन सकेन।

लगातार २ खेल हारेको लेबनान पनि नेपालसँगको प्रतिस्पर्धाअघि नै छनोटको होडबाट बाहिरिइसकेको थियो।

प्रतियोगितामा १४ गोल खाएको नेपालले एक गोल पनि गर्न सकेन।

सुरुकै खेलदेखि फराकिलो हार बेहोरेको नेपाल सबै खेलमा निरीह देखियो।

लेबनानको जितमा आइतबार जेइन फरानले २ गोल गर्दा अरु २ गोल मोहमद नासिर र मोहमद हेइदरको नाममा रह्यो।

खेलको २६ औं मिनेटमा फरानको गोलबाट अग्रता बनाएको लेबनान पहिलो हाफमा १ गोलले अगाडि बढ्यो।

दोस्रो हाफमा लेबनानले ३ गोल थप्यो। ४७ औं मिनेटमा फरानले अर्को गोल थपे।

त्यसपछि २७ मिनेटसम्म २ गोलको अग्रतामा रहेको लेबनानले खेलको ७४ औं मिनेटमा मोहमद नासिरको गोलबाट अग्रता तेब्बर बनायो।

खेलको ८२ औं मिनेटमा हेइदरले गोल गरेपछि लेबनान ४–० ले विजयी भयो।

जितसँगै लेबनानले सान्त्वना जित दर्ता गर्दै सुखद अन्त्य गर्‍यो।

समूह ’बी’ मा हारपछि नेपाल समूहको पुछारमा रह्यो। लेबनान ३ अंक जोडेर तेस्रो स्थानमा रह्यो भने नेपालले कुनै अंक जोड्न सकेन। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.