|

सबै चाडवाड र पर्वहरुको बीज  मानव जातिको आदिम अवस्थासित सम्बन्धित देखिन्छ।  मानवका  भौतिक श्रमजन्य तथा उत्पादन संघर्षसित संस्कृति बढी सम्वन्धित छ। यसका आधारमा बौद्धिक वा आत्मिक संस्कृतिको उद्भव भएको हो।

श्रम र उत्पादन जस्ता बाह्य वस्तु जगतसँगको सान्निध्य र त्यसका प्रभावबाट आत्मिक संस्कृति निर्मित हुन्छ। मार्क्सवादले मानिसको मन,चेत,चिन्तन र सिर्जना बाह्य वस्तु जगतको प्रतिबिम्ब मान्छ। नभन्दै प्रकृतिसित र उत्पादन  श्रम संघर्ष नै मानवका सबै भौतिक र आत्मिक संस्कृतिको मूल आधार हो।

चाडवाडका मूल आधार र संस्ंकृतिका  समग्र पक्षमा गहन अध्ययन गरेका संस्कृति कर्मी वा संस्कृतिविद् नेपालमा कमै पाइन्छन्। डा.मोदनाथ प्रश्रित,डा.जगमान गुरुङ,विष्णु प्रभात लगायत अत्यन्त सीमित विद्हरु छन्।

त्रिविका धेरैजसो उच्च अध्ययन गरेका भनिएका र उपाधिधारीहरु संस्कृति र त्यस अन्तगत चाडपर्वहरुका बारेमा सतही दृष्टिकोण राख्छन्। तिनले सामन्तवादी शासनकाल सँगै चाडपर्वको सारमा कलात्मक हस्तक्षेप गरी सम्मिश्रित गरेको रुढीवादी चिन्तनकै सेरोफेरोमा सीमित देख्छन्।

तिनले चाडपर्वका सर्वप्राचीन पक्षलाई उजागर गर्दैनन्। तिनले विशेषतः मध्यकालमा सामन्तवादले वैदिक सनातनी तथा हिन्दू भनिएका मानिएका एक जाति,एक धर्म,एक समुदाय आधारित विषयलाई मात्र उजागर गर्छन्। त्यसैले यसको शीर्षकमा नै कतिपय संस्कृतिविद्को यस सम्बन्धी मौलिकताका विषयमा अनभिज्ञ रहेको आशंका गरिएको हो।

संस्कृति भनेको त मानवीय बौद्धिक र भौतिक श्रमसिन्चित समग्र पक्ष हो। पूजापाठ, धर्म कर्म, लगाफाटो खानपिन आदि मात्र होइन। भौतिक र बौद्धिक समग्र सिर्जना हो। त्यसैले तिहार जस्ता चाडहरुलाई संकीर्ण दायरामा हेर्दा संस्कृतिप्रति नै घोर अन्याय हुन्छ। यसलाई समग्रतामा हेर्नु अपरिहार्य देखिन्छ।    

नेपालमा तिहार वा भाइटीकाजस्तै अनेक पर्वहरू प्रचलित छन्। सामाचखेवा,जितिया,राखी र चासोकतङनाम आदि पर्वहरु चेलीमाइतीका बीचको आदर र आदर्श सम्बन्ध स्थापित गर्ने युगान्तकारी पर्वहरू हुन्।

कतिपय नेपालका चाडपर्वहरुका सर्वप्राचीन सही मान्यता अझै उजागर गर्न सकिएको छैन र यस विषयमा सत्यतथ्य खोज, प्रकाशन तथा प्रसारणको अझै अभाव रहेको छ। अझ तिहारसित मिलजुल्दा नेपालका विभिन्न पर्वहरुको विशद् अध्ययन गरेर प्रकाशन गर्नुपर्छ।

 प्रायः वैदिक सनातनी वा हिन्दू सम्प्रदायका भनिएका चाडपर्वहरुलाई समयक्रममा बिटुलो बनाइएको देखिन्छ। यी चाडहरुमा सामन्तवादी संस्कृतिको सार पक्ष कलात्मक हस्तक्षेपका साथ प्रवेश गराएको देखिन्छ। यसको प्रत्यक्ष उदाहरण सार्वजनीन,सार्वकालिक र सर्वजन सरोकार तथा उत्साहका चाडहरुलाई सामन्तवादले सङ्कुचित तथा संकीर्ण बनायो।

