|

काठमाडौं : आज तिहारको भाइ टीका। सामाजिक सञ्जालभरि परिवारसँग वर्ष दिनको तिहार मनाइरहेका फोटो छ्यापछ्याप्ती छ। दाइभाइको निधारमा छ सप्तरङ्गी टीका। माइती चेली आशीष प्रदान गरिरहेका छन्। देउसीभैलो पनि खेलिरहेका भिडियो र फोटो हेर्न सकिन्छ सामाजिक सञ्जालमा।

जसमा परिवारका मानिसहरू तथा हाँसीखुसी भएका तस्बिर देख्न सकिन्छ। तर, यहीबीच केही पोष्ट छन् जसले प्रायः धेरैको मन रुवाइदिएको छ। केही सपना बोकेर विदेशिएकाहरूले सामाजिक सञ्जालमा मार्मिक शब्द लेख्दै गाउँघरमा रहेका आमा,दिदी बहिनीलाई सम्झिरहेका छन्। 

अम्बरबहादुर विक फेसबुकमा लेख्छन्,‘मखमली र सयपत्रीले फेरि तिहार बोलायो। के छ र परदेशीको जीवन यस्तै बस्याे, टोलायो। चेली र माइती नभेटेको पनि वर्षौं पो बितेछ। सम्झना साह्रै हुन्छ नि साह्रै मन त्यसै पोल्यो।’ उदयपुरका विक हाल कतारमा रोजगारीको सिलसिलामा छन्। तर, पनि उनको मन अहिले नेपालमा रहेको ती शब्दबाट थाहा हुन्छ। 

गत वर्ष कोरोना कहरका कारण दशैँ र तिहार नेपालीलाई खल्लो भयो। यसवर्ष भने परिस्थिति सहज बनेको छ। सरकारले पनि स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी देउसी भैलो खेल्न दिएको छ। त्यसो त शहरमा मात्र नभई गाउँघरमा पनि उत्तिकै रौनक छ तिहारको।

यस्ता दृश्यले परदेशिएकाको मन किन नपोल्ला र? रोजगारीको लागि विदेशिएका किसन बाम्बुले राई पनि फेसबुकमा परिवारको फोटो र सयपत्री फूलको तस्बिर राख्दै लेख्छन्,‘मेरो प्यारो पापा मामु अनि आत्मीय कावालाई धेरै मिस गर्दै सबै मेरो घरपरिवार अनि मेरो आफन्तजनमा हेप्पी दीपावली। परदेशीको केही चिन्ता नलिनुहोला। हजुरहरू स्वास्थ्य रहनुहुन्छ भने त्यत्तिकै छोरा पनि स्वास्थ्य रहेको छ भनी आशा गर्नुहोला।’ 

उनले घरपरिवारलाई राम्रोसँग तिहार मनाउन आग्रह र शुभकामना सन्देश दिएका छन्। उनी अगाडि थप्छन्,‘मलाई तपाईंहरूको साथ र माया पाएसम्म न बाढीले न हुरीले केही गर्नेछ।’ 

आज भाइटीका भएकै कारण धेरैले भाइ दाइलाई दिदीबहिनीले सप्तरङ्गी टीका निधारमा लगाउँछन्। तर, परदेशमा रहेकाले लगाउन पाएका छैनन्। तर, पनि धेरै सम्झेका छन् आफ्ना दिदीबहिनीलाई।

विदेशमा रहेका अशोक काफ्ले सामाजिक सञ्जालमा लेख्छन्,‘सानैमा दाइसँग हजारभन्दा कम दिने भए टीका लगाइदिन्नँ नि भन्ने बहिनीले खाडी पुगेका दाजुको निधारमा टीका नलगाइदिएको तीन वर्ष पुगेछ। अहिले निधार मात्रै भए पुग्छ भन्दै फोनमा रोइरहेकी हुन्छिन्।’

लोकेन्द्र बुढाले पनि तिहारको बेला परदेशमा आफूले भोगेका दुःख पीडालाई सार्वजनिक गरेका छन्। उनले फेसबुकमा लेख्छन्,‘पैसाले इज्जत कमाउन परदेशिएका हरेक नेपाली छोराहरूको मन साच्चै नै रोयो होला। प्यारी बैनीको यादले पक्कै पनि सतायो होला। परिवारको मायाले त झनै रातभरि निद्रा लागेन होला।’

उनले विदेशमा रहेका व्यक्तिहरू अहिले रमाइरहेका छैनन् भनी उनले पीडा पोखेका छन्। उनले लेखेका छन,‘नसोच्नु ए दाजु भाइ यहाँ रमाएको छ भनी,तिम्रा यादले आँसु थाम्‍न सकिएको छैन,नसोच्नु ए दिदी तिम्रो यो परदेशी भाइ हाँसेको छ भनेर,निधारमा टीका घाँटीमा मालाको अनि त्यो मुस्कान अझै यो पापी आँखा र मुटुमा छ।’

सबैले सुन्ने अनि दशैँ तिहारमा गुञ्जिने ती मीठा गीतका धुन अहिले सुनिरहेको भन्दै यस्ता पीडा वैदेशिक रोजगारीमा कहिले अन्त्य हुने भनी सरकारसँग प्रश्न गरेका छन उनी।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.