|

सन् १९६५ नोभेम्बर २ मा जन्मेका बलिउड अभिनेता शाहरुख खान ५६ वर्ष पुगेका छन्।

तीन दशकभन्दा बढि समयदेखि बलिउडमा सक्रिय शाहरुखलाई बलिउडका 'बादशाह' भनेर पनि चिनिन्छ। 

सन् १९८८ मा 'दिल दरिया' टेलिसिरियलबाट करिअर सुरु गरेका शाहरुखले सन् १९९२ को 'दिवाना'बाट बलिउड प्रवेश गरे। यसबाट उनले उत्कृष्ट नव नायकको रुपमा फिल्मफेयर अवार्ड पनि पाएका थिए। 

शाहरुखले झन्डै तीन दशक लामो फिल्मी करिअरमा ८० भन्दा बढी फिल्ममा अभिनय गरेका छन्।

यहाँ आइएमडिबी(इन्टरनेट मुभि डाटाबेस) को रेटिङअनुसार शाहरुखका उत्कृष्ट १० फिल्मबारे बताइएको छ। 

देवदास (७.६)


शरतचन्द्र चटर्जीको कथामा आधारित फिल्ममा देवदास र पारोको प्रेम कथा देखाइएको छ।

जहाँ वर्गीय भिन्नताका कारण बिछोड भएपछि देवदास रक्सीको सहारामा बाँच्न थाल्छ। 

सन् २००२ मा प्रदर्शनमा आएको फिल्मलाई संजय लीला भन्सालीले निर्देशन गरेका हुन् जसमा शाहरुखसँगै ऐश्वर्या राय बच्चन र माधुरी दीक्षितको मुख्य भूमिका छ। 

बाजीगर (७.७)


अब्बास मस्तानद्वारा निर्देशित फिल्म 'बाजीगर' शाहरुखको सुरुवाती चरणको फिल्म हो।

फिल्ममा शाहरुखसँगै काजोल, शिल्पा सेट्टी, सिद्धार्थ रेलगायत कलाकारको मुख्य भूमिका थियो। 

रोमान्टिक थ्रिलर जनरामा बनेको यो फिल्मपछि शाहरुखको उपनाम बाजीगर बनेको थियो। 

वीर जारा (७.८)


यश चोपडाको निर्देशनमा बनेको पिरियड रोमान्टिक ड्रामा 'वीर जारा' शाहरुखको करिअरको सबैभन्दा सफल फिल्ममध्ये गनिन्छ।

२० करोड भारतीय रूपैयाँभन्दा थोरै बजेटमा बनेको फिल्मले करिब सय करोड भारतीय रूपैयाँको व्यापार गरेको थियो। 

फिल्ममा शाहरुखसँगै प्रीति जिन्टा र रानी मुखर्जीको मुख्य भूमिका छ। 

डर (७.८)


यश चोपडाकै निर्देशनमा बनेको साइकोलोजिकल थ्रिलर 'डर'मा शाहरुखसँगै सन्नी देओल, जुही चावला, अनुपम खेरलगायत कलाकारको मुख्य भूमिका छ। 

सन् १९९३ मा प्रदर्शनमा आएको 'डर'मा खलपात्रको भूमिका निर्वाह गरेका शाहरुखले फिल्मफेयरबाट त्यो वर्षको उत्कृष्ट खलनायकको अवार्ड पनि पाएका थिए। 

कभी हाँ कभी ना (७.९)


कुन्दन शाहको निर्देशनमा बनेको रोमान्टिक कमेडी 'कभि हाँ कभी ना' मा शाहरुखसँग सुचित्रा कृष्णामूर्ति, नसिरुद्दिन शाह, दीपक तिजोरीलगायत कलाकारको मुख्य भूमिका छ। 

सन् १९९४ मा प्रदर्शनमा आएको फिल्म शाहरुख खानको करिअरको महत्त्वपूर्ण इँटामध्ये एक मानिन्छ। 

कल हो ना हो (७.९)


सन् २००३ मा प्रदर्शनमा आएको रोमान्टिक कमेडी ड्रामा 'कल हो ना हो' शाहरुखका दर्शकले अत्यधिक मन पराएको फिल्ममा गनिन्छ। 

निखिल आडवानीको निर्देशनमा बनेको फिल्ममा शाहरुखसँगै प्रीति जिन्टा र सैफ अली खानको मुख्य भूमिका छ। 

माइ नेम इज खान (८)


करण जोहरको निर्देशनमा बनेको ड्रामा 'माई नेम इज खान' शाहरुखको आफ्नै पनि फेवरेट लिस्टमा पर्ने फिल्म हो।

फिल्ममा शाहरुखले मानसिक असन्तुलन भएको अस्वस्थ मुस्लिम समुदायको मान्छेको भूमिका निर्वाह गरेका छन्। 

आफ्नो सौतेनी छोराको मृत्युको दोष आफ्नो टाउकोमा आएपछि फिल्मको पात्र आफूलाई निर्दोष सावित गर्ने यात्रामा लाग्छ।

दिलवाले दुल्हनियाँ ले जाएंगे (८.१)


आदित्य चोपडाको निर्देशनमा बनेको म्युजिकल रोमान्टिक फिल्म 'दिलवाले दुल्हनियाँ ले जाएंगे' शाहरुखको मात्र नभएर बलिउडकै सबैभन्दा हिट फिल्म मध्येमा पर्छ। 

सन् १९९५ मा प्रदर्शनमा आएको फिल्ममा शाहरुख र काजोलको मुख्य भूमिका छ।

फिल्मले १ सय २२ करोड भारतीय रूपैयाँभन्दा बढी व्यापार गरेको थियो। 

स्वदेश (८.२)


आशुतोष गोवारिकरको निर्देशनमा बनेको ड्रामा फिल्म स्वदेश हिन्दी र तमिल गरी दुई भाषामा प्रदर्शन भएको थियो।

फिल्मले व्यावसायिक रुपमा ठूलो सफलता हात नपारे पनि समीक्षकले भने निकै मन पराएका थिए। 

फिल्ममा शाहरुखसँगै गायत्री जोशी र किशोरी बल्लालको मुख्य भूमिका छ। 

चक दे इन्डिया (८.२)


सन् २००७ मा प्रदर्शनमा आएको 'चक दे इन्डिया'बाट शाहरुखले उत्कृष्ट अभिनेताको रुपमा फिल्मफेयर अवार्ड पाएका थिए।

समीक्षकले राम्रो मानेको उक्त फिल्म व्यावसायिक रुपमा पनि सफल भएको थियो। 

समित अमिनको निर्देशनमा बनेको स्पोर्ट्स जनराको फिल्मले सय करोड भारतीय रूपैयाँभन्दा बढीको कारोबार गरेको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.