|

काठमाडौं : केही दिन अगाडी राहदानी विभागमा राहदानी (पासपोर्ट) बनाउनेको भीड थियो। राहदानी विभागमा भीड बढेको जानकारी सञ्चारमाध्यमबाट पाएका रामेछापका राम तामाङ राहदानीका लागि लैनचौर पुगे।

बिहान ८ बजे लाइन बस्न पुगेका तामाङ साँझ ५ बजे खाली हात फर्किए।  

अमेरिकाको डाइभर्सिटी भिसा अर्थात् डिभी खुलेको जानकारी पाएका तामाङले त्यसैका लागि पासपोर्ट बनाए । काठमाडौमा आफ्नै व्यवसाय  सञ्चालन गर्दै आएका तामाङ अमेरिका जाने सपनाले डिभी भर्नका लागि पासपोर्ट बनाउन आएको बताए।

उनले भने,‘आफ्नै व्यवसाय सञ्चालन  गर्दै आएको छु तर, न डिभी परिहाल्छ कि भनेर पासपोर्ट बनाएँ र भरेँ।’तामाङले यस अघि पनि डिभी भरेका थिए, तर परेन।

उनले भने,‘पासपोर्टको म्याद  पनि सकियो त्यसैले भीडमा बसेर भए पनि पासपोर्ट बनाएँ।’

त्यस्तै सिन्धुपाल्चोक घर भएकी सुस्मिता अधिकारीले पनि निकै लामो लाइनमा बसेर पासपोर्ट बनाइन्। डिभी भर्नकै लागि पासपोर्ट बनाउन आएको अधिकारीले सुनाइन्। 

'तत्कालै अरु देश जाने योजना छैन। अधिकारीले भनिन्,‘डिभी भर्नका लागि पासपोर्ट चाहिने रहेछ त्यसकै लागि बनाएको  हो।’  

पछिल्लो समय देशमा रोजगारीको अवसर नपाएको भन्दै विदेशिने भीड निकै ठूलो छ। त्यसमा पनि अमेरिका आकर्षणको केन्द्र नै बनेको छ। डिभी पर्ने नपर्ने निश्चित  हुँदैन। तर वर्षेनी हजारौंले डिभी भर्ने गरेका छन्।  पहिले डिभी परेपछि मात्रै पासपोर्ट बनाउँदा हुन्थ्यो ।

तर पछिल्लो केही वर्षयता डिभी भर्नकै लागि पासपोर्ट नम्बर चाहिने भएपछि एकैपटक भीड बढेको राहदानी विभागले जनाएको छ। 

डिभी भर्नै ३० हजारले बनाए राहदानी

अन्य समयमा भन्दा डिभी खुलेपछि विभागमा भीड थेग्नै नसकिने गरी बढेको राहदानी विभागका निर्देशक शरदराज आरनले बताए। पछिल्लो समय डिभी भर्नका लागि मात्र ३० हजारले पासपोर्ट बनाएको विभागको तथ्याङ्क छ। 

यसअघि विभागले हरेक महिना मासिक १५ सय पासपोर्ट बनाउँदै आएको थियो। विभागले डिभी अवधि अर्थात् सेप्टेम्बर र अक्टोबर महिनामा पासपोर्ट बनाउनेको संख्या वृद्धि भएको जनाएको छ।

सेप्टेम्बरमा ६५ हजारले पासपोर्ट बनाएका थिए भने नोभेम्बरमा ६६ हजारले राहदानी बनाएका छन्। जसमा ७० प्रतिशतले डिभी भर्नकै लागि पासपोर्ट बनाएको निर्देशक आरनले जानकारी दिए।

दोब्बर शुल्क तिरेर तीन दिनमा पासपोर्ट बनाउनेको संख्या अन्य समयमा भन्दा वृद्धि भएको छ। अमेरिकाले सन् २०२३ का लागि अक्टोबर ९ देखि डिभीको आवेदन खुला गरेको थियो। आवेदनको समयसीमा कात्तिक २३ (नोभेम्बर ९) मा सकिएको छ।

नेपालीसहित विश्वका विभिन्न मुलुकका नागरिकले अमेरिका जानका लागि हरेक वर्ष ठूलो संख्यामा  अनलाइनबाट डाइभर्सिटी भिसा अर्थात् डिभी भर्दै आएका छन्। अमेरिकाले सन् १९९१ बाट डिभी कार्यक्रम सुरु गरेको हो।

के हो डिभी ?

खासमा अमेरिकातर्फ कम आप्रवासन दर भएका मुलुकका नागरिकलाई अमेरिका भित्र्याउनका लागि डिभी कार्यक्रमको शुरुवात गरिएको हो।  

हरेक वर्ष विभिन्न मुलुकबाट १ लाख आवेदकलाई दामाशाहीबाट छान्ने गरिन्छ भने ५० हजारलाई ग्रीन कार्ड दिइने प्रावधान छ। डिभी चिट्ठाबाट छानिने भएकाले डिभी पर्ने नपर्ने निश्चित भने हुँदैन।

 हरेक वर्ष १ करोड देखि २ करोड सम्मले अनलाइन फाराम भर्ने गर्छन्। यसमा अफ्रिकी तथा एशियालीहरुको धेरै ठूलो सहभागिता रहने बताइन्छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.