स्थानीय भन्छन्, रूख काटिएन भने दुर्घटना अझै बढ्छ

|

काठमाडौं : बागमती प्रदेशका पूर्व भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुँयालले फेसबुकमा लेखे, ‘सडक बीचमा रहेको संरचना र पीपलकाे रूख के गर्ने होला? धार्मिक व्यक्तित्वहरूले वातावरण बनाई दिनुपर्ने अवस्था आयो।’ 

उनले कात्तिक १५ गते फेसबुकमा सुन्दरीजलस्थित सैनिक ब्यारेक अगाडिको बीच सडकमा रहेको पीपल बोटसहितको तस्वीर राखेर त्यस्ता पोष्ट गरेका थिए।

नभन्दै गत आइतबार बेलुका त्यही सडक बीचमा रहेको पीपलबोटमा मोटरसाइकल ठोक्किएर चालकको मृत्यु भयो। 

महानगरीय प्रहरी वृत्त बौद्धका अनुसार जाेरपाटी अत्तरखेलका २२ वर्षीय स्वच्छन्द पुडासैनी एक्लै बा ९० प ४५६ नम्बरको मोटरसाइकलमा सुन्दरीजलबाट जोरपाटीतर्फ गइरहेका थिए।

त्यतिखेर साँझ मोटरसाइकल अनियन्त्रित भई रूखमा ठोक्कियो।

मोटरसाइकल ठोक्किएको सुन्दरीजलको पीपलकाे बोट

ठोक्किएलगत्तै प्रहरी र स्थानीयले पुडासैनीलाई जोरपाटी अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भयो।

जोरपाटी–सुन्दरीजल सडकखण्डको सडक पिच गर्ने बेला रूख नकाटिँदा दुर्घटना भएको स्थानीय बताउँछन्।

सडक बनाउने निकायको गम्भीर लापरबाहीले पुडासैनीको ज्यान गएको उनीहरूको आरोप छ।

स्थानीयले तीन महिनाअघि नै रूख काट्न सुझाएका थिए

वर्षौंदेखि उक्त सडकखण्ड अलपत्र छ नै। अहिले धुँवा धुलोले त्यस सडक आसपासमा हिँड्न सकस छ।

गोकर्णेश्वर नगरपालिका र काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले सडक त पिच गर्न सकेन, सडक बीचमा रहेको रूख समेत व्यवस्थापन नगर्दा सवारी दुर्घटना भयो।

स्थानीय आत्मराम सिम्खडा तीन महिनादेखि नै नगरपालिका वडा-१ मा पर्ने ती रूख काट्न दबाब दिए पनि नगरपालिकाले बेवास्ता गरेको बताउँछन्।

‘सडकचाहिँ पिच भयो तर बीच सडकमा रहेको पीपल बोट हटाइएन’‚ उनले भने, ‘हामीले त यस्तै दुर्घटना हुन्छ भनेर नगरपालिकालाई काट्न भनेका थियौँ तर काटेन। अहिले आएर दुर्घटना भयो।’ 

तत्काल ती रूख नकाटिए अझै यस्ता दुर्घटना निम्तिने उनले बताए।

‘बीच सडकमा रूख राखेर पिच गर्ने यो कस्तो विकास हो?, प्रमुख निकाय के हेरेर बसिरहेको छ?’‚ उनले आक्रोश पोखे। 

मोटरसाइकल ठोक्किएपछि बोक्रा ताछिएको पीपलको रूख 

अरू ठाउँमा पनि छन् ज्यानमारा रूख

सुन्दरीजलमा मात्र नभई अरू सडकखण्डमा पनि बीच सडकमा रूख छन्।

कलंकी मन्दिरमा पनि बीच सडकमा पीपलको बोट छ। जसकारण सवारीसाधन ओहोरदोहोर गर्न समस्या भएको छ।

पुरानो बानेश्वरको बीच सडकमा पनि ठूलो रूख छ।

त्यसैगरी कमलपोखरी, सिनामंगल चोकलगायत क्षेत्रका सडक बीचमा रूख छन्। त्यसो त ती ठाउँमा पनि सवारी दुर्घटना नहोला भन्न सकिन्न।

काठमाडौं उपत्यकामा मात्र नभई बाहिर जिल्लामा पनि सडक बीचमा रूख राखेर सडक कालोपत्रे गर्ने गरिएको छ।

पर्साको वीरगञ्ज–ठोरी हुलाकी मार्गमा रूख नकाटी सडक पिच गरिएको छ।

ठोरी गाउँपालिकाका अध्यक्ष पदमलाल श्रेष्ठका अनुसार ०७७ सालमै सडक पिच भए पनि हालसम्म रूख काटिएको छैन। ‘रूखकै कारण अझै करिब ९ किमि सडक पिच गर्न सकेका छैनौँ’‚ उनले भने।

रूख काट्न बारम्बार चितवन राष्ट्रिय निकुञ्जलाई आग्रह गर्दा पनि बेवास्ता गरिएको उनको भनाइ छ।

‘त्यसै हामी रूख काट्न मिल्दैन, निकुञ्जलाई सहजता गर्नुपर्ने हो, गरेको छैन। तैपनि म निरन्तर यसको लागि फलोअप गरिरहेको छु’‚अध्यक्ष श्रेष्ठले भने।

पर्साको  वीरगञ्ज–ठोरी हुलाकी मार्गको बीच सडकको रूख / तस्बीर : ठोरी गाउँपालिकाका अध्यक्ष पदमलाल श्रेष्ठ

के गरिन्छ सुन्दरीजलको रूख?

मोटरसाइकल दुर्घटना भएपछि नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुंगानाले रूखको विषयमा स्थानीयसँग छलफल गरी व्यवस्थापन गर्ने बताए।

‘पीपल बोटको धार्मिक महत्त्व पनि छ। त्यसैले नगरपालिकाको रूख वरपर वाल लगाएर सुरक्षित सडक बनाउने भनेका थियौँ। अब स्थानीयले के भन्छन्, त्यसैअनुसार व्यवस्थित गछौँ’‚ उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.