|

निरन्तर एकै ठाउँमा चक्कर काटिरहेको नेपाली राजनीतिका कारण जनताले निरन्तर अनेक  गलत, विवादास्पद र कष्टपूर्ण परिस्थितिबाट गुज्रिनुपरिरहेको छ । यसमा धेरैजसो सहने, टार्ने प्रयास हुन्छ। तर असह्य भएपछि विस्फोट वा विद्रोह हुन्छ ।

काँशी जाने भन्दै कुतीतिर लगियो भने अबिलम्ब फर्किनैपर्छ जसरी औषधिले नहुने टुंगो लाग्नासाथ शल्यक्रिया गराउनैपर्छ । राष्ट्रिय जीवनमा यस्ता अप्ठ्यारा स्थिति आउँछन् खासगरी प्राकृतिक वा मानवीय कारणले । तर यी दुईमा तात्विक भिन्नता हुन्छ । मानवीय कारणमा मुख्य हुन्छ नेतृत्वको अकुशलता वा दायित्वहीनता वा दुवै ।

सवारीमा अनविज्ञ वा विज्ञ भएको भ्रमग्रस्त वा लापरवाह र मनमौजी चालकले मोटर चलाए झैं राष्ट्रिय नेतृत्वले जानीनजानी राष्ट्रिय यात्रालाई असुरक्षित, बिलम्बित वा गलत दिशोन्मुख गरायो भने समस्या उत्पन्न हुन्छ । तर चालक फेरिएजस्तो सजिलै नेतृत्व फेरिँदैन । नत गाडी फेरे झैं देश फेर्ने कुरा आउँछ । परिणाम हुन्छ सधैँको अव्यवस्था, अविकास र अशान्ति ।

महाभारतलाई पाँच दृष्टिहीनहरुको उपज भने झैं नेपाली इतिहास पनि भ्रमणचक्रको यस्तै कुनै बिन्दुमा आइपुगेजस्तै लाग्छ यतिखेर । यहाँ पनि केही दृष्टिहीनहरु चालकको आसनमा छन् रत देश अव्यवस्था, अविकास, लक्ष्यहीनता र अशान्तिको दुष्चक्रमा झन्झन् जकडिँदै गैरहेको छ ।

त्यसो त नगण्य अपवादबाहेक यो देश निर्माणको अभियान नसिद्धिँदैदेखि नै लक्ष्यहीनता, दायित्वहीनता र मुक्त अवसरवादिताको अन्धसुरुङमा फँसेको हो । दुखको कुरा नेतृत्वबाट यस स्थितिको अन्त्य गर्ने काम भएन । बरु नाता, जात, वाद, धर्म, क्षेत्रका बहानामा गुटबन्दी चर्काएर निहित मिलिभगतमा आधारित दाउपेचको क्रिडास्थल बनाइयो ।

युग, पात्र परिवेश बदलियो तर यो निहित स्वार्थको नीति बद्लिएन । यसरी यो देश भासमा परेको हात्ती झैं एकै ठाउँमा चक्कर काट्तै निरन्तर रक्तमिश्रित अश्रुस्नान गरिरहेको छ ।

सातसालमा खुलामा आएर वृहत् लक्ष्यतर्फउन्मुख हुन खोजेको हो । तर पुनः उही दिशाहीनता, दायित्वहीनता र जसको शक्ति उसको भक्तिको नवसिकन्जामा कसियो ।

स्थिति र अवसरअनुसार यसमा विदेशी शक्ति पनि मिसिनु अस्वाभाविक भएन । त्यसैले यो सिकन्जा क्रमशः आठवर्षे खिचातानी, डेढवर्षे प्रजातन्त्र, तीसवर्षे पंचायत, दशवर्षे सशस्त्र अभियान तथा दुई विशाल जनान्दोलनका बाबजुद जस्ताको तस्तै कायम छ ।

यसरी एकमुट्ठी नेतृत्वका सत्ता संघर्षको प्रच्छन्न अराजकतामा निरन्तर कठ्याङ्रिएको यो मुलुक पछिल्लो कालमा तावाबाट झरेर भुङ्ग्रामा भनेजस्तै ओल्लो घाट न पल्लो तीर भएको छ । यतिखेर पूरा शक्तिसाथ प्रतिगमनको प्रतिस्पद्र्धा चलिरहेको छ ।

बाध्यता र कारणका कुरा

हाललाई यसो हुनु बाध्यता पनि भएको छ। देशको आर्थिक–सामाजिक–प्रशासनिक परिवेश सितिमिति नसँभालिने गरी लथालिङ्गिएको छ ।

