च्यासल मैदान पनि तयार हुँदै

|

काठमाडौं : आगामी साता सुरु हुने सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलका खेलहरु ३ वटा मैदानमा खेलाउने तयारी भएको छ।

अघिल्ला संस्करणमा २ वटासम्म मैदानमा खेलाइएको ए डिभिजन यसपालि ३ वटा मैदानमा खेलाउने तयारी भएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ।

पहिलो र दोस्रो चरणमा त्रिपुरेश्वरस्थित दशरथ रंगशाला र सातदोबाटोस्थित एन्फा टेक्निकल सेन्टरमा खेल हुनेछ।

दोस्रो चरणमा च्यासल मैदान पनि खेलाउने तयारी भएको एन्फा लिग कमिटीका निर्देशक संजिव मिश्रले जानकारी दिए।

उनका अनुसार पोखराको रंगशालाको पनि कुरा आएको तर यस विषयमा निर्णय भने भइ सकेको छैन। मनाङ मर्स्याङ्दीले पोखरा रंगशालाको लागि प्रस्ताव गरेको छ।

यो मैदानमा पनि खेल हुने टुङ्गो लागेको खण्डमा ४ वटा मैदानमा ए डिभिजन लिग संचालन हुनेछ।

कात्तिक २९ हुने उद्घाटन खेलमा सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुँदैछ। दुवै टोली ललितपुरका हुन्।

सातदोबाटो यसै सिजनबाट ए डिभिजनमा बढुवा भएर आएको हो। यो खेल दशरथ रंगशालमा साँझ ५ बजे सुरु हुनेछ।

यसपछिका अरु दिन हुने खेल भने दिउँसो ३ बजे हुनेछन्।

कात्तिक ३० गतेदेखि मात्र सातदोबाटोको एन्फा टेक्निकल सेन्टरमा खेलहरु हुने एन्फाले जनाएको छ।

कात्तिक ३० गते हिमालयन शेर्पा र संकटा क्लबबीच दिनको १२ बजे खेल सुरु हुनेछ।

तेस्रो चरणको खेल च्यासलमा गराउने लक्ष्य रहेको निर्देशक मिश्र बताउँछन्।  

'मैदानमा केही प्राविधिक काम बाँकी नै छ,' उनले भने, 'मैदानमा गोलपोस्ट बनाउने र मैदानभित्र खेल क्षेत्रको लाइन बनाउने काम हुँदैछ।'

आगामी फागुन १४ सम्म चल्ने लिगमा १४ टोलीले सहभागिता जनाउँदै छन्।

ए डिभिजनबाट दुई टोली रेलिगेशनमा पर्दै घटुवा हुनेछन्। लिगमा कुल १३ चरणबाट ९१ वटा खेल हुने एन्फाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.