दृष्टिविहीन भन्छन्,अपांगमैत्री संरचना बनेन भने विकासको के अर्थ ?

|

काठमाडौं : व्यस्त राजधानी शहर। सडकभरि सवारीसाधनको चाप। तीव्र गतिमा सवारी हुइँकिन्छन् तर काठमाडौं, भक्तपुर र ललितपुर कतै पनि न त प्रशस्त जेब्रा क्रसिङ छन् न त आकाशेपुल नै। पोतिएका जेब्रा क्रसिङ रंग पनि मेटिइसके। कुनै मेटिँदै छन्। त्यसो त सर्वसाधारणको ज्यान सडकमा धराप छ।

कामका लागि घरबाहिर निस्किएका नागरिकमा घर फर्किन पाउने वा नपाउने केही ठेगान छैन। यसैगरी सबलांगलाई त समस्या छ नै, अपांगता भएका व्यक्तिलाई झनै ज्यान जोगाउन सकस छ। 

आइतबार नेपाल साइकल सोसाइटी, रोड सेफ्टी सोसाइटी नेपाल लगायत संस्थाले चक्रपथको विषयमा गरेको एक छलफल कार्यक्रममा दृष्टिविहीन सरोज भट्टराईले सडक संरचनाबारे गुनासो पोखे। 

उनले भने, ‘बनेका आकाशेपुल अपांगमैत्री छैनन्, म जस्ता दृष्टिविहिन कसरी सडक पार गर्ने? त्यसैले नयाँ बनेका पुलको केही अर्थ छैन।’ 
उनका अनुसार लिफ्टवाला आकाशेपुल बनेमा ह्विलचियर प्रयोगकर्तालाई पनि सहज हुने थियो।

सरकारले यस्ता संरचना बनाउन सकेको छैन। ‘घरबाट बाहिर निस्कियो कि एउटा युद्ध नै झेल्नुपर्छ, सडक पार गर्नै सक्दैनौँ, जेब्रा क्रसिङ भए पनि हामीलाई थाहा हुँदैन। त्यसैले त्यहाँ अडियोको व्यवस्था गरे राम्रो हुन्थ्यो’, उनले भने। सडकमा पहिला हालिएको गाइडिङ ब्लग(ट्याग टायल) नहुँदा बाटो पहिचान गर्न पनि नसकिएको भट्टराईले बताए।

जेब्रा क्रसिङमा पनि डोरी टाँगेर गरिन्छ बन्द 

सडकका मुख्य ठाउँमा पैदल यात्रु सडक पार गरून् भनी जेब्रा क्रसिङ राखिन्छ। नयाँ बानेश्वर चोकको जेब्रा क्रसिङ भने डोरी टाँगेर बन्द गरिएको छ। बाँस समेत तेर्स्याइएको छ। जसकारण सर्वसाधारणलाई सडक पार गर्नमा समस्या भएको छ।

मंगलबार सोही चोकमा भेटिएका वसन्त न्यौपाने भन्छन्, ‘सडक पार गर्ने ठाउँमा डोरी टाँगेको छ, यस्तो गरेर के गर्न खोजेको हो? सबलांग त आकाशेपुलबाट सडक पार गर्लान्, अपांगता भएका व्यक्ति चाहिँ कहाँबाट सडक पार गर्छन्?’

त्यहाँ खटिएका एक ट्राफिक प्रहरीले भने चोकमै नयाँ आकाशेपुल बनिसकेकाले त्यहीबाट पार गरून् भनी डोरी टाँगेको प्रतिक्रिया दिए। ‘जथाभावी सडक पार गर्दा पैदल यात्रु नै जोखिममा पर्छन्, पुल बनिसकेको छ। त्यसैले उनीहरूकै सुरक्षाका लागि यस्तो गरेका हौँ’, ती प्रहरीले भने।

पाँच वर्षमा सवारी दुर्घटनाबाट १० हजारभन्दा बढीकाे मृत्यु

सडक सुरक्षित नहुँदा देशभर सवारी दुर्घटनाबाट पाँच वर्षको अवधिमा १० हजार ४ सय १३ जनाले ज्यान गुमाएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार आर्थिक वर्ष २०७४/७५ देखि ०७८/७९ को भाद्रसम्म मृत्यु हुनेको पुरुषको संख्या ७ हजार ८ सय ४१ जना रहेको छ। सबैभन्दा बढी दुर्घटना काठमाडौं उपत्यकामा भएका छन्। 

पाँच वर्षमा उपत्यकामा मात्र ६४ हजार ७ सय ८८ सवारी दुर्घटना भएका छन्। चालु आर्थिक वर्षको ५ महिनामा ३ हजार २ वटा दुर्घटना भएका छन्। जसमा २२ जनाले ज्यान गुमाएका छन्। गत आ.व ७७/८८ मा १७ हजार ६३ वटा दुर्घटना भएका छन्। यो अवधिमा १ सय ६७ जनाले ज्यान गुमाएका छन्।

यी सबै जेब्रा क्रसिङ पार गर्दै गर्दा सवारीसाधन ठक्कर लगायतका घटना हुन्। रत्नपार्कका आकाशेपुलमुनि मात्र दैनिक ८ सवारीसाधन दुर्घटना हुने गरेको पूर्व प्रहरी निरीक्षक सीताराम हाछेथु बताउँछन्। 

