|

काठमाडौं : ​साहित्यको माध्यमबाट देशलाई विदेशमा चिनाउन पनि पछि नपरेका धेरै साहित्यकारहरूको भिडमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको नाम अग्रपंक्तिमा आउने गर्दछ।

नेपाली साहित्यका मूर्धन्य प्रतिभा देवकोटा,कवि, निबन्धकार, कथाकार र नाटककार हुन्। आधुनिक नेपाली साहित्यका नायकका रुपमा रहेका देवकोटाका कृतिहरूमा, तत्कालिन समयको निरङ्कुश राणा शासन विरोधी अभिव्यञ्जन पाइएको छ। महाकवि देवकोटाका प्रमुख कृतिहरूमा सुलोचना , प्रमिथस्, शाकुन्तल आदि महाकाव्यमा, मुनामदन र कुन्जिनी आदि दुखान्त खण्डकाव्य रहेका छन्। उनको आर्दश र कृतिलाई स्मरण गर्दै बिहीबार १ सय १३ औँ महाकवि देवकोटाको जन्मजयन्ति मनाइँदैछ।

नामले लक्ष्मीप्रसाद भए पनि कामले उनी सरस्वतीप्रसाद थिए किनभने उनमा शिक्षाको र साहित्यको भरपुर ज्ञान थियो तर आर्थिक अवस्था भने कमजोर थियो। घर धान्न उनि दिनरात ट्युशन पढाउँथे, तरपनि धौ धौ पर्ने गर्थ्यो।

आर्थिक अवस्था कमजोर भएपनि उनमा गरिब तथा माग्नेलाई पैसा बाड्ने बानी थियो। यसबाट के प्रस्ट हुन्छ भने उनि साहित्यिक मात्र नभई सामाजिक सहयोगमा पनि सक्रिय भएको देखिन्छ। आफ्ना कृतिमा उनले जातिय विभेदलाई हटाउने प्रयास गरेका छन्। मुनामदन नामक खण्डकाव्यले नेपाली जनमानसमा ठुलै प्रभाव पारेको छ।

अहिले त समाज पुरै जातिय विभेदबाट मुक्त हुन सकिरहेको छैन, त्यो बेलाको समयमा देवकोटाले 'मानिस ठूलो दिलले हुन्छ ,जातले हुदैन' भन्ने विचार आफ्ना कृतिमा उल्लेख गरेका थिए। उनको यो प्रयासबाट के पुष्टि हुन्छ भने,उनी समाजको कुसंस्कृति र विसङ्गति विरुद्ध पनि लागेका थिए। मुनामदनमा एउटा क्षेत्रीलाई ,तामाङ जातको व्यक्तिले ठूलो सहयोग गरेको देखाइएको छ।

साथै प्रेमको पिडा पनि उनले कतैकतै उललेख गरेका छन्। व्यक्तिका पिर मर्का र समस्यामा नजिकै गएर चिहाउदै ,त्यहाँका वास्तविक भोगाईको गहिराईमा डुबेर देवकोटा आफ्ना साहित्यका कलम कोर्ने गर्थे।

उनका कृतिहरू जति पढ्नमा मजा आउँछ, त्यत्ति नै त्यसले समाजमा सन्देश पनि दिएका छन्।  नेपाली साहित्यमा विशिष्ट योगदान पुर्‍याएका देवकोटाले देशमा मात्र नभई विदेशमा पनि आफ्नो नामका साथै नेपालकै पहिचान गराए।

संस्कृतका महाकवि कालिदास जस्तै नेपाली भाषाका महाकवि देवकोटा जर्मनी,हिन्दी , संस्कृत लगायतका थुप्रै भाषाका ज्ञाता समेत रहेका थिए। १० वर्षे कलिलो बालपनमा नै कविता लेखि आफ्नो साहित्य यात्रा सुरु गरेका उनले जीवनपर्यन्त साहित्य साधनामा लागिरहे। देवकोटाका कति कृति प्रकाशनमा आएका छन् भने कतिचाहीँ आउने क्रममा छन्।

केही समय अगाडि देवकोटाको सफल कृति, कुन्जिनीलाई नाटकमा प्रर्दशन गराइएको थियो। त्यस्तै उनको खण्डकाव्य मुनामदनलाई चलचित्रको रुपमा निर्माण गरेर पनि प्रदर्शन गरिएको छ। जसले गर्दा देवकोटाका कृतिले अझ मूर्त रूप पाएका छन्।  

विसं १९६६ कार्तिक २७ गते लक्ष्मीपुजाको दिन जन्मिएका देवकोटाले २०१६ साल भाद्र २९ गते संसार छाडे। २०१४ सालमा शिक्षा मन्त्रि तथा धेरै कलेजमा प्राध्यापन गरेका उनि भावुक स्वभावका थिए। मन बहलाउन चुरोट यीनको साहारा बन्थ्यो। पेटको क्यान्सरबाट देवकोटाको अन्तत: मृत्यु भयो, यो रोग निको पार्न अनेक प्रयास भए तर सबै बिफल रहे। आज उनी हामीमाझ नभए पनि उनका कृतिहरू हामीसँगै जीवितै छन्। हाम्रो शरीर एकदिन पक्कै नष्ट हुन्छ तर ती  कृतिहरू जुगजुगान्तर रहिरहनेछन्।

 नेपाली साहित्यका नायकका रुपमा रहेका देवकोटाका कृतिहरूमा, तत्कालीन समयको निरङ्कुश राणा शासनविरोधी अभिव्यञ्जन पाइएको छ। यतिबेला देश संक्रमणको अवस्थामा छ। दलहरूका बिचमा बेमेल छ। सरकार पक्ष र विपक्ष गरी अन्यौल सिर्जना भइरहेको छ।

यस्तो अवस्थामा देवकोटाका जस्तै कृतिहरू पनि समस्या समाधानमा एउटा कडी बन्न सक्छन्। साहित्य एउटा यस्तो विधा हो, जसले भाव पोख्न देखि लिएर परिवर्तनकारी पहल गर्नसमेत मद्धत पुर्‍याइरहेको हुन्छ।

यतिबेला खाँचो छ, देवकोटा जस्तै सच्चा देशप्रेमीको, जसले व्यक्तिगत स्वार्थलाई पर छाडेर सामुहिक स्वार्थमा जोड दिन्छ। अहिलेका नेताहरूले पनि पाठ सिक्नुपर्छ। देवकोटा पनि सत्तामा बसेका व्यक्ति हुन्। हामी आर्दशका कुरा गछौँ तर ब्यबहारमा उतार्दैनौ। सहमतीको रटान लगाउछौँ तर सहमति भने त्यत्ति गर्दैनौ। हो अब हामीले देवकोटालाई सम्झिएर जन्म जयन्ती मनाउने मात्र होइन। उनका आर्दशका कुरालाइ पनि व्यवहारमा उर्तानु जरुरी देखिन्छ।

यसरी निरन्तर साहित्य साधनामा लागि आफ्नो परिवार समेत ख्याल नगर्ने यी मूर्धन्य साहित्यकार , महाकवि देवकोटाको बारेमा जति वर्णन गरेपनि त्यो न्यून हुन्छ। अचेल हामीले देवकोटाको कृति र कृतिले दिएको सन्देश बिर्संदै गएका छौँ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.