कतिपय चाडलाई एक जात, जाति, धर्म, र समुदायमा सीमित गरिदियो। त्यसैले सबै नेपाली सबै खुसी हुने र आनन्दित हुने दसैँ  र तिहारजस्ता पर्वहरुलाई हिन्दूकरण गरिएको देखिन्छ। एउटै चाडपर्व पनि  बहुधामिक,बहुसांस्कृतिक तथा बहुभूगोलका जनताले बहुप्रकारले मनाएको विशेष स्थिति नेपालमा पाइन्छ।

 सुख,दुःख,हर्ष, शोक आदि मानवीय नैसर्गिक पक्ष हुन्। जे जस्ता अनुभूतिहरु मानवले अनुभव गर्छ। त्यस अनुसारका अनुभूति गर्नु मानवजन्य स्वभाव हो। मानव जातिले जीवनलाई सहज,सुखी र सुन्दर बनाउन प्रकृतिसित मात्र होइन कृषि लगायत अनेक खालका उत्पादन संघर्ष गरेको देखिन्छ।

यिनै श्रम संघषहरु भौतिक तथा आत्मिक संस्कृति निर्माणका मूल आधार हुन्। त्यसैले  शारीरिक र मानसिक पुनर्ताजगी प्राप्त गर्न विभिन्न चाडपर्वहरु प्रारम्भ भएको पाइन्छ र नेवार समुदायले मनाउने म्ह ह पूजा अर्थात् शरीरको पूजा, उभौलीउधौलीहलसारो र हलेरो भूमे पूजा  पर्व वा चाड जात्री पर्र्वहरु  शारीरिक तथा मानसिक पुनर्ताजगी प्राप्त गर्न सुरु गरिएको स्पष्ट हुन्छ। चाडपर्वहरुमा ऋतु परिवर्तनको प्रभाव पनि परेको देखिन्छ।

काल, स्थान र धार्मिक सांस्कृतिक भिन्नताले गर्दा एउटै चाडका सार पक्षमा समानता भए पनि रुपहरुमा भिन्नता देखिन्छ। यसरी हेर्दा नामकरण नै पृथक पाइन्छ।

भारतको आसाम प्रान्तमा खेतीपाती गरेर घरमा अन्नबाली भित्¥याएपछि विभिन्न परिकारका खाद्यान्न र पक्वान्न पकाएर खाने  भोगाली पर्व मनाइन्छ। तर त्यहाँ परिस्थिति फरक भए पछि रंङ्गाली अर्थात् फागु वा होली पर्व मनाइन्छ भने जब घरमा अन्नवाली वा खाद्यान्न अभावग्रस्त अवस्था हुन्छ। त्यसबेला झिलीमिली बत्ती बालेर मनाइने पर्वलाई  कङ्गाली भनिएको आसामका लेखक रामचन्द्र उपाध्यायले  बताएकाछन्। यो पर्व भारतका अधिकांश प्रान्तमा मनाइने  दीपावली जस्तै हो।

नेपालीको तिहार,भाइटीका नै हो। दीपावली अर्थात दिवालीभारतीय जनताको पर्व हो। नेपालको तिहारमा भाइटीका लगाइन्छ। बरु राखी चाहिँ नेपालको तिहारसित सन्निकट रहेको छ। शब्दमा पनि संस्कृति ध्वनित हुन्छ। यस्ता कुरामा अत्यन्त सचेत हुनसकेनौं भने  र जथाभावी शब्द प्रयोग गर्न थालियो भने नेपालको सांस्कृतिक मौलिकतामा आँच आउने निश्चित देखिन्छ।

मातृप्रधान समाजमा एउटै आमाका सन्तानहरुका बीच बिहेबारी गर्ने परिपाटी विरुद्ध सुरु गरिएको विषयसित पनि घनिष्ट रुपमा  तिहार सम्बन्धित देखिन्छ। अब एउटै आमाका सन्तानहरुका बीच बिहेबारी गर्ने होइन तिनीहरुका बीच चेलीमाइतीजस्तो सम्मानित आदर र आदर्श सम्बन्ध कायम गर्ने युगान्तकारी पर्व हो  तिहार। 

