बन्ला त सडकको सुरक्षित डिजाइन ?

|

काठमाडौं : दोस्रो चक्रपथ कलंकी–महाराजगञ्ज–धोबीखोला सडकखण्ड विस्तार सुरु भएको लामो समय भए पनि डिजाइन सार्वजनिक भएको छैन।

सरकारले चक्रपथ विस्तारका लागि ०७६ सालको दशैँ अगाडीदेखि नै कलंकीबाट रुख काट्न सुरु गरेको थियो।

सडक विभागका अनुसार धोबीखोला सम्मकै रुख काटि सकिएको छ।

प्रायः सबै बिजुलीका पोल र टेलिफोनको तार पनि व्यवस्थापन गरिसकिएको छ। तर, अहिलेसम्म डिजाइन भने सार्वजनिक भएको छैन।

सरकारले पहिलो चरणमा चीन सरकारको सहयोगमा कोटेश्वर–कलंकीसम्मको ८ लेनको सडक विस्तार गरेको थियो।

तर बनिसकेको सडक पैदल र चालकमैत्री नदेखिएको भनी यसको चर्को आलोचना भयो।

विज्ञहरूले डिजाइनमा त्रुटीसमेत भएको निष्कर्ष निकालेका थिए। 

आयोजना भन्छ : चीनबाटै डिजाइन आइपुगेन

काठमाडौं चक्रपथ सुधार योजनाका इन्जिनियर सुमित्रा अधिकारीले अझै चीनबाट दोस्रो चक्रपथको आयोजनाको डिजाइन सहितको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) नआएकाले सार्वजनिक नगरिएको जानकारी दिइन्। 

​उनले भनिन्, ‘हामीले सडक मात्रै रेखांकन गर्ने हो, चीनकै सहयोगमा बनाउनुपर्ने भएकोले डिजाइन उनीहरूले नै बनाउँछन्, तर अझै डिजाइन आएको छैन।’

चीनले के कस्तो डिजाइन बनायो भनी हालसम्म नेपाललाई जानकारी नगराएको उनको भनाइ छ।

दोस्रो चरणको सडकखण्ड पनि चीनको सहयोगमा कलंकीदेखि धोबीखोला सम्मको ११ किलोमिटर ६ सय ४ मिटर भाग ८ लेनकै विस्तार गरिने जानकारी उनले दिइन्।

यही सडक विस्तारका लागि नारायणगोपाल चोक क्षेत्रका केही घर भत्काउनुपर्ने विभागले जनाएको छ।

स्थानीयका अनुसार २२ घर भत्काउन लागिएको छ। तर उनीहरूले उक्त क्षेत्र ‘बिल्टअप एरिया’ भएकाले भत्काउन नमिल्ने अडान राख्दै आएका छन्।

०२९/३० सालमा काठमाडौंमा चक्रपथको परिकल्पना र रेखाङ्कनपछि नै महाराजगञ्ज क्षेत्रको चौबाटो (क्रसिङ)लाई पुरानो बसोबास महत्वका क्षेत्र ठहरिएकाे र  त्यसबेला पूर्वतर्फ १ सय ३५ मिटर र पश्चिमतर्फ १ सय ९ मिटर बिल्टअप एरिया तोकिएको स्थानीयकाे भनाइ छ।

यो विवाद भने अझै कायमै रहेको योजनाका इन्जिनियर अधिकारीले बताइन्।

बन्ला त सडकको सुरक्षित डिजाइन ? 

दोस्रो चरणको सडक विस्तारमा पहिलाको जस्तै त्रुटी नगर्न विज्ञहरूले सरकारलाई सुझाव दिइरहेका छन्।

सर्वसाधारणले समेत चक्रपथ विस्तार सुरक्षित सडक हुनुपर्ने माग गर्दै आएका छन्। डिजाइन तत्काल सार्वजनिक गर्न पनि माग गरिरहेका छन्।

यातायात तथा शहरी पूर्वाधारविज्ञ आशिष गजुरेल बृहत छलफल गरेर मात्र चक्रपथ डिजाइन बनाएर पारित गर्नुपर्ने बताउँछन्।

उनले भने, ‘सडक सवारीसाधन गुड्नलाई मात्र बनाउने होइन, पैदल यात्रु हिँड्ने, सडक अपांगमैत्री पनि चाहिन्छ, त्यसैले पहिलो चरणको चक्रपथजस्तो बनाउनु हुँदैन।’

​उनका अनुसार यहाँ सडक बनाउँदा जहाँ खाली ठाउँ छ त्यहाँ मात्र फुटपाथ राखिने र खाली नभएको ठाउँमा पूरै सडक बनाउने प्रचलन छ।

यसो गर्न नहुने र रोक्नुपर्ने उनको माग छ। ‘पहिला नै डिजाइन बनाउँदा सर्वसाधारणलाई सुरक्षित हुने खालको बनाउनुपर्छ, यसका लागि सबै विज्ञ, सरोकारवालाहरूसँग बृहत छलफल गर्नु आवश्यक छ,’ विज्ञ गजुरेल सुझाउँछन्।

यस विषयमा चक्रपथ सुधार योजनाका इन्जिनियर अधिकारीले भने दोस्रो चक्रपथ विस्तारमा सुरक्षित सडक नै बन्ने बताइन्।

‘चीनबाट डिजाइन आएपछि हामी हेर्छौ, पहिलाको जस्तो भए सच्याएर सुरक्षित डिजाइन बनाइन्छ, त्यहीअनुसार सडक विस्तार गरिन्छ,’ उनले भनिन्।

पहिला जस्तो गल्ती नदोहोरिने उनको भनाइ छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.