|

झापा : छठ पर्वको मुख्य विधि सुरु भएसँगै भद्रपुर–५ स्थित मेची किनारमा छठ पर्वको तयारी तीव्रता बनाइएको छ।

भोलि बुधबार बेलुका अस्ताउँदो सूर्य र पर्सि बिहीबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै मनाइने मुख्य चाड छठलाई भव्यता दिन मेची नदी किनार बेहुलीझैँ सिंगारिँदै छ।

अघिल्लो वर्ष कोरोना महामारीले घरआँगनमै छठ पर्व मनाउनु परेको थियो। यो वर्ष स्थानीय प्रशासनले छठ पर्व मनाउन अनुमति दिएपछि भद्रपुर नगरपालिकाको सहकार्यमा आयोजक समिति तयारीमा जुटेका छन्।

नदी किनारको मसानघाटदेखि मेची पुलको मुख्यद्वार हुँदै देवीबस्तीसम्मको करिब डेढ किलोमिटर वारिपारि करिब ५ हजारभन्दा बढी पूजास्थल (घाट) निर्माण गरिँदै छ। अहिले पण्डाल र घाट निर्माणका लागि मैथिल समाज झापा र युनिक समूह भद्रपुर लागि परेका छन्। उता मेची नदीमा भारतीय नागरिकले पनि छठ घाट र पण्डाल बनाउने तयारी गरिरहेका छन्।

भारतको बङ्गाल तथा विहार गरी दुईवटा राज्यसँग जोडिएको मेची नदीको सीमा क्षेत्रमा मनाइने प्रदेश १ कै सबैभन्दा ठूलो पर्व मेची नदीमै मनाइन्छ। त्यसैले नेपालको जनकपुरपछि भद्रपुरको छठ पर्व दोस्रो स्थान ओगट्न सफल भएको आयोजक समितिको ठहर छ।

नदी किनारमा बिजुलीबत्ती जडान, दुईवटा अस्थायी बाँसे पुल निर्माण, सरसफाइ, खानेपानी व्यवस्थापन, सुरक्षा बिट, स्वागत गेट, हेल्प डेस्क, सूर्यको मूर्ति राख्ने ठाउँ निर्माण भइरहेको मैथिल समाजका अध्यक्ष रमेशचन्द्र झा बताउँछन्। ’यो वर्ष घाट निर्माणको जिम्मा मैथिल समाजले लिएन’‚ उनले भने, ‘व्रतालु परिवारजन आफैं घाट निर्माण गरिरहेका छन्।’ समाजले कोभिडलाई मद्देनजर गरी व्यवस्थापनको जिम्मा मात्र लिएको उनको भनाइ छ।

उता युनिक समूह आफैंले घाट निर्माण गरेको छ। समूहले ५ फुट घाटको ५ सयदेखि ७५० रुपैयाँसम्म लिएको समूहका अध्यक्ष नारद राजवंशीले बताए। गरिब तथा विपन्न परिवारलाई निःशुल्क घाट उपलब्ध गराएको उनको भनाइ छ।

अहिले पहाडी, मारवाडी, बङ्गाली, राजवंशीलगायतका समुदायले छठ पर्व मनाउँदै आइरहेका छन्। मेची नदीमा छठ हेर्न देशका विभिन्न जिल्ला लगायत भारतबाट पनि भक्तजन आउने गरेकाले यसको छुट्टै महत्त्व र पहिचान रहेको जानकार बताउँछन्।​

घाट निर्माणमा समस्या

गत कात्तिक २ गते परेको अविरल वर्षापछि आएको बाढीका कारण पश्चिमतर्फको बाँध नजिकैबाट पानी बग्न थालेपछि घाट निर्माण गर्न केही समस्या उत्पन्न भएको छ।

मेची पुल प्रवेशद्वार तलको भाग नजिकैबाट पानी बग्न थालेपछि भिडभाड हुने स्थानको क्षेत्र कम भएको मैथिल समाज झापाका अध्यक्ष रमेशचन्द्र झाले बताए। पुलको प्रवेशद्वारमै बढी भिडभाड हुने भएपछि त्यसको व्यवस्थापनका लागि नगरपालिकाको सहयोगमा दुईवटा अस्थायी बाँसे पुल निर्माण भइरहेको उनले बताए। स्थानीय भीमासिंह राजपूतले भने‚ ‘यो पटक एकै ठाउँमा बढी भिडभाड हुने निश्चित छ। भिड नियन्त्रणका लागि सबै लाग्नुपर्ने हुन्छ।’ 