प्रथमतः आजसम्म प्रजातन्त्र, साम्यवाद आदि स्वर्णमय सपनाका नाममा सबै व्यवसाय र तप्काका जनतालाई मैदानमा उतारियो । यसमा स्वस्फुर्तदेखि परप्रेरणा, उक्साहट, दबाब, छलछाम आदि सबै  माध्यमको प्रयोग गरियो । तर उनीहरुलाई राष्ट्रिय हीतभन्दा कता हो कता धेरैचाहिँ केही त्यससँग मिसाएर, केही त्यति स्वाङ पनि नपारी अलग्गै दलीयदेखि गुट र व्यक्तिगत स्वार्थका निमित्त प्रयोग गरियो । गोप्य–खुल्ला, मर्यादित–अमर्यादित अनेक आश्वासन, प्रलोभन र दबाबसहित  हिंसात्मकअहिंसात्मक, आवश्यकअनावश्यक सबै काम लगाइयो ।

ब्यारेकबाट निकालिएको सेनाजस्तै यो शक्तिलाई अन्ततः अभियानपश्चात् पनि साविक स्थितिमा फर्काइएन । बरु अवसरअनुसार परिचालित गरिरहने बदनियतवश कठपुतली झै जात–वाद–वर्ग–लिङ्ग आदिका सूत्रमार्फत औँलामा अल्झाएर राखियो । फलतः देशमा उद्देश्य, आस्था, उत्साह, विश्वास, नैतिक–चारित्रिक मूल्य आदि पूर्णतः खलबलियो ।

अहिले लथालिङ्ग भएको देशलाई सँभाल्न ठुलो इच्छाशक्ति, नैतिक–चारित्रिक बल, वैचारिक स्पष्टता, प्रजातन्त्र र विधिको शासनप्रति प्रतिबद्धता, उच्च कार्यकुशलता तथा सक्षम सांगठनिकता चाहिन्छ । तर यी आदर्श, क्षमता र परिवेश विद्यमान नेतृत्वसँग नभएको प्रमाणित भैसकेको छ ।

तेस्रो विश्वका धेरैजसो देशजस्तै नेपाल पनि भौतिक–जैविक साधनले सम्पन्न तर शैक्षिक–प्राविधिक परिपक्वतामा पछाडि छ । अन्धविश्वासजनित रूढीग्रस्त छ । देशमा ठुलो जातीय–धार्मिक–लिङ्गीय–वर्गीय क्षेत्रीय विविधता छ । अधकल्चो शिक्षा, संचार, यातायातका कारण देश अपरिपक्व आधुनिकताको चौदण्डी भएको छ ।

स्वयं अनुशासनहीन–लक्ष्यहीन–दायित्वहीन नेतृत्वबाट लोकतान्त्रिक संस्कार र वृहत् राष्ट्रिय लक्ष्यसहित यसको कुशल व्यवस्थापन हुन सकेको छैन । अतः देशमा अभाव, अन्योल, असुरक्षा, अनुशासनहीनता, अवसरवादिता, अविश्वास हिंसात्मक सीमासम्म चर्किएको छ ।

यो स्थिति कर्मचारी, प्रहरी लगायत निम्न तहका सबै जनताको कटु यथार्थ हो । यसमाथि भूकम्प–बाढी–महामारी–ठगीजस्ता प्राकृतिक र त्यसकै बहानामा भएका थप मानवीय उत्पीडनमा परेका धेरैजसो बेरोजगार जनता को हालत कल्पनातीत विषादग्रस्त छ ।

सँगै आआफ्नो वृहत् स्वार्थका निमित्त कमजोर देशलाई आआफ्नो प्रभावमा पार्ने विश्वशक्तिको दाउपेच छँदैछ । तर वर्तमान नेपाली नेतृत्वसँग यस वैश्विक दाउपेचबाट स्वीटजर्ल्याण्ड–इजरायलआदिले झैं देशलाई सक्षमतापूर्वक अलग्ग राख्ने कुटनैतिक सक्षमता छैन ।

न आन्तरिक स्थितिको कुशल व्यवस्थापन गर्ने प्रशासनिक कार्यकुशलता नै छ । न त्यस्तो दायित्वबोध, इच्छाशक्ति, आत्मविश्वास र बौद्धिक–राजनैतिक–सांगठनिक कुशलता नै छ । उल्टो आन्तरिक प्रतिस्पर्धाका निमित्त राष्ट्रिय हितका समेत मूल्यमा ती शक्तिको प्रयोग गरेर खेलिरहनेमा बदनाम छ ।