‘अब बन्ने आकाशेपुल अपांगमैत्री बनाऔँ’

पूर्व प्रहरी निरीक्षक हाछेथु अब बन्ने नयाँ आकाशेपुल सरकारले अपांगमैत्री बनाउनुपर्ने बताउँछन्। उनले भने, ‘अहिले जे जति बनेका आकाशेपुल अपांगमैत्री छैनन्, ज्येष्ठ नागरिक पनि चढ्न सक्दैनन्। त्यसैले सरकारले छिटोभन्दा छिटो नयाँ आकाशेपुल अपांगमैत्री बनाउनुपर्छ।’ 

उनका अनुसार विदेशमा लिफ्टवाला आकाशेपुल हुन्छन्। ‘ह्विलचियर अट्ने खालका लिफ्ट हुन्छन्, त्यहाँ बसेपछि सीधै माथि सडक पार गर्ने ठाउँमा पुगिन्छ’, बाहिर देशका पुलको उदाहरण उनी सुनाउँछन्, ‘सहजै अपांग, अशक्त र ज्येष्ठ नागरिक सडक पार गर्छन्। यहाँ पनि त्यस्तै खाले प्राविधिक आकाशेपुल बनाउन सकिन्छ।’

यातायात तथा शहरी पूर्वाधारविज्ञ आशिष गजुरेल सडक होस् या आकाशेपुल बनाउनुपूर्व नै नागरिकको सुरक्षित हुने खालका सुविधासम्पन्न डिजाइन बनाउनुपर्ने बताउँछन्।

उनी भन्छन्, ‘सडक संरचना कसका लागि बनाइएको हो‚ त्यो नै निश्चित छैन। सडक सवारीका लागि मात्रै बनाइयो, फरक क्षमता लगायत नागरिकको सुरक्षाका लागि सोचिएन।’ सडक, आकाशेपुल लगायत संरचना बनाउँदा त्यस्ता सुविधाका लागि पहिलै इन्जिनियरहरू सचेत हुनुपर्ने उनको भनाइ छ। 

के छ मापदण्डमा ? 

मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको ‘अपांगता भएका व्यक्तिका लागि पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिका, २०६९’ को निर्देशिका खण्ड ‘क’मा सबै सार्वजनिक सडक अपांगता भएका व्यक्तिको सहज र समान आवागमनको लागि पहुँचयुक्त बनाउनुपर्ने उल्लेख छ।

त्यस्तै, खण्ड ‘ख’ मा खण्ड ‘क’ को प्रयोजनका लागि नयाँ बन्ने सम्पूर्ण सडक ह्विलचियर प्रयोगकर्ता, वैशाखी प्रयोगकर्ता, कृत्रिम अंग प्रयोग गर्ने व्यक्ति, दृष्टिविहीन, होचापुड्का लगायत अपांगता भएका व्यक्तिको आवागमनका लागि पूर्णतया पहुँचयुक्त बनाउनुपर्ने उल्लेख छ।

दृष्टिविहीन व्यक्तिको स्वतन्त्र आवागमनका लागि सडकपेटीमा गाइडिङ ब्लक बिछ्याउनुपर्ने छ। यी मापदण्डअनुसारका सडक अहिले छैनन्। 

महानगर भन्छ- ठाउँको अभावले बनाउन सकिएन

काठमाडौं महानगरपालिकाको शहरी पूर्वाधार विभागका प्रमुख राम थापाले ठाउँको अभावले अपांगमैत्री आकाशेपुल बनाउन नसकिएको तर्क गर्छन्। ‘अपांगमैत्री आकाशेपुल, फुटपाथ बनाउने हाम्रो नीति नै हो’, उनले भने, ‘तर  ठाउँको अभावले त्यस्तो संरचना बनाउन सकिएन, बनाउने प्रयास चाहिँ गरेका हौँ।’

कतिपय प्राविधिक पक्षका कारण बनाउन समस्या देखिएको उनी बताउँछन्। ‘धेरैजसो ठाउँमा ठाउँकै अभावले फुटपाथ पनि सानो राखिएको छ, सडकको चौडाइ छैन,लिफ्टवाला बनाउँदा धेरै अग्लो पुल बन्छ, तैपनि अब बन्ने नयाँ पुल अपांगमैत्री बनाउने योजना बनाएका छौँ’, उनले भने। बिग्रिएको ट्र्याक टायल भने मर्मत भइरहेको उनको भनाइ छ। 

‘मुख्य चोकमा अपांगमैत्री आकाशेपुल बनाउँछौँ’

सडक डिभिजन कार्यालय काठमाडौंका प्रमुख कुवेर नेपालीले अब बनाउने आकाशेपुल अपांगमैत्री बनाउने योजना रहेको जानकारी दिए। उनका अनुसार नयाँबानेश्वरको सिभिल अस्पतालअगाडि, महाराजगञ्जको शिक्षण अस्पताल र बबरमहलको काठमाडौं जिल्ला अदालतअगाडि नयाँ आकाशेपुल बनाउने विभागको योजना छ।

‘पहिला बनेको आकाशे पुलमा डिजाइनमै अपांगतामैत्री बनाउने थिएन, अब बन्ने आकाशेपुलमा लिफ्ट हाल्ने गरी बनाउने हाम्रो योजना छ’, उनले भने। सबै प्रक्रिया पूरा भएपछि पुल निर्माण अगाडि बढाउने उनको भनाइ छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.