   तिहार कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितिया सम्म पाँच दिन मनाइने चाड हो। तिथिबार र त्यौहार हुँदै तिहार शब्द निर्मित तथा प्रचलित बनेको मानिन्छ। यो पर्व पनि कृषि कर्मको एउटा चरण पूरा गरेपछि पुनर्ताजगी प्राप्त गर्न मनाउन सुरु गरिएको चाड हो।

यसको मूलमर्म यो संघीय लोकतान्त्रिक गणतान्त्रिक नेपालमा अझै ओझेल परेको छ।  मातृ प्रधान समाजमा यौन सम्बन्ध स्वच्छन्द थियो। एउटै माताका सन्तानहरुका बीच विवाह हुन्थ्यो तर मानव त नरपशु हो अर्थात् पशुमध्येको श्रेष्ठ पशु हो।

मानिसको ढिलो वा छिटो बुद्धि आउँछसही मान्यता स्थापित तथा समृद्ध पार्छ। आफूले नै सुरु गरेका संस्कृति र परम्परालाई समयानुकुल संशोधन र परिमार्जन वा परित्याग पनि गर्छ। तर पशुमा भने त्यस खालको विवेक र बुद्धि कहिल्यै पलाउँदैन। त्यस मानेमा नरपशु वा मानव श्रेष्ठ पशु हो र छ।

यस सन्दर्भमा स्वच्छन्द यौन सम्बन्धको परिपाटीलाई परित्याग गरी थिति बसाल्ने क्रममा तिहारजस्ता पर्वहरु सुरु गरिएको स्पष्ट हुन्छ। सर्वप्राचीन ग्रन्थ  ऋग्वेदमा यम यमी नाम गरेका जुम्ल्याहा दाजु बहिनीको संवाद छ। त्यहाँ दाजुसित तरुनी भएकी बहिनी यमीले यौन सम्बन्ध गाँस्ने प्रस्ताव राख्छिन्। तर दाजुले तिमी यसका कामका लागि अर्कै पुरुष खोज अब आइन्दा यस्तो काम गर्नु हुँदैन भनेका छन्।

उद्दालक ऋषिकी आमालाई बाबुकै अगाडि अर्को एक ऋषिले यौन चाहनापूर्ति गर्न तत्कालीन मान्यता अनुसार हात समाएर तान्न खोज्दा उद्दालक ऋषिले प्रतिवाद गर्दै यस्ता  रीत र प्रथा गर्न पाइन्न भनेको देखिन्छ। ऋषिपुत्रले  हरेक नारीले आफ्नो सत्मा बस्नुपर्छ भनेको देखिन्छ।

प्रसिद्ध संस्कृतिविद् डा. जगमान गुरुङले वि सं १८९६ सालमा मुख्तियार रङ्गलालले पश्चिम नेपालको भ्रमण गर्दा त्यहाँ जैसी बाहुनहरुमा भान्जी अर्थात् फुपूकी छोरीसित मामाका छोराहरुले विवाह गर्ने प्रचलन विरुद्ध रुक्का वा आदेश पत्र जारी गरेको उल्लेख गरेका छन्। यस्ता अवशेषहरु नेपालमा अझै पनि पाइन्छ। कुमाइ बाहुन समाजमा सगोत्री विवाहको प्रचलन रहेको बताइन्छ।

दक्षिण भारतमा अझै पनि भान्जी विवाह अर्थात् मामा चेला र फुपूचेली दाम्पत्य सम्बन्ध गाँस्ने प्रचलन रहेकोछ। नेपालका कतिपय जातिहरुमा अहिले पनि मामा चेला फुपूचेला सम्बन्ध गास्ने परम्परा रहेको देखिन्छ । त्यसैले तिहार जस्ता पर्वहरु ऐतिहासिक अत्यन्त महत्वपूर्ण चाड हुन्।

रामरमितो र पुनर्ताजगी प्राप्त गर्नु मात्र तिहार पर्वको विषय देखिन्न। चेली माइती बीच  एक अर्कामा आत्मीय र अदरपूर्ण सम्बन्ध कायम गर्ने पर्व सामाचखेवा र  जितिया र चासोक तङनाम पर्व पनि हो। 