यस विकट यथार्थका बाबजुद नेपाली जनतामा राष्ट्रियता, लोकतन्त्र, शान्ति र आपसी सहिष्णुताप्रति अटल आस्था अभिसंचित छ । त्यस्तै विश्वसमुदायमा पनि स्वतन्त्र, अक्षुण्ण, विभिन्न किसिमका विशेषताले सम्पन्न यो राष्ट्रको छवि तथा हैसियत मित्रवत् लोकप्रिय रहेको छ । फलतः यो देश आन्तरिक तथा बाह्य दुवै असुरक्षाबाट मुक्त छ ।

भाग्यमानी नेपाली नेतृत्वलाई यस अवसरको लाभस्वरूप यसलाई यत्तिकै राखेर आपसमा असहमत भएजस्तो देखाउँदै (खानेकुरामा भने तुरुन्त सहमत हुँदै), चलाइरहनुभन्दा सजिलो के हुन्थ्यो ? त्यसका निमित्त बेलाबेला केही कार्यकर्ता जुधाउने–थुनाउने–मराउने नाटक गरे पुग्छ ।  नेतृत्वसँग न अन्यथा उपाय छ, न उपाय खोजिरहनै परेको छ, न उपाय खोज्ने ज्ञान छ ।

 हन पनि ‘टुटेका फुटेका रंगरोगन खुस्केका फगत् क्यारमका गोटी’को बिम्ब बनेको वर्तमान नेतृत्वसँग न कुनै योजना बाँकी छ, न चाहना, न योग्यता छ । मात्रै सुनको बाला देखाएर सोझा बटुवाको शिकार गर्ने बूढो बाघले झैं समाजवाद, जातिवाद, संघवाद, क्षेत्रवादजस्ता अनेक चिरअमूर्त सपना बाँडेर जनभावनालाई अल्झाउँदै–अलमल्याउँदै करोडौँको कारमा सयर गरिरहनु छ, बस् ।

संघीय संविधान कार्यान्वयनको नियति देखिहालियो । तलबभत्ता र विलासिताको असीमित रहरले नै देशलाई खोक्रो हुन्जेल निचोरिरहेको छ । वैधानिक अनुशासनबाट बाहिर निकालेर खुद केन्द्रीय नेतृत्वले प्रदेश तथा स्थानीय नेतृत्वलाई नियतपूर्वक मनोमानी गर्ने लाइसेन्स बाँडेको छ ।

यसबाट पहिल्यैदेखि व्याप्त दण्डहीनता, भ्रष्टाचार, महँगी, असुरक्षाजस्ता विसंगति त्यही नै मुख्य काम भएझैं उच्चतम मौलाएका छन् ।

यसरी स्थिति जति लथालिङ्ग भए पनि त्यसमा खेल्नसक्ने र खेलिआएका सबै ठुला र तिनका सहायकमा सत्तासुखको बन्दै–बद्लिँदैरहने स्वस्फुर्त आनुपातिक साझेदारी भैसकेपछि यत्तिकै खेलिरहन कसले रोक्ने ?

राजनीति, निजामती–न्याय–सुरक्षा, उद्योग–व्यापार–जमिन्दारी, शिक्षा–कला–साहित्य–धर्म–समाजसेवा, बाहुबल–बन्दुक–बदचलनका सबै ठुला मालामाल छँदैछन् । अर्थात् राज्यसंचालनका निर्देशक, तामेलदार वा सारथि र सहायक सबैलाई बिलो पुगेकै छ ।

शक्ति–साधन–स्थानहीन नकुन्नी धोबी, निर्मला कुर्मी जस्ता सधैँ कुण्ठित बाँच्ने सर्वसाधारणको न चिन्ता न डर । हिजो पनि तिनिहरू कुण्ठितै थिए, आज पनि छन् र भोलि पनि रहनेछन् यस्तै रहे सयौँ वर्षै किन नहोस् !

  बस्, टुग्ंग्याउनीमा केमात्र थप्न बाँकी रहन्छ भने यो देशलाई त्यसो होइन, वास्तवमै सुव्यवस्थित र गतिशील पार्नुपर्छ भने कुनै फलानैवादले भन्नु हुँदैन । कानूनको यथोचित कार्यान्वयन र दण्डहीनताको अन्त्य चाहिन्छ । अर्थात् वाद, जात, क्षेत्र, दल, साइनो, पद, केही नहेरी आवश्यकता र योग्यता अनुसारको काम, काम अनुसारको दाम र पुरस्कार अनि अपराध अनुसारको दण्ड हुनैपर्छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.