|

काठमाडौं : मञ्चमा भेडा, गाई, सुँगुरदेखि गधा, घोडालगायत जनावर जम्मा भएका छन्। यस्तो लाग्छ उनीहरू कुनै गम्भीर विषयमा छलफल गर्दैछन्।

उनीहरू क्रान्तिको कुरा गर्दैछन्, स्वतन्त्रता र शान्तिको कुरा गर्दैछन्। सहमति, असहमतिको कुरा गर्दैछन्।

यतिबेला राजधानीको टेकुस्थित कौशी थिएटरमा नाटक 'एनिमल फार्म'को रिहर्सल चलिरहेको छ। कलाकारहरू विभिन्न जनावरहरूको भूमिकामा अभिनयको अभ्यास गर्दैछन्। 

दुई वर्षअघि नै मञ्चन गर्ने तय नाटक कोरोनाले गर्दा रोकिएको थियो। जनजीवन सामान्य भएसँगै तिहारपछि मञ्चन गर्न नाटकको रिहर्सल फेरि सुरु गरिएको निर्देशक आकांक्षा कार्कीले बताइन्। 

सन् १९४५ मा प्रकाशित जर्ज अर्वेलको उपन्यास 'एनिमल फार्म'लाई अनुवाद तथा रुपान्तरण गरेर नाटक मञ्चन गर्न लागिएको हो।

एनिमल फार्मलाई भारतका प्रशान्त नायरले गरेको नाट्य रूपान्तरणको नेपाली अनुवाद कार्की आफैंले गरेकी हुन्।

उक्त उपन्यासको कथा र त्यहाँका पात्र वर्तमानमा पनि उत्तिकै सान्दर्भिक भएकाले यो नाटक मञ्चन गर्न लागेको उनी बताउँछिन्। 

दुई वर्षअघि नै समय सुहाउँदो लागेर गर्न खोजेको नाटक कोरोनाले गर्दा रोकिएको उनले बताइन्। 

तर पछिल्लो दुई वर्षमा यो नाटक नेपालको परिवेशमा अझ बढी सान्दर्भिक भएको कार्कीलाई लागेको छ। 

'उपन्यासका धेरै क्यारेक्टर त्यो बेलाको राजनीतिक परिदृश्यमा मेल खाने किसिमले लेखिएको छ। त्यतिबेलादेखि अहिलेसम्म केही केही कुरा बदलिएको छ, तर केही कुराहरू भने अझै पनि बदलिएका रहेनछन्,' उनी भन्छिन्, 'सन् २०२१ मा आउँदा त नेपालको सिनारियोमा झन्‌ बढी सान्दर्भिक देखिएको छ, हाम्रो लागि नै लेखिएको हो जस्तो लाग्ने गरी।'

नाटकमा अहिलेको समयको ताजा गन्ध आओस् भनेर केही दृश्य थपिएको तथा केही सिन परिमार्जन गरिएको उनी बताउँछिन्।

'राजनीतिक रूपमा मात्र नभएर, सामाजिक तथा व्यक्तिगत तवरबाट पनि यो एकदमै मेल खाने कथा हो। हाम्रो जीवनमा जुन किसिमको राजनीति, खेल, षडयन्त्र भइरहेको हुन्छ त्यो कथामा छ,' उनले भनिन्, 'पहिले ठिक लागेको मान्छे पावरमा पुगेपछि करप्ट हुने कुरा मलाई एकदमै रियल लाग्यो।' 

मान्छेले सफलताको पछि भाग्दै गर्दादेखि त्यो ठाउँमा पुग्दासम्म मैले के गर्दै छु, मैले गरेको कामले कस्तो असर परिरहेको छ, मेरो नियत कस्तो छ भनेर बेलाबेलामा आफैंलाई ऐनामा हेरिराख्नुपर्ने कार्की बताउँछिन्।

उनी भन्छिन्, 'भुइँबाट उठेर पावरमा पुगेको मान्छे पनि करप्ट नै निस्केको उदाहरण धेरै छन्। त्यसो नहुनका लागि बीचतिर आफूलाई परीक्षण गरिराख्नुपर्छ जस्तो लाग्छ।' 

यो नाटक आफ्नो लागि पनि त्यो एक किसिमको 'सेल्फ चेक इन' रहेको उनी बताउँछिन्।

उनी भन्छिन्, 'मैले थिएटर चलाइरहेको छु यो पनि एउटा पावरफुल पोजिसन हो। पावर होस्, सक्सेस् होस् जे सुकै होस् तर त्यसले आफू करप्ट नहोऊँ भनेर धेरैपटक म आफूले नै आफैंलाई चेक गरिरहेकी हुन्छु।' 

त्योबाहेक यो नाटक पछिल्ला केही वर्षदेखिको आक्रोश पनि रहेको उनी बताउँछिन्।

आफ्नो अभिव्यक्तिको माध्यम नाटक नै रहेकाले 'एनिमल फार्म' पनि एक किसिमको आक्रोशको अभिव्यक्ति रहेको उनको भनाइ छ।

यो नाटक व्यक्तिगतभन्दा पनि समाजको दिक्दारी तथा स्वीकारोक्ति रहेको उनी बताउँछिन्।

'हाम्रो समाज ब्ल्याक एन्ड ह्वाइट मात्र छैन। यस्तो मान्छे पनि छ, त्यस्तो मान्छे पनि छ,' उनी भन्छिन्, 'यो नाटक हेरेर दर्शकहरूले एनिमल फार्मका विभिन्न जन्तुमा आफूलाई पाउन सक्छन्। अथवा धेरै जन्तुमा आफूलाई पाउन पनि सक्छन्।'

दर्शकले नाटक हेरेर आफ्नो कमजोरी 'चेक इन' मात्र गरिदिए पनि त्यो नाटकको सफलता हुने उनी बताउँछिन्। 

'कतै म पनि निरंकुश शासक नेपोलियन सुँगुर त भइरहेको छैन? कहीँ म भक्त घोडा त भइरहेको छैन, आँखा चिम्लिएर अरुलाई विश्वास गर्ने? अथवा कतै म बेन्जामिन गधा त भइरहेको छैन? जसलाई सबै थाहा छ तर बोल्दैन,' उनी भन्छिन्, 'हाम्रो समाजमा त्यो किसिमका मान्छेहरू छौँ। त्यसकै एउटा स्वीकारोक्ति जस्तो पनि हो। यो सही यो गलत भन्दा पनि हामी यस्तो छौँ है भनेर देखाउने ऐना हो- यो नाटक।'

यति ठूलो समूहसँग यसअघि काम नगरेकाले यो पटक अलिकति चुनौती थपिएको कार्की बताउँछिन्।

उनी भन्छिन्, 'प्रोफेसनली यति धेरै निर्माण समूहलाई लिएर नाटक गरेकी थिइनँ। धेरैमा ९/१० जनालाई लिन्थें। यसमा १७ जना हुनुहुन्छ। अनि यो हाम्रा लागि कमब्याक नाटक जस्तो पनि हो। त्यसैले अलिकति चुनौती थपिएजस्तो महसुस गरिरहेकी छु।'

नाटक मंसिर ९ देखि मञ्चन गर्ने तयारी छ।

तस्वीर: कथा घेराकाे फेसबुक पेजबाट

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.