|

इन्टरनेट युग सुरु भएसँगै खुल्न थालेका डिजिटल प्लाटफर्महरूको लोकप्रियता कोरोनाकाल सुरु भएपछि ह्वात्तै बढ्यो।

सिनेमा हल बन्द भएपछि त्यसको राम्रो विकल्पका रुपमा धेरैले नेटफ्लिक्स, अमेजन प्राइम, सोनी लाइभ, डिज्नी प्लस हटस्टार जस्ता डिजिटल प्लाटफर्म हेर्न थाले। 

डिजिटल प्लाटफर्मले ल्याएको सबैभन्दा ठूलो परिवर्तन भनेको यसले विश्वभर बनेका फिल्म तथा सिरिजलाई एकै ठाउँमा राख्ने र एकै ठाउँबाट हेर्ने सुविधा बनाइदियो।

यसले गर्दा नै विश्वको सबैभन्दा ठूलो र विकसित फिल्म उद्योग हलिउडदेखि अफ्रिकी मुलुक घानाको घलिउडसम्मका फिल्म एकै ठाउँमा हेर्न पाइने भयो।

डिजिटल प्लाटफर्मको लोकप्रियतासँगै वेब सिरिजको लोकप्रियता पनि ह्वात्तै बढ्यो।

ओटिटीले गर्दा राम्रा सिरिज हेर्न चाहनेले जुनसुकै देशमा बसेर जुनसुकै देशमा बनेका सिरिज पहिलेभन्दा सजिलो गरी हेर्न पाए।

पहिले सिरिजको बारेमा थाहा नपाएका धेरैले थाहा पनि पाए।

कुनै समय प्रसारणको लागि टेलिभिजन नपाएको स्पेनिस सिरिज 'ल कासा डे पापेल' (मनी हेइस्ट) नेटफ्लिक्सबाट प्रसारण हुँदा विश्वको सर्वाधिक रुचाइएको सिरिज मध्येमा पर्‍यो।

दुई सिजनको लागि मात्र भनेर बनाइएको सिरिज दर्शकले अत्यधिक मन पराएपछि अरु सिजन पनि थपियो।

मनी हेइस्टले यसका लेखक, निर्देशक, कलाकार मात्र नभएर स्पेनिस फिल्म उद्योगलाई नै विश्वमा चिनायो।

स्पेनिस फिल्म उद्योगमा कस्ता काम हुँदै रहेछ भनेर विश्वले थाहा पायो। स्पेनिस फिल्म, सिरिज खोजी हुन थाल्यो।

सर्वाधिक हेरिएको 'स्क्विड गेम'

विश्व सिनेमा तथा सिरिजमा अंग्रेजी भाषाको एकछत्र राज भत्काउन पनि ओटिटीले महत्त्वपूर्ण काम गरेको छ। 

गत सेप्टेम्बर १७ देखि नेटफ्लिक्समा प्रसारित स्क्विड गेम एक महिनामै नेटफ्लिक्सको इतिहासमै सर्वाधिक हेरिएको सिरिज बन्यो। 

दक्षिण कोरियाली सिरिज स्क्विड गेमलाई विश्वभर झण्डै २० करोड मान्छेले हेरिसकेका छन्।

अंग्रेजीमा नभएर अर्को भाषामा बनेर पनि यो लोकप्रियता पाउनुलाई ओटिटीको प्लाटफर्मकै ठूलो उपलब्धिको रुपमा हेरिएको छ।

यसबाट अब देश र भाषाले दर्शकलाई कुनै फरक नपार्ने कुरा पनि पुष्टि भएको छ। 

साढे दुई दशकदेखि फिल्ममा सक्रिय हाङ डोङ हुकलाई स्क्विड गेमले एउटा कुशल लेखक तथा निर्देशकका रुपमा विश्वभर चिनायो।

हुक मात्र होइन ली जङ जी, पार्क ही सो, वी हा जुन, जुङ हो युन, अनुपम त्रिपाठी, किम जु रोङलगायत कलाकारलाई पनि स्क्विड गेमले अन्तर्राष्ट्रिय सेलिब्रेटी बनायो। 

स्पेनको "मनी हेइस्ट', दक्षिण कोरियाको 'स्क्विड गेम' जस्तै जर्मनीको 'डार्क', फ्रान्सको 'लुपिन' पनि सर्वाधिक मन पराइएका सिरिजमा पर्छन्।

यीबाहेक भारतको 'सfक्रेड गेम्स', आइसल्यान्डको 'द भालहाला मर्डर्स', मेक्सिकोको 'हु किल्ड सारा',  स्विडेनको 'स्नाब्बा क्यास', डेनमार्कको 'द रेन', नर्वेको 'रग्नारक', अर्जेन्टिनाको 'एल मार्गिनल', जापानको 'हिवानाः स्पार्क' आदि गैरअंग्रेजी भाषाका चर्चित सिरिज हुन्। 

कोरोना भाइरसको संक्रमण सुरु भएपछि फिल्म हल पहिलेको अवस्थामा फर्कन सकिरहेका छैनन्।

यस्तोमा हरेक फिल्म उद्योगले ओटिटीलाई विकल्पको रुपमा हेरेका छन्।

नेपालको जस्तो विकासोन्मुख रहेका फिल्म उद्योग ठूला ओटिटी प्लाटफर्ममा प्रवेश गर्ने लक्ष्यसहित फिल्म बनाउन थालेका छन्।

ओटिटी प्लाटफर्मले लेखक, निर्देशक, कलाकार मात्रै नभएर धेरै देशका फिल्म उद्योगकै विकासमा पनि महत्त्वपूर्ण भूमिका रहेको मानिन्छ।

त्यस्तै ओटिटी प्लाटफर्मको दुरुपयोग भएको र यो पहिलेभन्दा कम प्रभावकारी भएको मान्नेहरू पनि छन्।

केही दिनअघि मात्र भारतीय अभिनेता नवाजुद्दिन सिद्दिकीले ओटिटी प्लाटफर्म डम्पिङ साइट जस्तो भएको भन्दै अबदेखि ओटिटी प्लाटफर्मको लागि काम नगर्ने बताएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.