चासोक माने न्वाँगी र तङ्नाम माने  उत्सव अर्थात् चासोक तङ्नाम चाड तिहारसित मिल्दोजुल्दो  रहेको छ। यस चाडमा  पालम  गाउँदै र धान नाच , नाचिन्छ। चेलीबेटीहरु कोसेली बोकेर माइत जान्छन् र  नाता नपर्नेहरु मायाँ प्रीतिमा रमाउँछन् र हात समाइ नाच्छन्। यो पर्व प्रत्येक वर्ष मंसीर १९,२० र २१ गते मनाइन्छ

   अहिले पनि तिहारका अवसरमा यमराज वा धर्मराज बहिनी यमुनाका घरमा गएर टीका लगाएको प्रसंगमात्र उल्लेख गरिन्छ । जब कि जगमान गुरुङले यम भनेको नियम पनि हो। यो यौन सम्बन्धलाई थिति बसाल्ने विषयसित पनि सम्बन्धित रहेको भन्नु भएको छ।

उहाँले बलि राज भनेको जुम्लाको काले गाउँका कल्याण वंशी एक बलशाली वा वलिष्ठ युवालाई चन्दननाथ नाम गरेका पण्डितले राजा घोषणा गरेको विषयसित जोड्नु भएको छ। अनि तिनै राजाका समयमा देवी द्यौताका मन्दिरमा भाकल पूरा गर्न चढाएका केटाकेटीहरु  देवदास वा देवदासीका रुपमा चिनिए।  तिनलाई बलि राजाले अबदेखि तिमीहरुले मागेर जीविका गर्नु भनेको विषयसित तिहारको द्यौसीभैलो प्रचलनामा आएको भनाइ रहेको छ।

हुन पनि यस्तो प्रचलन त्यहीँ भारतको कुनै पनि प्रान्तमा नहनुले पौराणिक कालको बली राजा नभएर नेपालको बलि राजाको प्रसंग औचित्ययुक्त देखिन्छ। यसै विषयमा बलिहाङ राजाको विषय पनि प्रमुख रुपमा चर्चामा रहेको पाइन्छ।

एउटै तिहार पनि नेपालमा विभिन्न रुप र स्वरुपमा प्रचलित भएको देखिन्छ। यस्ता विषयमा गम्भीर खोज जरुरी हुन्छ। संस्कृतिविद्का नाममा कतिपयले गणेशको सुँडको मात्र बखान गरेर अब  हुँदैन।

  तिहारमा गरिने  काग, कुकुर, गाई,  गोरु र गोवर्धन पर्वतको पुजाले कृषि र पशु व्यवसायसित सम्बन्धित मर्म,  महत्त्व र उपादेयतालाई उजागर गरेको छ। मानव जातिले आफ्ना हक, हित, सुरक्षा र सम्बर्धन गर्ने सजीव वा निर्जीव प्रकृति, वस्तु र  पदार्थलाई सम्मान गरेको देखिन्छ।

गाईको सर्वाधिक उपादेयतालाई प्रत्यक्ष महसुस गरेर पूजा गरेको हो भने  कृषिकर्ममा गोरुको सर्वाधिक महत्वलाई गम्भीर रुपमा महसुस गरेर पूजा गरेको स्पष्ट हुन्छ। त्यसैगरी चरिचरन क्षेत्र, पानीको मुहानजन्य पहाड पर्वत र  नदीको पनि महत्व बुझेर पूजा गरेको स्पष्ट हुन्छ।  

चाडपर्व अन्तर्गत रहेका सर्व प्राचीन यथार्थ पक्ष र  परम्परा बिर्सिएर यस सम्बन्धी मौलिकता स्थापित हुँदैन। चाडपर्वहरुमा समयक्रममा भित्रिएका अतिवादी धार्मिक र सांस्कृतिक सार पक्षहरु अवलम्बन गरेर पनि हुँदैन। तिनका प्रारम्भिक सुन्दर पक्षहरुको जगेर्ना गर्दै समय क्रममा तिनमा भित्रिएका नकार पक्षलाई हटाउँदै समय सापेक्ष  रुपान्तरण गर्दै जानुपर्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.