चारपांग्रे गाडी प्रवेशमा रोक

प्रहरीले यो वर्ष कुनै पनि सवारीसाधन मेची नदी किनारसम्म लैजान रोक लगाउने भएको छ। व्रतालु तथा भक्तजनको शान्ति सुरक्षाको दृष्टिकोणलाई लक्षित गर्दै भद्रपुर भन्सार कार्यालय र पशुपति प्रावि अगाडिबाटै ट्याक्टरसहित ट्याम्पो, राँगागाडा, मोटरसाइकल, चारपाङ्ग्रे सवारीसाधनमाथि रोक लगाउने निर्णय गरिएको वडा प्रहरी कार्यालय भद्रपुरका इन्स्पेक्टर दलकुमार राईले बताए।

भक्तजन तथा दर्शनार्थीको उच्च चाप हुने समयमा भद्रपुर बजारभित्र बुधबार दिउँसो २ बजेदेखि रातिसम्म र बिहीबार बिहानको ३ बजेदेखि साढे ७ बजेसम्म कुनै पनि प्रकारका ठूला सवारीसाधन (ट्रक, लहरी, बस, टिपर) प्रवेश निषेध गर्ने निर्णय भएको इन्स्पेक्टर राईले बताए। उनले भने, ‘सवारीसाधनलाई भद्रपुर मावि, पशुपति प्रावि र मेची आँखा अस्पताल भएको खुला ठाउँमा पार्किङको लागि व्यवस्थापन मिलाउनेछौँ।’

सुरक्षा व्यवस्था चुस्त बनाउन दुवै देशका सुरक्षा निकायसँग समन्वय गरी सुरक्षा योजना बनाइएको इन्स्पेक्टर राईले बताए।

आयोजक समिति, भद्रपुर नगरपालिका, सशस्त्र प्रहरी र भारतीय सुरक्षाकर्मीको सहकार्यमा छठ पूजाका दिन नदी किनार २ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिनेछ। नेपाली प्रहरी र ट्राफिक प्रहरी गरी १ सय ५०, सशस्त्र प्रहरी ६० परिचालन हुनेछ।

छठ पूजा स्थलमा हुन सक्ने सम्भावित आपराधिक तथा उच्छृखंल गतिविधि रोक्न विभिन्न स्थानसहित मेची पुलमाथि पनि प्रहरी परिचालन गरिने उनले बताए। लुटपाट, चोरी तथा बारुदजन्य पटाका नियन्त्रण गर्नेका लागि पैदल गस्ती तथा सादा पोसाकमा पनि प्रहरी परिचालन गरिने छ। साथै भक्तजनहरूको सुरक्षालाई मध्यनजर गरी छठमा प्रहरी हेल्प डेस्क समेत राखिन्छ।​

चिया वितरणमा रोक

विगतमा भक्तजनको सेवा सुविधालाई मद्देनजर गर्दै नेत्र ज्योति समाज भद्रपुर, मुना चिया र युनिक समूहले निःशुल्क चिया तथा पानी वितरण गर्दै आएका थिए।

कोभिड महामारीका कारण यो वर्ष चिया तथा पानी वितरण गर्ने कार्यमा रोक लगाउने निर्णय भएको वडा प्रहरी कार्यालय भद्रपुरका इन्स्पेक्टर दलकुमार राईले बताए। ती स्थानबाट यो वर्ष स्यानिटाइजर र मास्क वितरण गर्नुपर्ने निर्णय गरिएको उनले बताए।​

सूर्यको स्थायी मूर्ति राखिने

मेची निर्भर पार्क निर्माणले नदीको किनारको मुहार फेरिएसँगै युनिक समूह भद्रपुरले नदी किनारमा सूर्य भगवान्‌को प्रस्तरको मूर्ति राख्ने अभियान यसै वर्षदेखि थालेको समूहका अध्यक्ष नारद राजवंशीले बताए। ‘हरेक वर्ष छठ पूजामा सूर्य भगवान्‌को मूर्ति खरिद गर्नुपर्ने बाध्यता छ’‚ उनले भने, ‘यसको अन्त्यका लागि स्थायी रूपमा मूर्ति राख्न लागेका हौँ।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.