'भाइरस सार्ने लामखुट्टे प्रशस्तै देखिएकाले सावधानी अपनाऔं '

|

काठमाडौं : पछिल्लो समय भारतका केही प्रदेशमा जिका भाइरसका संक्रमित बढ्दै गएका छन्। जसले गर्दा नेपालमा पनि जिका भाइरसको जोखिम बढ्दै गएको विज्ञहरूले बताएका छन्।

भारतको केरला राज्यमा देखिएको जिका भाइरस अक्टोबर महिनाको अन्त्यसम्म नेपालको सिमानासँग जोडिएको भारतीय राज्य उत्तर प्रदेशसम्म आइपुगेको छ । जसले गर्दा नेपालमा पनि यसको जोखिम बढ्दै गएको हो।

नेपालमा जिका भाइरसको जोखिम बढ्दै गए पनि यसको परीक्षणको लागि आवश्यक पर्ने किट नै सरकारसँग छैन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलका अनुसार भारतमा देखिँदै आएको जिका भाइरस नेपालको सिमानासँग जोडिएको भारतीय राज्यमा समेत देखिन थालेपछि सरकारले यसको परीक्षणको लागि आवश्यक किट विश्व स्वास्थ्य संगठन संग मागेको बताए। ‘जिका भाइरसको जोखिम हाम्रोमा बढ्दै गएको छ, तर अहिले हाम्रोमा यसको परीक्षणको लागि चाहिने किट छैन, त्यसको लागि हामीले विश्व स्वास्थ्य संगठन संग सहयोग मागेका छौं’ उनले भने।

नेपालमा केही वर्ष अगाडि डेंगु र चिकनगुनिया भाइरससँगै जिकाको पनि परीक्षण हुने गर्दथ्यो । तर, हाल यसको परीक्षण स्थगन भैसकेको छ।

जिका भाइरस सार्ने लामखुट्टे हाम्रोमा प्रशस्तै छ

जिका भाइरस मुख्यत: एडिस जातका संक्रमित लामखुट्टेको टोकाइबाट सर्ने र यो प्रजातिको लामखुट्टे नेपालमा प्रशस्तै रहेको हुँदा अझै जोखिम थपिएको डा.पौडेलले बताए।

‘यसलाई सार्ने एडिस जातका लामखुट्टे नेपालमा देखिइसकेका छन्। एक त सिमावर्ती क्षेत्रमा यो भाइरसका विरामी बढ्दै जाने अर्को तर्फ यो भाइरस सार्ने लामखुट्टेको प्रजाति हाम्रोमा नै हुँदा थप जोखिम थपिएको हो, जसले गर्दा हामीले सिमाका हेल्थ डेक्स सक्रिय बनाउने र लामखुट्टे धेरै हुने ठाउँमा जोखिम काम गर्ने कार्यक्रम गर्ने तयारी गरेका छ‘ उनले भने।

जिका भाइरसको संक्रमणको सबैभन्दा धेरै जोखिम समूह भनेको गर्भवती महिला भएको हुँदा हामीले नेपालमा गर्भवती परीक्षण हुने ठूला अस्पतालहरूमा यस्ता लक्षण भएका गर्भवती भए नभएको विशेष ख्याल गर्न समेत निर्देशन दिइसकेको प्रवक्ता डा पौडेलले बताए।

‘यो भाइरसको जोखिममा विशेषगरी गर्भवतीहरू हुन्छन्, यो भाइरसले पेटमा भएको बच्चाको मस्तिष्कको विकास कम गराउने, टाउको सानो हुने तथा अपाङ्ग बच्चा जन्मने जोखिम समेत हुने हुँदा गर्भवती महिलाहरूलाई विशेष निगरानीमा राख्नु पर्ने हुन्छ’ उनले भने।

के हो जिका भाइरस ?

जिका भाइरस सबैभन्दा पहिले सन् २०१५ मा ब्राजिलमा देखिएको थियो। ब्राजिलमा यो भाइरस फैलिएपछि जन्मिएका बालबालिकाहरूमा टाउको आकार सानो हुने ‘माइक्रोकेफाली’को समस्या देखिएको थियो। धेरै बालबालिकाहरूमा यस्तो समस्या देखिए पछि जिका भाइरस संक्रमणले गर्दा यस्तो समस्या देखिएको पुष्टि भएको थियो।

 विश्व स्वास्थ संगठनले पनि सन् २०१६ मा जिका भाइरसलाई ‘पब्लिक हेल्थ इमर्जेन्सी अफ इन्टरनेसनल कन्सर्न’ घोषणा गरेको थियो। सन् २०१७ मा भारतको गुजरात राज्यमा ३ जनामा जिका भाइरसको संक्रमण देखिएको थियो भने सन् २०१८ सम्ममा मध्ये प्रदेश र राजस्थानसम्म फैलिएको थियो।

तीन वर्षपछि सन् २०२१ को जुलाई महिनामा जिका भाइरसले भारतमा फेरि देखिएको हो। भारतको केरला राज्यमा देखिएको का पछिल्लो समयमा नेपालको सिमानासँग जोडिएको भारतीय राज्य उत्तर प्रदेशसम्म आइपुगेको छ ।

यौन सम्पर्कबाट समेत सर्छ जिका भाइरस

जिका भाइरस एडिस नामक लामखुट्टेको टोकाइबाट मुख्यगरी सर्ने र यो भाइरस संक्रमित गर्भवती भए आमाबाट पेटको बच्चामा समेत यो भाइरस सर्ने गर्छ। यस्तै  संक्रमित व्यक्तिसँगको यौन सम्पर्कबाट समेत जिका भाइरस सर्ने गर्छ।

जसले गर्दा जो कोही यो भाइरस फैलिरहेको स्थानमा पुगेर फर्किएको छ भने यौन सम्पर्क राख्नु हुँदैन। लामखुट्टेबाट सर्ने भएतापनि पछि संक्रमित व्यक्तिबाट अर्को व्यक्तिमा यौन सम्पर्कको माध्यामबाट पनि सर्न सक्ने हुदा सबैले सतर्कता अपनाउनु आवश्यक रहेको डा. पौडेलले बताए।

यस्तो लक्षण देखिए सतर्क हुनुपर्छ

जिका भाइरस संक्रमण हुँदा ज्वरो आउनु, शरीरमा बिबिरा देखिनु, आँखा रातो हुनु, मांसपेशीका दुख्ने, टाउको दुख्ने, जोर्नी दुख्नेजस्ता लक्षण देखिए सतर्कता अपनाउनुपर्ने डा‍‍. पौडेलले बताए।

यो भाइरस विशेषगरी एडिस जातका संक्रमित लामखुट्टेको टोकाइबाट सर्ने हुँदा यो प्रजातिको लामखुट्टे नेपालमा प्रशस्तै रहेको हुँदा घर वरपर सरफाइ गर्नु पर्ने र सकभर लामखुट्टेको टोकाइबाट जोगिनुपर्ने र संक्रमित धेरै रहेको क्षेत्रबाट फर्किएकाहरूले विशेष सावधानी अपनाउनु पर्ने डा. पौडेलले बताए।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.